वैदेशिक रोजगार विभागमा तोकिएका बाहेक अरुलाई प्रवेश निषेध
काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग प्रवेशमा कडाई गरिएको छ । विभागले कर्मचारीलाई समेत प्रवेशका लागि परिचयपत्र अनिवार्य गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विभागको आकस्मिक अनुगमन गरेपछि उक्र निर्देशन दिइएको थियो ।
मन्त्रीको निर्देशनबमोजिम विभागले प्रवेशमा कडाई गरेको जनाएको छ । महानिर्देशक डण्डुराज घिमिरेले म्यानपावर कम्पनीको नवीकरण, दर्ता, दाखिला, खारेजलगायत कार्यमा परिचयपत्र बाहक कर्मचारी, सञ्चालक तथा कानूनी सल्लाहकारको रुपमा नियुक्त कानून व्यवसायीलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेका हुन् ।
अन्य व्यक्तिलाई विभागभित्र प्रवेश निषेध गरिएको छ । ‘यस विभागमा नवीकरण, दर्ता, दाखिला, खारेजलगायतका कार्यहरुमा परिचयपत्रवाहक कर्मचारी, सञ्चालक तथा कानूनी सल्लाहकारको रुपमा नियुक्त कानून व्यवसायीबाहेक अन्य व्यक्तिलाई विभागभित्र प्रवेश निषेध गर्न निर्देशन भएकाले सोहीबमोजिम विभागभित्र प्रवेशको व्यवस्था मिलाइने..,’ विभागद्वरा जारी विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू