बंगलादेशमा विद्युत बिक्रीको तयारी अन्तिम चरणमा
विद्युत खरिद–बिक्री सम्झौताका लागि बंगलादेश पावर डेभलपमेण्ट बोर्ड (बिपिडिबी) र नेपाल विद्युत प्राधिकरणबीच पत्राचार भएको छ । नेपालमा उत्पादित ४० मेगावाट विद्युत खरिद–बिक्री सम्झौताका लागि बिपिडिबीले प्राधिकरणलाई पत्र पठाएको छ ।
वर्षायामको छ महिनामा उत्पादन हुने विद्युत खरिदका लागि बंगलादेशले पेश गरेको बोलपत्र स्वीकृत भएको जानकारी गराइएपछि सम्झौताका लागि हिजो पत्र पठाइएको प्राधिकरणले जनाएको छ । नेपालमा उत्पादन भएको ४० मेगावाट विद्युत बिक्रीका लागि गत पुस १६ गते भारत, बंगलादेश र प्राधिकरणबीच त्रिपक्षीय सम्झौता भएको थियो ।
त्यसपछि प्राधिकरणले पाँच वर्षसम्म विद्युत खरिदका लागि टेण्डर आह्वान गरेको हो । बोर्डबाट सकारात्मक पत्र प्राप्त भएको प्राधिकरणले जानकारी दिएको छ । आगामी सात दिनभित्र बोलपत्र स्वीकार गरिएको लिखित पत्र बिपिडिबीलाई पठाउनुपर्नेछ ।
बिपिडिबीले विद्युत बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउनेछ । मस्यौदा प्राप्त भएको २८ दिनभित्र भारतको एनटिपिसी विद्युत व्यापार निगम, बिपिडिबी र प्राधिकरणबीच सम्झौता भइसक्नुपर्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले बाँकी सम्पूर्ण प्रक्रिया पूरा गरेर यो वर्षको वर्षायामबाट विद्युत बंगलादेश निर्यात गरिने जानकारी दिए ।
उनले भने, ‘त्रिपक्षीय विद्युत बिक्री सम्झौताको मस्यौदामा तीनै निकाय सहमत भइसकेकाले छिट्टै सम्झौता हुनेछ । त्यसपछि बंगलादेश विद्युत निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत प्राधिकरणमा पठाउँछौं, नयाँ आयोजना पठाउँदा स्वीकृतिका लागि समय लाग्ने हुँदा यसअघि नै भारतमा विद्युत निर्यात स्वीकृति पाइसकेका आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्नेगरी प्रस्ताव स्वीकृतिका लागि पठाउनेछौं ।’
प्राधिकरणले भारतीय अनुदानमा निर्माण गरिएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशुली र सहायक कम्पनीमार्फत् निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।
प्राधिकरणले वर्षायामको छ महिना अर्थात हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । विद्युत बिक्रीबापत प्राधिकरणले प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउनेछ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रशारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको रकम प्राधिकरणले मुजफ्फरपुर बिन्दुमा पाउँछ ।
मीटर मुजफ्फरपुरमा जडान गरिने प्राधिकरणको भनाइ छ । त्यहाँसम्म हुने प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रशारण लाइनमार्फत बहरामपुर र बंगलादेशको भेरमारा चार सय केभी प्रशारण लाइन हुँदै विद्युत पुग्नेछ । मुजफ्फरपुर बिन्दुपछिको प्रशारण लाइनको शुल्क, चुहावट, एनभिभिएनले लिने ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क बंगलादेशले व्यहोर्ने प्राधिकरणले जनाएको छ । बंगलादेशको सीमासम्म पुग्दा विद्युतको प्रतियुनिट दर करिब ७.६ सेन्ट पुग्नेछ ।
टिप्पणीहरू