काँग्रेसीहरु मन्त्रीको सूची कोर्दै,मेट्दै
एमालेसँगको सहमतिपछि केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने आगामी सरकारमा नेपाली काँग्रेसको तर्फबाट सहभागी हुने मन्त्रीहरुको सूची तयार पार्न थालिएको छ । नाम लेख्दै मेट्दै गर्ने क्रममा कतिपय नेताको नाम थपिने र हटाउने अवस्था बनेको बताइन्छ ।
आगामी शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ । हालसम्म माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीका ६३ जना सांसदले मात्रै उहाँको प्रस्तावमा मतदान गर्ने निश्चित देखिएको छ ।
त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएकाले काँग्रेस र एमालेले भावी मन्त्रीहरुको सूची बनाउन थालेका छन् । एमालेले आज बस्ने भनिएको सचिवालय बैठकबाट मन्त्रीका लागि निश्चित मापदण्ड तोक्ने बताएको थियो । अध्यक्ष ओलीको दाँत दुःखेपछि बैठक भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ ।
उता नेपाली काँग्रेसको विभिन्न समूहले आफू अनुकूलको सूची बनाउने, केरमेट गर्ने र समूहमा प्रस्तुत गर्ने क्रम अनौपचारिक रुपमा अघि बढेको छ । त्यस्तैमध्ये एउटा समूहले आज दिउँसो बनाएको काँग्रेसका भावी मन्त्रीहरुको सूचीको पहिलो नम्बरमा महामन्त्री गगन थापालाई राखिएको थियो । त्यसैगरी सांसद प्रदिप पौडेल र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पनि सम्भावित मन्त्रीको रुपमा प्रस्तुत गरियो ।
तर, उनीहरु निकट स्रोतले थापा, शर्मा र पौडेल तीनै जना ओली नेतृत्वको क्याबिनेटमा सहभागी नहुने बताएको छ । तर,उपप्रधानसहित सभापति पत्नी एवम् सांसद डा.आरजू राणा मन्त्री बन्ने निश्चित भन्न थालिएको छ । उनलाई काँग्रेसको एउटा समूहले स्वास्थ्य मन्त्रालयको भाग लगाइदिएको छ ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा चन्द्र भण्डारी,ऊर्जा तथा जलस्रोतमा रमेश लेखक, परराष्ट्र ज्ञानेन्द्र कार्की, श्रम तथा रोजगर मन्त्रालयमा उदयसमशेर राणाको नाम छ ।
त्यसैगरी खानेपानी तथा सहरी विकास मन्त्रालयमा किशोरसिंह राठौर, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मा हृदयराम थानीलाई दिनसक्ने अनुमान उनीहरुको छ । तर, गगन,विश्वप्रकाश र प्रदिप सहभागी नहुने भएपछि उनीहरुलाई भनिएको गृह,उद्योग वाणिज्य तथा आपूर्ति र खेलकुद मन्त्रालयका लागि अरुको खोजी गर्न थालिएको बताइन्छ ।
टिप्पणीहरू