रात परेपछि नौबिसे–मलेखु सडकखण्ड बन्द

रात परेपछि नौबिसे–मलेखु सडकखण्ड बन्द

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड १५ दिनका लागि रातको समयमा बन्द गर्न लागिएको छ । भोलिदेखि साउन ९ गतेसम्म रातको समयमा सडक निर्माणको काम गर्न लागिएकाले यातायात बन्द गर्न लागिएको जानकारी दिइएको छ ।

राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्न लागिएको नागढुंगा–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का सिनियर डिभिजन इन्जिनियर ईश्वर बहादुर रिजालले बताए । नौबिसे–नागढुंगा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचाल्न लागिएको र त्यसबेला हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको बताइएको छ ।

गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलहरुको गडर लञ्चिङ गर्न लागिएको हो । दिउँसोको समयमा सवारी साधनको चाप बढी हुने भएकाले रातको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको इञ्जिनियर रिजालले बताए ।

 

‘पुलको आरसीसी बिम (प्रिकास्ट ब्रिज गर्डर) पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुबैतर्फको पिल्लर (एभिडमेन्ट)मा राख्नुपर्नेछ’, रिजालले भने, ‘काम नयाँ पुलमा हुने भएपनि पुरानो पुलसँगै रहेकोले सो क्रममा आइपर्नसक्ने जोखिमलाई मध्यनजर गरी सवारी रोकेर काम गर्न लागिएको हो ।’

हेभी इक्विपमेन्टको प्रयोग भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समयमा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधनलाई पूर्ण रुपमा रोकिनेछ । 

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन पूर्ण रुपमा बन्द रहने छ । अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक मार्गको रुपमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

टिप्पणीहरू