विपद् व्यवस्थापनमा सरकार सधैँ रमिते

विपद् व्यवस्थापनमा सरकार सधैँ रमिते

नेपालमा यो वर्ष मनसुन भित्रिएको एक महिना नपुग्दै विपद्जन्य घटनाबाट ७४ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो, डुबान, चट्याङलगायतका विपदमा मुलुकभर मृत्यु र बेपत्ता हुने क्रम बढ्दो छ । 

नेपालमा गत जेठ २८ गते मनसुन भित्रिएको हो । कोशी प्रदेशको झापादेखि उदयपुरसम्मको भूभागमा मनसुन भित्रिएपनि देशभर फैलिन करिब १५ दिन लाग्यो । अहिले मनसुन सक्रिय भएसँगै विपद्का घटनाबाट ज्यान गुमाउने र भौतिक सम्पत्ति क्षतिको संख्या बढेको छ ।

गत वर्ष मनसुन अवधिभर विपद्जन्य घटनाबाट ६३ जनाको ज्यान गएको थियो । तर, यो वर्ष मनसुन भित्रिएको करिब एक महिनामै गत वर्षभन्दा ११ जना बढीले ज्यान गुमाइरहेका छन् । 

मानवीय क्षति कहाँ कति ? 

नेपाल प्रहरीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परेर अस्तिसम्म ७४ जनाको मृत्यु भएको छ । 

तीमध्ये काठमाडौं उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार जनाको निधन भएको छ । 

त्यस्तै, विपद्का घटनामा ८८ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा तीन, कोशीमा २१, मधेशमा पाँच, बागमतीमा चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना घाइते भएका हुन् । 

प्रहरीले बाढीपहिरोमा कोशीमा ४१ र गण्डकीमा १२ जना गरी ५३ जनाको उद्धार गरेको पनि जनाएको छ । यस्तै, कोशीमा दुई, बागमतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँच जना बेपत्ता भएका छन् । 

बाढीका कारण एक सय ६१ वटा घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा समेत बाढीले क्षति पुर्याएको छ । तीन सय ३५ वटा पशु चौपायाको मृत्यु भएको छ । 

विपद्का उक्त घटनाबाट दुई हजार दुई सय ९६ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । पछिल्लो अविरल वर्षाका कारण देशभर एक हजार २८ वटा विपद्का घटना भएकोमा त्यसबाट १० करोड १८ लाख ८५ हजार सात सय रुपैयाँ बराबरको क्षति पुगेको अनुमान छ । 

पहिरोले परिवारै सखाप

गुल्मीमा अविरल वर्षापछि आएको पहिरोले असार १४ गते एकै घरका पाँच जनाको मृत्यु भयो । मालिका गाउँपालिका–६, अर्जे ठाँटीस्थित ५५ वर्षीय भेषबहादुर विकको घर पहिरोले पुरिँदा विकसहित उनकी श्रीमती ४८ वर्षीया सुन्तली, बुहारी २५ वर्षीया सीता, नातिनीहरु सात वर्षकी सपना र आठ महिनाकी विपनाको ज्यान गएको हो । 

पर्वतको फलेबास नगरपालिका–१, कार्किनेटा बस्ने कुलप्रसाद पाध्याको घर पनि गत शनिबार पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३, पाखरीगोर ढुंगाका ३२ वर्षीय तुलसीप्रसाद शर्माको निधन भयो । 

सोही दिन स्याङ्जाको बिरुवा गाउँपालिका–६, लामाखेतकी ईश्वरी लम्सालको घर पहिरोले पुरिँदा सोही गाउँपालिका–६, स्याङ्दी माझकोट बस्ने ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधव शर्मा र उनकी पत्नी ६७ वर्षीया हरिमाया शर्माको ज्यान गयो । 

गुईश्वरी र माधनको घरमा पहिरोले क्षति पुर्याएपछि उनीहरुलाई उद्दार ईश्वरीको घरमा राखिएको थियो । तर, उक्त घर समेत पहिरोले बगाएको हो । यता, तनहुँको शुक्लागण्डकी नगरपालिका–७, काउरे बस्ने ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको पनि शनिबार नै पहिरोले पुरिएर मृत्यु भएको थियो । 

सरकारको कमजोर तयारी 

प्रत्येक वर्ष मनसुनजन्य विपद्का घटनाबाट सयौंको ज्यान जाने गरेको छ । राज्य र जनता दुवैले करोडौंको धनसम्पत्ति गुमाउनु परिरहेको छ । यो वर्ष सरकारले मनसुनजन्य विपद्बाट देशभर १८ लाख एक हजार जनसंख्या र चार लाख १२ हजार घरधुरी प्रभावित हुने आकलन गरेको थियो । 

मनसुनजन्य विपद्को पूर्वतयारीस्वरुप गृह मन्त्रालयमातहत राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१’ समेत तयार पारेको हो । तर, सम्बन्धित निकायले राहत कार्यमा तत्पर देखाएपनि विपद् रोक्नेतर्फ भने जोड दिएको देखिएन ।

मनसुन प्राकृतिक प्रक्रिया हो । तर, यसले उत्पन्न गर्न सक्ने विपद्को जोखिम न्यूनीकरणतर्फ पूर्वतयारी गर्न नसक्नु सरकार र समुदायको कमीकमजोरी हो । केही दिन मसुलधारे वर्षा हुँदा तराईमा बाढी र पहाडमा पहिरोले वितण्डा मच्चाएको हो। 

अहिले पनि अधिकांश ठाउँ डुबानमा परेका छन् । राष्ट्रिय राजमार्गसहित दर्जनौँ ग्रामीण सडक बाढीपहिरोका कारण अवरुद्ध छन् । पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । सर्वसाधारणले समेत सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । वर्षेनी चाडबाडजसरी बाढीपहिरो आउने र सयौंको ज्यान जान गरेको भन्दै नागरिकले सरकारको विपद् पूर्वतयारी नै ‘निकम्मा’ भएको टिप्पणी गरेको पाइन्छ ।

अर्कोतर्फ, सरकारले बाढीपहिरो आउनुअघि ‘पूर्व सूचना’ दिने गरेपनि आवश्यक सामग्रीको व्यवस्थापनमा भने ध्यान नदिएको पनि कतिपयको गुनासो छ । सूचनाको साथमा फ्लोटिंग ज्याकेट, डुंगा, नाइलन डोरी, किट प्याकलगायत सामान घरघरमा दिने व्यवस्था मिलाउनुपर्ने जनसमुदायको माग छ । 

सरदरभन्दा बढी वर्षा प्रमुख कारण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराई यो वर्ष सरदरभन्दा बढी वर्षा भएकोले बाढीपहिरो बढेको बताउँछन् । उनले भने, ‘यो वर्ष गत वर्षभन्दा धेरै वर्षा भएको छ । त्यसैले, बाढीपहिरोका घटना बढेका हुन् ।’

प्राधिकरणले यसअघि नै यो वर्ष मनसुनजन्य विपद्बाट धेरै मानिस प्रभावित हुने पूर्वानुमान गरेकाले अहिलेको घटना स्वाभाविक रहेको समेत बताए । ‘हामीले यो वर्ष मनसुनजन्य विपद्बाट धेरै मानिस प्रभावित हुने आकलन गरेका थियौं । त्यसैले, यी सबै घटना स्वभाविकै मान्नुपर्छ,’ प्रवक्ता भट्टराईले थपे । 

उनले बाढीपहिरोको जोखिम रहेको स्थानमा पूर्वसूचना दिने, राहत वितरण र उद्दार कार्य भइरहेको पनि बताए । 

कुन जिल्लामा जोखिम बढी ? 

बाढीपहिरोका घटना बढ्नुमा मानव नै पहिलो कारण रहेको विज्ञहरु बताउँछन् । मनसुनमा आइपर्ने प्राकृतिक प्रकोपलाई मध्यनजर नगरी जथाभावी सोच्दै नसोची संरचना बनाउँदा वा भत्काउँदा यस्ता घटना बढेको बताइन्छ । 

अर्कोतर्फ, बिना अध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण तथा खन्ने प्रवृत्तिका कारण पनि पहाडी क्षेत्रमा पहिरोको मात्रा बढेको जानकारहरु बताउँछन् । अहिले बाढीपहिरोको जोखिममा सबैजसो जिल्ला छन् । 

त्यसमध्ये कञ्चनपुर, चितवन, दाङ, लमजुङ, पाल्पा, अर्घाखाँची, डडेलधुरा, सिन्धुली, सप्तरी, सर्लाही, कास्की, गोरर्खा, सुनसरी, संखुवासभा, उदयपुर, लहान, झापा, मोरङ, मकवानपुर, सिरहा, धरान, इटहरी, डोटी, बैतडी, कैलाली, दार्चुला, सिन्धुपाल्चोक, बर्दिया, बाँके, रुकुम, जाजरकोटलगायत जिल्लामा उच्च जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

टिप्पणीहरू