२ करोड डढाउने, ३ लाखमा छुट्ने
काभ्रे जिल्ला न्यायाधीश विश्वनाथ भट्टराईले २०८१ असार ११ गते च्याङवा ताई भन्ने मानबहादुर तामाङलाई तत्काल थुनामा राखी मुद्दा पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था देखिन आएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र दफा ७२ का आधारमा ३ लाख धरौटी लिई तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका छन् । रोशी ४ सानोपोटाभित्र पश्चिमदेखि पूर्वतर्फ प्रेम तामाङ, रामबहादुर तामाङ, सत्यलाल तामाङ, तीर्थलाल तामाङ, प्रेम तामाङको अर्काे घर, धनकाजी तामाङ, च्याङवा ताईको घर, अनिल तामाङ, तीर्थलाल तामाङको अर्काे घर रहेकोमा ती सबै आगलागीबाट क्षति भएका थिए ।
चैत–वैशाखमा जिल्लाका विभिन्न पालिकासहित नेपालका विभिन्न स्थानमा आगलागीका घटना धेरै भए । कतै जनधनको क्षति भयो त कतै धन खेर गयो । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकामा एक युवकले आगो निभाउने क्रममा ज्यान गुमाए । अधिकांश पालिकाका वन तथा पाखा र बस्तीमा समेत आगजनी झेल्नुपर्यो । नियन्त्रणमा लिनै नसक्ने गरी रोशी गाउँपालिका–४ सानोपोटामा फैलिएको आगोका कारण १७ घर पूर्णरूपमा खरानी भए । लापरबाही पूर्णरूपमा आफ्नै बारीमा लगाएको आगोले बारीको पुरानो पतिंगर मात्रै जलेन, सिंगो बस्ती बल्यो । ४३ वर्षीय प्रेम तामाङको ५५ लाख ८० हजारमा २० लाखको घर, गोठ, शौचालय, पुरानो पैसा १५ लाख, १५ लाखको गहनासमेत जलेर नष्ट भएको थियो । ३१ वर्षीय प्रशान्त तामाङको ३९ लाख ५८ हजार नोक्सान भयो ।
आगलागीका कारण बस्तीका सबै घर पूर्ण रूपमा जलेर नष्ट भए । अन्नपात, लत्ताकपडा बर्बाद भए । शौचालय, फर्निचरलगायत सामग्री जले । घरसँग जोडिएका सामीप्यसहित सामग्री एकैछिनमा खरानी हुन पुगे । १५ परिवारको ३ करोड ५४ लाख क्षति भएको सर्जिमिन मुचुल्कामा उल्लेख छ । आगोको मूल श्रोत, आगो लगाउने व्यक्ति र त्यसका कारण पत्ता लगाउँदै पक्राउ परेकालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ । तर, प्रहरीले मुद्दा दर्ता गर्ने क्रममा २ करोड ५० लाख रकम बराबरको सम्पत्ति क्षति भएको दाबी गरेको छ । उनी असार ११ गते रिहा भएका छन् । उनकै घर पनि सोही कारण जलेर खरानी भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानी–जानी आगो लगाउने, अञ्जानमा आगजनी गर्ने व्यक्तिको पहिचान गरेर केही स्थानबाट सम्बन्धित व्यक्तिहरूलाई पक्राउ पनि गरेको हो । केही स्थानमा व्यक्ति स्वयं घाइते भए । तैपनि, प्रहरीले उनीहरूलाई कारवाहीको दायरामा ल्यायो । मण्डनदेउपुर, पनौती कुशादेवी र रोशीमा भएका आगलागीका घटनामा प्रहरीले केही व्यक्तिलाई समाती मुद्दा दायर गरेको थियो । तीमध्ये रोशीको घटनामा धेरै क्षति भएको थियो । सामुदायिक वन तथा निजी क्षेत्रका वनमा लागेको आगोबाट करोडौँको काठपात, वन्यजन्तु, वन क्षेत्रमा पाइने जडीबुटी र धनजनको क्षति भएको डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख केबी थापामगरले बताए ।
जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले प्रहरीले आगलागी गर्नेहरूको पहिचानसहित कारवाही गरेको बताइन् । रोशीको घटनामा पनि च्याङवा ताई भन्ने मानबहादुर तामाङले आफ्नै बारीको डिलमा रहेको अम्रिसोको झाडीमा आगो लगाउने क्रममा सो आगो अत्यधिक हावाहुरीका कारण फैलिएर बस्तीमा पुगेको थियो । नियन्त्रणबाहिर गएका कारण बस्ती सबै जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू