नेपालमा कम्युनिष्टको भविष्य र युवापुस्ताको आकांक्षा

नेपालमा कम्युनिष्टको भविष्य र युवापुस्ताको आकांक्षा
सुन्नुहोस्

स्थापनादेखि नै समानता, न्याय, र समृद्धिको परिकल्पना प्रस्तुत गर्दै आएको नेपाली कम्युनिष्ट आन्दोलन आज फेरि परिवर्तनको मोडमा उभिएको छ । यथास्थितिमा संकुचित हुँदै जाने कि जनचाहनाअनुसार भविष्यमा पनि जननेतृत्वका लागि योग्यता हासिल गर्ने ? रोजाइ हाम्रै हातमा छ ।

वर्तमान राजनीतिक वातावरणमा, नेपाली जनताले तीव्र आर्थिक विकास, भ्रष्टाचारमुक्त समाज, पारदर्शी सरकार र सबैका लागि शिक्षा तथा स्वास्थ्य सेवामा पहुँचको ग्यारेन्टी खोजिरहेका छन् । नयाँ युगमा जनताले वैकल्पिक राजनीति खोजिरहेका छन्, जसको उद्देश्य मात्र सत्ता वा नेता परिवर्तन नभएर समाजको हरेक तहमा सुधार ल्याउनु हो । कम्युनिष्ट पार्टीहरूले आफ्नो संगठनात्मक क्षमतालाई उपयोग गर्दै, ग्रामीण भेगमा समृद्धिको बीजारोपण गर्न सक्छन् । कृषि क्षेत्रको आधुनिकीकरण, शैक्षिक सुधार र स्वास्थ्य सेवाको पहुँच वृद्धिमा लगानी गर्दै समाजका प्रत्येक तहमा सुधार ल्याउन सक्छन् । यो यात्रा सजिलो हुने छैन तर समर्पण, इमानदारी, र प्रतिबद्धताले कम्युनिष्ट पार्टीहरूलाई सफल बनाउनेछ ।

वर्तमान राजनीतिक चुनौतीको एक महत्वपूर्ण पक्ष भनेको पुराना नेताको प्रभुत्व कायम रहनु हो । युवा सदस्य आफ्नो पार्टीलाई युवामय र गतिशील दृष्टिकोणले सुसज्जित भएको देख्न चाहन्छन् । तर, पुराना नेता फेरि फेरि नेतृत्वमै बसिरहने प्रवृत्ति व्याप्त छ । यसै कारण, नेपाली राजनीतिमा निराशा व्याप्त छ, र यो सम्पूर्ण नेपाली युवा पुस्ताका लागि एक प्रकारको समस्या पनि हो ।

धेरै जसो राजनीतिक नेता, जो पार्टी नेतृत्वमा बसिरहन चाहन्छन्, उनीहरूको विश्वास हुन्छ कि उनीहरू मात्र समाजमा परिवर्तन ल्याउन सक्षम छन् । पुराना नेताको यस किसिमको सोचाइले युवा नेतालाई अवसरबाट वञ्चित गराइरहेको हुन्छ र उनीहरूको ऊर्जा तथा सिर्जनात्मकतालाई उपयोग गर्न सकिँदैन । त्यसैले, ‘म मात्र परिवर्तनको ठेकेदार हुँ’ भन्ने सोचाइ पूर्णतः गलत छ । राजनीतिक नेता समाज परिवर्तनका उत्प्रेरक हुन सक्छन्, नकि ठेकेदार ।

नयाँ र पुरानाबीच शक्ति सन्तुलनका लागि र सत्ता लिप्साको पुरानो रोगबाट मुक्त हुन एकैचोटी सकिन्न । यस परिस्थितिमा, शक्ति बाँडफाँटको नयाँ मोडल अपनाउनुपर्ने आवश्यकता छ । सरकार चलाउन पर्याप्त अनुभव भएका, पार्टी अध्यक्षको रूपमा नेतृत्व गरिसकेका, र धेरै वर्षसम्म नेतृत्वमा रहेका व्यक्तिहरूले सरकार सञ्चालन वा विपक्षमा हुँदा सिर्जनात्मक विपक्षी दलको भूमिका कसरी निर्वाह गर्ने भन्ने कुरामा बढी ध्यान दिनुपर्छ ।
शक्ति बाँडफाँटको मोडलमा प्रमुखतः दुई प्रमुख निकाय छन् :

अभिभावक मण्डल वा सल्लाहकार परिषद् : यसमा पुराना र अनुभवी नेता, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरू आदि समावेश हुन्छन् । सदस्यहरूलाई निश्चित कार्यकालका लागि चयन गरिन्छ र उनीहरू पार्टीको दीर्घकालीन हितका लागि क्रियाशील रहन्छन् । परिषद्को

भूमिका रणनीतिक मार्गदर्शन, नीति परामर्श, अनुभवको साझेदारी, संघर्ष समाधान, र सरकार सञ्चालनमा केन्द्रित हुनेछ ।

पार्टी केन्द्रीय समिति : यसमा युवा र अनुभवी सदस्यहरूको मिश्रण, जसमा विभिन्न विभाग प्रमुखहरू, क्षेत्रीय प्रतिनिधिहरू, र अन्य महत्वपूर्ण सदस्यहरू समावेश हुन्छन् । नियमित रूपमा निर्वाचनको माध्यमबाट सदस्यहरू चयन गरिन्छ । केन्द्रीय समितिको भूमिका कार्यक्रम र नीति निर्माण निर्णय गर्ने अधिकार, नेतृत्व विकास, चुनावी रणनीति, र राजनीतिक नियुक्ति सिफारिसमा केन्द्रित हुनेछ ।

समन्वय र सहयोग : सल्लाहकार परिषद् र केन्द्रीय समितिबीच नियमित संयुक्त बैठकहरू आयोजना गरिन्छ, जसले दुवै पक्षलाई एकअर्काको विचार र सुझावलाई समावेश गर्न मद्दत गर्छ । सल्लाहकार परिषद् र केन्द्रीय समितिबीच समन्वय कायम गर्न एउटा छुट्टै समन्वय समिति गठन गरिन्छ, जसले दुवै पक्षबीचका विचारलाई सुमधुर बनाउन सकोस् ।

नियमित समीक्षा तथा सुझाव : सल्लाहकार परिषद् र केन्द्रीय समितिले एकअर्काको कामको नियमित समीक्षा गर्छन्, जसले गर्दा नीति र कार्यक्रमको प्रभावकारिता सुनिश्चित हुन्छ । केन्द्रीय समितिले सल्लाहकार परिषद्लाई नियमित रूपमा प्रगति रिपोर्ट प्रस्तुत गर्छ, जसमा नीति कार्यान्वयनको अवस्था उल्लेख गरिएको हुन्छ ।

शक्ति बाँडफाँटको नयाँ मोडलको फाइदामा अनुभव र युवापनको संयोजन, नेतृत्व विकास, प्रभावकारी नीति निर्माण र राजनीतिक नियुक्तिको सन्तुलन रहेका छन् । यसले युवा नेतालाई सल्लाहकार परिषद्को मार्गदर्शनमा विकसित गर्न सकिन्छ, जसले भविष्यमा स्थिर नेतृत्व सुनिश्चित गर्छ । सल्लाहकार परिषद् र केन्द्रीय समितिको समन्वयले अधिक प्रभावकारी र व्यवहार्य नीतिहरू निर्माण गर्न मद्दत गर्दछ । राजनीतिक नियुक्तिमा सल्लाहकार परिषद्को अन्तिम निर्णयले नियुक्तिको गुणस्तर र अनुभवको सुनिश्चितता गर्छ, जबकि केन्द्रीय समितिको सिफारिसले नवीनता र युवा दृष्टिकोणलाई समावेश गर्छ । तर, यस मोडलमा चुनौती पनि छन् । सल्लाहकार परिषद् र केन्द्रीय समितिबीच अधिकारको संघर्ष हुन सक्ने सम्भावना रहन्छ । यसलाई व्यवस्थापन गर्न स्पष्ट नियम र प्रक्रिया आवश्यकता पर्छ । दुईवटा निकायबीच समन्वयको अभावले नीति कार्यान्वयनमा समस्या उत्पन्न हुन सक्छ । समन्वय समितिको प्रभावकारी कामकाजले यस समस्यालाई कम गर्न सक्छ ।

निश्कर्षमा, कम्युनिष्ट पार्टीहरूले आफ्नो नेतृत्व संरचनामा युवालाई समाहित गर्ने र शक्ति बाँडफाँटको नयाँ मोडललाई अपनाउनु पर्छ । यसले अनुभव र युवापनको संयोजन गर्दै समग्र पार्टी र सरकारको कार्यक्षमता बढाउन मद्दत गर्नेछ । यसले युवा नेतालाई अगाडि बढ्न र पुराना नेतालाई सरकार सञ्चालनमा केन्द्रित गर्न सक्षम बनाउँछ, जसले दीर्घकालीन राजनीतिक स्थिरता र प्रगतिशीलता सुनिश्चित गर्छ । कम्युनिष्ट पार्टीहरूले आफूलाई परिमार्जन गर्दै जनताको विश्वास पुनः जित्नका लागि, बहुदलीय लोकतन्त्रप्रति प्रतिबद्धता देखाउन आवश्यक छ । यसरी मात्र नेपालमा सच्चा सामाजिक न्याय र समृद्धि प्राप्त गर्न सकिन्छ ।

टिप्पणीहरू