जाते जाते झण्डै एउटा ज्यादति

जाते जाते झण्डै एउटा ज्यादति
सुन्नुहोस्

न नियमावली भेटिन्छ, न त कर्मचारी दरबन्दी नै स्वीकृत । सोही निकायमा आफू निकटस्थ कर्मचारीलाई हाकिम बनाएर खटाउन खोज्दा सिंहदरबारका एक पदाधिकारीले घर जान लागेका मन्त्रीको हप्कीदप्की भेटेका छन् । यसरी खप्की भेट्ने मन्त्री माओवादी, सहसचिव पनि माओवादी । संयोगबस् दुबै तामाङ थरका । सोमबार अपराह्न सहसचिव हेमराज तामाङले अन्य कर्मचारीकै अगाडि पर्यटनमन्त्री हितबहादुर तामाङको गाली खाएका हुन् ।

सहसचिव तामाङले एउटा निकायको निम्ति निमित्त कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढाएसँगै उनलाई मन्त्रीले हपारेका हुन् । प्रसंग जोडिन्छ बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्सँग । जुन अहिले निमित्तको भरमा चल्दै आएको छ । निमित्तको पदावधि बढीमा तीन महिनामात्र हुन्छ । हेमराज कप्रको हाकिम भएर आए यता मनीष झा, सरोज खनाल, रामकृष्ण श्रेष्ठलाई निमित्त बनाइसकियो । यस्तै श्रवण साहको तीन महिने म्याद पनि सकिएसँगै नयाँको खोजी शुरु भएको हो ।

जनकपुर क्षेत्र विकास परिषद् नियमावली ०५८ को आधिकारिक अभिलेख कतै भेटिएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि संस्कृति पर्यटन मन्त्रालयले खोजी गर्दा आधिकारिकता नभेटेको भन्दै पत्रै लेखेको छ । कर्मचारीले बार्षिक २ करोड बढी सेवा सुविधा लिइरहेको विषयमा समेत अख्तियारले चासो राख्दै आएको अवस्थामा घर हिँड्न लागेका मन्त्रीलाई मुछ्ने गरी नियुक्ति प्रक्रिया अगाडि बढाउन खोजेका सहसचिवले खप्की भेटेका हुन् । उता, नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा सुनिल पौडेल शैलीमा हाल जनक शिक्षा सामग्री केन्द्रमा कार्यरत अनिलकुमार झालाई नियुक्ति गर्ने गरी गत बिहि, शुक्र र सार्वजनिक बिदाका दिन शनिवारसमेत सिंहदरबारमै बोलाएर अन्तर्वार्ता लिइएको थियो । सञ्चार मन्त्रालय स्रोतका अनुसार, अन्र्तवार्ताका लागि छनोट भएका १६ भाइमध्येबाट तीन जनाको नाम सिफारिस गरेर मन्त्रिपरिषद्मा पठाउन सञ्चार सचिव रामकृष्ण सुवेदीलाई अह्राइएको छ । सुवेदीले सही गर्न नमानेपछि यो प्रक्रिया हाललाई स्थगित भएको छ ।

उता, जाँदाजाँदै प्रचण्ड सरकारले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्अन्तर्गत रहेका जग्गा तथा अन्य सम्पत्ति संरक्षण गरी साविककै अवस्थामा फिर्ता ल्याउन पूर्वसचिव रामप्रसाद थपलियाको संयोजकत्वमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदी, गुठी संस्थानका पूर्वअध्यक्ष पुण्य भुसाल, पूर्वप्रमुख जिल्ला अधिकारी जनकप्रसाद दाहाल र अवकाशप्राप्त सहसचिव हरि बखती सदस्य रहेको समिति गठन गरेको छ । यसअघि त्रिभुवन विश्वविद्यालय र पशुपति विकास कोषको जग्गा खोजबिन गर्न दुई रिटायर्ड सचिवको नेतृत्वमा फरक फरक समिति बनेको छ ।

त्रिविको अतिक्रमित एक हजार रोपनी जग्गा तथा सम्पत्ति खोजबिन गर्न पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति बनेको छ । त्रिताल तिनै सचिव हुन् जसले ललिता निवासको जग्गा खोजेका थिए । उक्त समितिमा ललिता निवास जग्गा खोज्दाका सहकर्मी महेन्द्रकुमार थापा सदस्य छन् । यस्तै जानकीबल्लभ अधिकारी र त्रिविका विज्ञ डा. प्रेमसागर चापागाईं सदस्य छन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुशीला अधिकारीलाई सदस्य–सचिव तोकेर काम शुरु गरिएको छ ।

टिप्पणीहरू