निर्देशन लत्याउँदै हाकिम हुँइकिए काठमाडौं

निर्देशन लत्याउँदै हाकिम  हुँइकिए काठमाडौं
सुन्नुहोस्

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपानेले तालुक मन्त्रालयहरुको निर्देशन विपरित कार्यक्षेत्र छोडेका छन् । 

मनसुनजन्य विपद व्यवस्थापनलाई मध्यनजर गरी यस अवधिभर अनुमति बिना कार्यक्षेत्र नछोड्न गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको निर्देशनको अटेर गर्दै पाँच दिनको लागि काठमाडौं हुँइकिएका हुन् । 

निर्देशनअनुसार मनसुन अवधिभर सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले कार्यक्षेत्र छोड्नै पर्ने अवस्था आएको खण्डमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने हो । तर, न्यौपानेलाई कार्यक्षेत्र छोडेर कहीं कतै जान अनुमति नभएको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । ‘उहाँले कार्यक्षेत्र छोड्नु भएको भन्ने सुन्नमा आएको छ । मलाई जानकारी छैन’, पाण्डेले भने ।

मनसुनको प्रभाव देशैभर फैलिरहेको र विभिन्न ठाउँमा बाढी,पहिरो,चट्याङ जस्ता दैवी प्रकोप सामना गर्नुपरिरहेको अवस्थामा स्थानीय विपद व्यवस्थापन समितिले पूर्वतयारी, प्रतिकार्य र राहत उद्धारमा सानो कमजोरीले अकल्पनीय धनजनको क्षति हुन सक्ने र सरकारप्रति नागरिकको विश्वासमा समेत क्षयीकरण हुन जाने भन्दै असार २५ गते मंगलबार देशभरका प्रमुख प्रशासकीय अधिकृतहरुलाई आदेशसहित पत्र पठाएको थियो । पत्र पठाएकै दिनबाट पाँच दिनको लागि न्यौपाने प्रमुख जिल्ला अधिकारीको अनुमति नलिइकनै कार्यक्षेत्र छोडेर बाहिरिएका हुन् ।

गाउँपालिकाका शिक्षा अधिकृत चम्पा भट्टलाई निमित्त दिएको बुझिएको छ । गाउँपालिकाका अध्यक्षलाई समेत आधिकारिक जानकारी नदिई काठमाडौंतिर हिडेका छन् । वर्षातको बेला आइपर्नसक्ने विपद्का घटना र नागरिकलाई वेवास्था गर्दै असारे मेलोको मैजारो गर्न काठमाडौं हुँइकिएको भन्दै सामाजिक संजालमा सांकेतिक रुपमा विरोध भइरहेको छ ।

टिप्पणीहरू