भारतीय प्रधानमन्त्रीलाई क्रेमलिनमा बास,युक्रेनलाई आघात

भारतीय प्रधानमन्त्रीलाई क्रेमलिनमा बास,युक्रेनलाई आघात
सुन्नुहोस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसी राजधानी मस्कोमा २६ घण्टा बिताएर अष्ट्रिया पुगेका छन् । उनी स्थानीय समयअनुसार सोमबार साँझ मस्को पुगेका थिए । यसवीच उनले रुसी राष्ट्रपति पुटिनको निजी निवास नोभो ओगार्योभोमा अनौपचारिक भेटवार्ता,मस्कोस्थित भारतीय समुदायलाई सम्बोधन,२२औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा भाग लिएको बताइन्छ ।

रुस–युक्रेन युद्ध शुरु भएपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो रुस भ्रमण हो । त्यसैले भ्रमणले विश्वको ध्यान खिचेको थियो । यो भ्रमणप्रति पश्चिमा र चिनियाँ मिडियाले पनि चासो राखेका थिए । द न्यूयोर्क टाइम्स,द गार्जियन,बिबिसी, भ्वाइस अफ अमेरिका,ग्लोबल टाइम्स र द वासिङटन पोस्टले भारतीय प्रधानमन्त्रीको रुस भ्रमणलाई प्रमुख रूपमा समेटेका छन् ।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले लेखेको छ, ‘प्रधानमन्त्री मोदीको मस्को भ्रमणले पुटिनलाई अलग गर्ने प्रयासलाई कमजोर बनाएको छ । योसँगै युक्रेनको आक्रोश पनि बढेको छ ।’

तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीको यो पहिलो द्विपक्षीय भ्रमण हो । सार्वजनिक भएका तस्बिरमा मोदीले पुटिनलाई अँगालो हालेको देखिन्छ । एउटा भिडियो भाइरल भएको छ,जसमा पुटिनले मुस्कुराउँदै मोदीलाई आफ्नो ‘सबैभन्दा प्यारो साथी’ भनेको सुनिन्छ ।

नाटो देशहरूले युक्रेनमाथि मस्कोको कारबाहीको कडा निन्दा गरे पनि भारतीय प्रधानमन्त्री मोदीले आजसम्म पुटिनको स्पष्ट शब्दमा आलोचना गरेका छैनन् । पश्चिमा राष्ट्रहरूले रुसमाथि विभिन्न नाकाबन्दी लगाएर कमजोर पार्न खोजिरहँदा पुटिन भारतीय र चिनियाँ नेताहरूसँग सम्बन्ध सुदृढ गर्न व्यस्त छन् ।

‘भ्वाइस अफ अमेरिका’ले मोदीको भ्रमणपछि पश्चिमा देशहरूले रुसमाथि लगाएको प्रतिबन्धको ‘कुनै अर्थ नभएको सन्देश दिन खोजेको’ बताएको छ । कतिपय विश्लेषकहरूले मोदी र पुटिनबीचको भेटको समयलाई पनि विशेष ध्यान दिएका छन् । ‘यो यस्तो बेला भएको छ, जब वासिङ्गटनमा नेटो शिखर सम्मेलन चलिरहेको छ,’ पत्रिकाले लेखेको छ ।

बेलायती अखबार द गार्डियनका अनुसार युक्रेन संकटका बाबजुद मोदी र पुटिनले आफ्नो मित्रतालाई अझ मजबुत बनाएका छन् । भेटघाटमा मोदीले पुटिनलाई शान्तिको बाटो युद्धको मैदानबाट नआउने सल्लाह दिए पनि मोदीको भनाइले पुटिनको महत्वाकांक्षामा कुनै प्रभाव नपार्ने पत्रिकाको ठहर छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले रुससँग भारतको गहिरो सम्बन्धलाई लिएर पश्चिमा मुलुक बढी चिन्तित देखिएको जनाएको छ । सिचुआन इन्टरनेशनल स्टडिज युनिभर्सिटीका प्रोफेसर लङ जिङचुनले अखबारमा लेखेका छन्, ‘चीनले रुस–भारत घनिष्ठ सम्बन्धलाई खतराको रुपमा देख्दैन । तर पश्चिमाहरूचाहिँ असन्तुष्ट छन् ।’

पश्चिमहरूले भारतलाई ‘पश्चिमी क्याम्प’मा तान्न र चीनको प्रभावलाई सन्तुलनमा राख्न अनेकौँ प्रयास गरेको पाइन्छ ।  ‘द वासिङटन पोस्ट’ले प्रधानमन्त्री मोदीको मस्को भ्रमणलाई लिएर अमेरिकी दबाबका बाबजुद पनि भारतले रुससँग आफ्नो बलियो सम्बन्ध कायम राखेको जनाएको छ ।

पुनः सत्तामा आएको एक महिना नबित्दै गरेको यो भ्रमणसहित भारतीय प्रधानमन्त्री मोदीले तीन पटक रुस भ्रमण गरिसकेका छन् । तर पछिल्लो भ्रमणप्रति भने पश्चिमा मिडियाले ज्यादै चासो राखेका छन् ।

टिप्पणीहरू