पासपोर्ट बुझ्न सिडियो कार्यालयको सूचना
जिल्ला प्रशासन कार्यालय, चितवनले आवेदन बुझाएको एक महिना कटेका सेवाग्राहीलाई पासपोर्ट (राहदानी) लिन बोलाएको छ ।
आवेदन दर्ता भएको २० दिनमा पासपोर्ट तयार हुने जनाउँदै सिडिओ कार्यालयले एक महिनाभन्दा बढी अवधि भएका सेवाग्राहीको हकमा आज सार्वजनिक सूचना निकालेर यस्तो आग्रह गरेको हो । सम्बन्धित व्यक्तिले समयमै आफ्नो राहदानी नलिँदा व्यवस्थापनमा कठिनाई भएको सूचनामा जनाइएको छ ।
‘यस कार्यालयमा राहदानीका लागि आवेदन दर्ता भएको मितिले साधारणतया २० दिनभित्र राहदानी तयार भई आउने गरेको छ । यसरी प्राप्त भएका राहदानी बुझी नलगेको कारण राहदानी व्यवस्थापनमा कठिनाई भएको हुँदा राहदानी बुझ्नको लागि सन्देश प्राप्त भएको तथा आवेदन दिएको एक महिनाभन्दा धेरै अवधि भएका सेवाग्राहीहरुलाई आफ्नो राहदानी बुझिलिनु हुनका लागि अनुरोध छ’, सूचनामा भनिएको छ ।
राहदानी नियमावली, २०७७ को नियम ६ को उपनियम (३) मा राहदानी विभागबाट राहदानी जारी भएको मितिले एक वर्षसम्म नलिएमा राहदानी रद्द हुने व्यवस्था छ । सिडिओ कार्यालयले यथाशीघ्र राहदानी बुझ्न अनुरोध गर्दै अन्यथा विभागमा फिर्ता गरी रद्द गरिने स्पष्ट पारेको छ ।
टिप्पणीहरू