कोरिया रिटर्नीका लागि विशेष भाषा परीक्षा

कोरिया रिटर्नीका लागि विशेष भाषा परीक्षा
सुन्नुहोस्

दक्षिण कोरियामा काम गरेर फर्किएकाहरुलाई लक्षित गरी विशेष भाषा परीक्षा सञ्चालन गरिने भएको छ । त्यहाँ काम गरी फर्केकाहरुलाई पुनः पठाउन इपिएस कोरिया शाखाले छिट्टै परीक्षा सञ्चालन गर्न लागेको हो । 

दुई देशका सरकारबीच भएको समझदारी पत्रअनुरुप रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा काम गरेर फर्किएकाहरुका लागि परीक्षा सञ्चालन हुन लागेको शाखाले जनाएको छ । परीक्षामा सामेल हुन इच्छुकसँग शाखाले आवेदन आह्वानसमेत गरेको छ । 

आगामी साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । भदौ २८ गते परीक्षा तालिका घोषणा गरिने छ भने असोज ८ गतेदेखि ११ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । 

परीक्षाको नतिजा असोज २१ गते प्रकाशन गरिने शाखाले जानकारी दिएको छ । परीक्षामा सामेल हुन चाहने व्यक्तिको न्यूनतम योग्यता ईपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेको र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिकरुपले नेपाल फर्केको हुनुपर्नेछ । 

ईपीएस कोरिया शाखाले एचआरडी कोरियाबाट विशेष ईपीएस परीक्षामा सहभागी हुनसक्ने भनी प्राप्त भएका नामावलीमा नाम भएकाले मात्र आवेदन फाराम भर्न पाउने समेत प्रष्ट पारेको छ ।

टिप्पणीहरू