भारतीय खुफिया एजेन्सीका प्रतिनिधिहरु अष्ट्रेलियामा पक्राउ,बल्ल खुलासा

भारतीय खुफिया एजेन्सीका प्रतिनिधिहरु अष्ट्रेलियामा पक्राउ,बल्ल खुलासा
सुन्नुहोस्

सन् २०२० मा अष्ट्रेलियामा केही भारतीय पक्राउ परे ।   तर ती सामान्य नागरिक थिएनन् । उनीहरूलाई अष्ट्रेलियाली सरकारका मह्त्वपूर्ण सूचना चोरी गरेको आरोपमा पक्राउ गरिएको थियो । अर्थात् उनीहरु भारतीय गुप्तचर संस्था ‘रअ’ का एजेन्ट थिए ।

भारतले जासुसीकै लागि विभिन्न भेषमा अष्ट्रेलियामा परिचालन गरेको थियो । पक्राउपछि अष्ट्रेलियाले उनीहरूलाई ‘डिपोर्ट’ गर्यो ।

अष्ट्रेलियाको आरोप थियो : विमानस्थल सुरक्षा, अष्ट्रेलियाको व्यापार सम्बन्ध र राष्ट्रिय सुरक्षाका अन्य संवेदनशील गोप्य सूचनाहरू चोरीको । सूचनाहरू चोरी गर्न खोज्दा उनीहरू समातिएको अष्ट्रेलियाली सुरक्षा अधिकारीको आरोप थियो । तर,ती कुरा त्यतिबेला सार्वजनिक गरिएनन् ।

एबीसी न्यूजकाअनुसार भारतले फैलाइरहेको ‘जासुसी जालो’ लाई त्यहाँको राष्ट्रिय गुप्तचर संस्था अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेशन (एएसआईओ) ले ध्वस्त बनाएको हो । त्यसअघि भारतीय जासुसहरू अष्ट्रेलियामा निकै सक्रिय थिए । उनीहरूले आफ्नो सञ्जाल विस्तार गरिसकेका थिए ।

उनीहरु अष्ट्रेलियाका राजनीतिज्ञहरूसँग समेत घनिष्ठ सम्बन्ध बनाउन सफल भएका थिए । तत्कालीन र पूर्व राजनीतिज्ञहरुसँग बलियो सम्बन्ध बनाएपछि सूचना लिन्थे ।

केही संकेत पाएपछि एएसआईओका अधिकारीले उनीहरूमाथि निगरानी बढाइरहेका थिए । गतिविधि शंकास्पद लागेपछि नजिकबाट निगरानी गरियो । त्यसपछि उनीहरूलाई पक्राउ गरेर देश निकाला गरियो ।

एएसआईओका महानिर्देशक माइक बर्गेसले सन् २०२१ मा प्रकाशित आफ्नो वार्षिक सुरक्षा प्रतिवेदनमा देशमा विदेशी जासुसहरूका गतिविधिबारे संकेत गरेका थिए । तर, उनले त्यतिबेला कुन देशको संग्लनता भन्नेबारे खुलाइएन ।

बर्गेसले सन् २०२१ मार्चमा क्यानबेरास्थित एएसआईओको मुख्यालयमा सम्बोधन गर्दै भने, ‘विदेशी जासुसहरूले वर्तमान र पूर्व राजनीतिज्ञहरू, विदेशी दूतावास र राज्य प्रहरी सेवासँग लक्षित गरेर सम्बन्ध विकास गरेका छन् ।’

‘उनीहरू (एजेण्ट)ले आफ्नो देशका विदेशमा बस्नेहरूको निगरानी गरेका थिए । अष्ट्रेलियाको व्यापार सम्बन्धका बारेमा पनि अति गोप्य जानकारी प्राप्त गर्ने प्रयास गरेका थिए’, त्यतिबेलै उनले भनेका थिए, ‘सार्वजनिक सेवामा कार्यरत सरकारी कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रोटोकलका बारेमा जानकारी दिन जासुसहरुले आग्रह समेत गरेका थिए ।’

    विदेशी जासुसहरूले अष्ट्रेलियामा कसरी सफलतापूर्वक सञ्जाल विस्तार गरे, राष्ट्रिय सुरक्षाका संवेदनशील विवरणहरूमा कसरी पहुँच पु¥याए भनेर पनि उनले विस्तृतमा जानकारी दिए । विदेशी जासुसहरूले अष्ट्रेलियाका अधिकारीहरूलाई कसरी प्रयोग गरिरहेका थिए भन्ने विषयमा उनले आन्तरिक जानकारी गराएका थिए ।

राष्ट्रिय सुरक्षा र सरकारी आँकडाहरूले त्यतिबेला जासुसी गर्न भारतको गुप्तचर संस्था ‘रअ’ जिम्मेवार थियो भन्ने पुष्टी गरेको एबीसीले जनाएको छ । वासिङ्टन पोष्टले प्रकाशित गरेको रिपोर्ट अनुसार एएसआईओ काउन्टर इन्टेलिजेन्स अपरेसनपछि भारतीय गुप्तचर संस्था रअका दुई जनालाई सन् २०२० मा अस्ट्रेलियाबाट ‘डिपोर्ट’ गरियो ।

गत सेप्टेम्बरमा क्यानडामा हरदीप सिंह निज्जरको हत्या आरोपमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्व सरकारको कारबाहीलाई लिएर पश्चिमा सहयोगीहरू चिन्तित भइरहेका बेला अष्ट्रेलियामा नयाँ दिल्लीको ‘गोप्य अपरेसन’ का विवरणहरू सार्वजानिक गरिएको थियो ।

नोभेम्बरमा अमेरिका भ्रमणका क्रममा एबीसीसँगको अन्तरवार्तामा महानिर्देशक बर्गेसले भारतले विदेशी भूमिमा चलाइरहेको जासुसी अपरेसनले अष्ट्रेलियाको सुरक्षामा हुने खतराको विषयबारे जवाफ दिएनन् । ‘म कुनै सरकारको टिप्पणी गर्दिनँ । तर विदेशी निकायबाट हस्तक्षेप, षड्यन्त्र वा खतरा देख्यौँ भने यसलाई सामना गर्न हामी सक्षम छौँ ।’

उनले अष्ट्रेलियाबाट भारतीयहरू निष्कासनमा परे÷नपरेको विषयमा सोधपुक्ष गर्दा पनि जवाफ दिन अस्वीकार गरेका थिए । ‘हामी कुनै पनि अपरेसनका मामिलामा टिप्पणी गर्दैनौँ। तर समय–समयमा अघोषित गुप्तचर अधिकारीहरूलाई पत्ता लगाउँदै आएका छौँ,’ उनले भने, ‘हाम्रो आफ्नै प्रक्रियामार्फत या सरकारसँग सहयोग मागेर उनीहरुलाई निकाला गरिन्छ वा उनीहरू आफै अष्ट्रेलिया छोड्न सक्छन् ।’

भारत अमेरिका, जापान र अष्ट्रेलियासँग चतुर्भुज सुरक्षा संरचनाको सदस्य हो । र, इण्डो–प्यासिफिकमा महत्वपूर्ण रक्षा साझेदार पनि । सन् २०२२ मा आफ्नो अर्को वार्षिक सुरक्षा खतरा मूल्याङ्कन गर्दै बर्गेसले कसरी मित्रवत मानिने राष्ट्रहरूले अष्ट्रेलियाविरुद्ध जासुसी गर्न खोजिरहेका छन् भनेर पनि व्याख्या गरेका थिए।

‘धेरै देशहरूले अष्ट्रेलियाविरुद्ध जासुसी गर्न खोजिरहेका छन् । ती देशहरू मात्र होइन जसलाई हाम्रो परम्परागत विरोधी मान्न सकिन्छ’, उनले भनेका थिए, ‘हामीले मित्र ठानेका देशहरूद्वारा जासुसी सञ्चालन गरिएको छ ।’

सरकारी स्रोतले एबीसीलाई दिएको जानकारी अनुसार अष्ट्रेलियामा भारतसहित सिंगापुर, दक्षिण कोरिया, इजरायलका गुप्तचर निकायका एजेन्टहरु पनि जासुसी गर्न सक्रिय छन् । सन् २०२४ को वार्षिक खतरा मूल्याङ्कनको क्रममा एएसआईओ मुख्यालयभित्र सिंगापुर, दक्षिण कोरिया, इजरायल र भारतका वरिष्ठ कूटनीतिज्ञ र राजदूतहरूलाई अतिथिका रुपमा बोलाइएको थियो । जहाँ, बर्गेसले सम्बोधन गरेका थिए ।

एबीसीले भारतीय उच्च आयोग र एएसआईओसँग सम्पर्क गरेको थियो । तर, दुवैले ‘जासुसीे अपरेसन’को बारेमा जवाफ दिन अस्वीकार गरेको बताइन्छ । 

स्रोत : एबीसी न्यूज ।
 

टिप्पणीहरू