बाढीपीडितलाई सहयोग गर्न दोधारा चाँदनीको आह्वान

बाढीपीडितलाई सहयोग गर्न दोधारा चाँदनीको आह्वान

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले बाढीपीडितका लागि सहयोग गर्न सबैमा आग्रह गरेको छ । नगरको अधिकतम भूभागमा बाढी पसेपछि बालीनाली, खाद्यान्न, घरगोठ तथा पशु चौपायाको क्षति र कयौं घरपरिवार विस्थापित भएपछि सहयोगका लागि आह्वान गरिएको हो । 

नगरपालिकाले विपद्मा आर्थिक, प्राविधिक तथा खाद्यान्न सहयोगका लागि ईच्छुक व्यक्ति, संघसंस्था तथा निकायहरुलाई अनुरोध गरेको छ । आज जारी विज्ञप्तिमा भनिएको छ, ‘अविरल वर्षाका कारण यस नगरपालिकाको अधिकतम भूभागमा बाढी पस्न गई बालीनाली, खाद्यान्न, घरगोठ तथा पशु चौपायाहरुको क्षति भएको तथा कतिपय व्यक्तिहरु विस्थापित हुन गएकोले यस विपद्को घडीमा आर्थिक, प्राविधिक तथा खाद्यान्न सहयोगका लागि इच्छुक संघसंस्था, व्यक्ति, निकायहरुलाई आह्वान गरिन्छ ।’

इच्छुकले नगरपालिकामा सम्पर्क गर्न सक्नेछन् । कञ्चनपुरमा यो वर्ष पछिल्लो ७८ वर्षयताकै मुसलधारे वर्षा भएको छ । आइतबार र सोमबार दोधारा, हनुमान नगर र सुन्दरपुरमा २००३ सालयताकै सर्वाधिक वर्षा मापन गरिएको छ ।

असार २४ गते बिहान सवा ८ बजेदेखि २४ घण्टाको अवधिमा दोधारामा ६२४ मिलिमिटर, हनुमान नगरमा ५७३.६ मिलिमिटर र सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

टिप्पणीहरू