धादिङका विनोदको हत्यामा संलग्न आमा छोरालाई जन्मकैद

धादिङका विनोदको हत्यामा संलग्न आमा छोरालाई जन्मकैद
सुन्नुहोस्

-शंकर श्रेष्ठ

धादिङको गाउँपालिका–८ का २७ वर्षीय विनोद थापामगरको हत्यामा संलग्न कसुरदारलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।  

जिल्ला न्यायाधीश गीता श्रेष्ठको ईजलासले मंगलबार हत्यामा मुख्य कसुरदार २८ वर्षीय निरज पण्डितलाई जन्मकैद र ४८ वर्षीया सरस्वती पनेरुलाई ७ वर्ष कैद गर्ने फैसला सुनाएको हो । सरस्वती र निरज आमाछोरा हुन् । हत्याको फैसलासंगै सरस्वतीलाई मानव बेचबिखनमा १० वर्ष कारागार सजायको फैसला पनि गरिएको धादिङ जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

होटलमा खाजा खाएको बिल तिरेर बाँकी पैसा फिर्ता लिने क्रममा भनाभन भएपछि सरस्वतीले निरजलाई बोलाएर धारिलो हतियार प्रयोग गरी विनोदको हत्या गरेका थिए । २०८० बैशाख २७ गते साँझ गल्छी गाउँपालिका–८ गल्छीबजार नजिकै निबुवाबोटे भन्ने ठाउँमा रहेको सानदार होटलमा खाजा खान गएका विनोदमाथी सोही होटलका संचालक सरस्वतीकी छोरा निरजले छुरा रोपेका थिए ।  

धादिङ जिल्ला अदालतको २०८० जेठ २४ गतेको थुनछेक आदेशले सरस्वती, छोरा निरज र निरजका साथी पाल्पा जिल्ला तानसेन नगरपालिका–१४ का किरण राना समेत तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएकोमा उच्च अदालतको आदेशबाट किरण धरौटीमा थुनामुक्त भएका थिए । सरस्वती र निरज भने पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा थिए ।

सरस्वतीलाई मानव बेचबिखनमा पनि १० वर्ष कैद

सरस्वतीमाथी मृतक थापामगरको हत्या र होटलमा युवतीहरूलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृद्धी गराई मानव बेचबिखन गरेको कसुर समेत लागेको थियो । १८ र १९ वर्षका दुईजना युवतीलाई मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा छुट्टाछुट्टै दुई मुद्दामा १०÷१० वर्ष कैद गर्ने फैसला सुनाएको छ । शानदार होटल एण्ड लजका सञ्चालक समेत रहनुभएकी सरस्वतीसँग दुवै मुद्दामा एक÷एक लाख गरी दुई लाख रुपैयाँ जरिवाना असुल गर्न र पीडितहरुलाई ५०÷५० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार भण्डारीले जानकारी दिए ।

होटल सञ्चालन गरेर मानव बेचबिखन तथा ओसारपसार गर्ने गरेको  र आफूहरु पीडित भएको भन्दै सोही होटलमा काम गर्ने दुईजना युवतीले २०८० वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

हत्याको बिषयलाई लिएर आक्रोशित स्थानीयले सरस्वतीको होटलमा तोडफोड र आगजनीको प्रयास गर्दै निजी सवारीमा आगजनी गरेर गल्छी त्रिशुली सडक बन्द गरी आन्दोलन समेत गरेका थिए ।

यसरी सुरु भएको थियो भनाभन

होटल सानदारमा खाजाखान आएका थापामगरसंग अन्य २ जना पनि थिए । उनीहरुले खाजा खाएपछि होटल संचालक सरस्वती पण्डितलाई पैसा दिए । एक हजार एक सय रुपैयाँ पैसा तिर्नुपर्नेमा एक हजार पाँच सय दिए । फिर्ता लिन बाँकी चार सय रुपैंया माग्दा सरस्वतीले विनोदलाई पुरानो पैसा बाँकी थियो कटाएँ भन्दै फिर्ता दिन नमानेपछि भनाभन सुरु भयो । त्यसैक्रममा सरस्वतीले छोरा निरजलाई बोलाए । बाहिर कतैबाट होटल आइपुगेका निरजले छुरा प्रहार गर्दै बाहिर निकाले । घाइते भएर लडेका विनोदमाथि मोटरसाइकलले समेत किचेर घाइते बनाए । घाइते विनोदलाई उपचारका लागि नर्भिक अस्पताल पुर्याइयो । उपचारको क्रममा मृत्यु भयो । शव त्रिभुवन शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

टिप्पणीहरू