भिआइपीहरु १ बजेसम्म किन सिंहदरवार छिर्न सकेनन् ?

भिआइपीहरु १ बजेसम्म किन सिंहदरवार छिर्न सकेनन् ?

नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० मा आज बिहान एउटा फोन आयो । फोन गर्ने व्यक्तिले आफूले सिंहदरबारमा ‘बम राखेको’ बताए । सो फोनपछि प्रहरी संशकित बन्यो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’ मा बिहानैदेखि खैलाबैला मच्चियो । सिंहदरबार वरपर सुरक्षा व्यवस्था बढाइयो । 

सिंहदरबारको सुरक्षार्थ खटिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिनेश घिमिरेको कमाण्डमा प्रहरी टोली बम खोज्नतर्फ लाग्यो । उनी सिंहदरबार र संसद् भवनको चक्कर लगाउन थाले । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फोन गर्ने व्यक्ति खोज्नका लागि ठूलो संख्यामा प्रहरी टोली परिचालन गर्यो । तर, पछि मात्र प्रहरीलाई दुःख दिन केही व्यक्तिले ‘प्रयाङ्क’ गरेको खुलेको हो । प्रहरीले तीमध्ये एक जनालाई नियन्त्रणमा लिइसकेको छ । 

यस्तो छ घटनाको नालीबेली 

दाङको बबई गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई काठमाडौं बस्दै आएका प्रेम बस्नेतसहित उनका साथीहरुले आज बिहान मदिरा पार्टी गर्ने योजना बनाए । पानी परेको र मौसम पनि चिसो–चिसो भएकाले उनीहरु मदिरा पार्टी गर्नतर्फ लागे । मदिराको मात चढेपछि प्रहरीलाई फोन गरेर दुःख दिने सोच बनाए । 

त्यसपछि शुरु भयो, ‘सिंहदरबारमा बम प्रकरण’ । बस्नेतले प्रहरीलाई फोन गरेर ‘सिंहदरबारमा बम राखेको छु’ भन्ने सूचना दिए । फोन आउनेबित्तिकै प्रहरीको खोजतलास शुरु भयो । सिंहदरबारको टोली बम खोज्नतर्फ लाग्यो भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली मान्छे खोज्न ।

‘सरकार फेरबदलको प्रक्रिया अगाडि बढिसकेको छ । यस्तोमा जे पनि हुन सक्छ । त्यसैले यस्ता सूचनालाई सामान्य रुपमा लिनुहुँदैन’, 

प्रहरीले सोह्रखुट्टेबाट दिँउसो बस्नेतलाई पक्राउ गर्यो । त्यसपछि कार्यालय ल्यायो । तबसम्म पनि उनी मदिराकै तालमा थिए । कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ । 

‘हामीले उनलाई सोह्रखुट्टेबाट नियन्त्रणमा लिएका हौं । आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएका छौं । उनले मदिरा सेवन गरेको पाइएको छ’,आचार्यले भने । 

‘बम’ को सूचनापछि भिआइपीहरु त्रसित 

उक्त फोनले प्रहरीलाई मात्र नभई भिआइपीहरुलाई पनि तरंगित बनायो । भिआइपीहरु सिंहदरबारमा बम भएको सूचनापछि त्रसित बने । दिउँसो १ बजेसम्म कुनै भिआइपी सिंहदरबार प्रवेश गरेनन् । सबै बैठक स्थगित गरियो । वास्तवमै बम छ कि भनेर सबैको सातो गयो  । बमको हल्ला फिजाउने व्यक्ति पक्राउ परेपछि मात्र भिआइपीहरु सिंहदरबार गएका हुन् । 

२०४२ सालको घटना दोहोरिने भय 

२०४२ असार ६ गते काठमाडौं र मुलुकको विभिन्न स्थानमा बम विस्फोट भएको थियो । पञ्चायती व्यवस्थाको जगजगी चलिरहेको बेला गणतन्त्रको सपना देख्नेहरुले तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई लक्षित गरी बम विस्फोट गराएका थिए । राजाको राजदरबारको पश्चिम ढोका र दक्षिण ढोकामा शक्तिशाली बम विस्फोट भएको थियो । 

स्रोतका अनुसार सिंहदरबारमा ‘बम राखेको’ सूचनापछि भिआइपीहरु धेरै नै तर्सिएका थिए । विगतकै घटना दोहोरिने होकि भन्ने भय उनीहरुमा परेको स्रोतको भनाइ छ । मुलुकमा नयाँ सरकार बन्ने प्रक्रिया चलिरहेको छ । नेकपा एमाले र नेपाली काँग्रेसको सत्ता सहकार्यसँगै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार संकटमा परेको छ । 

प्रचण्डले असार २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ। सरकार फेरबदल हुँदै गर्दा यस्तो सूचनालाई हलुका रुपमा लिन नसकिने जानकारहरु बताउँछन् । ‘सरकार फेरबदलको प्रक्रिया अगाडि बढिसकेको छ । यस्तोमा जे पनि हुन सक्छ । त्यसैले यस्ता सूचनालाई सामान्य रुपमा लिनुहुँदैन’, सिंहदरबारका एक अधिकृतले बताए । 

के हुन्छ कारबाही ? 

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार उनलाई परिसर ल्याइएको छ । बस्नेतलाई भोलि अदालतमा उपस्थित गराइने उनले जानकारी दिए । 

बस्नेतले झुठ्ठो अफवाह फैलाएर सार्वजनिक शान्ति भंग गरेकोले उनीमाथि ‘झुठ्ठा अफवाह फैलाउन नहुने’ कसूरमा मुध्दा चलाइने अधिकारीको भनाइ छ  । मुलुकी अपराध संहिता २०७४ को दफा ७० मा ‘झुठ्ठा अफवाह फैलाउन नहुने’ उल्लेख छ । 

सो दफाको उपदफा १ मा भनिएको छ,‘कसैले सार्वजनिक शान्ति भंग गर्ने, हुलदंगा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जातजाति वा सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउनेगरी नभए–नगरेको अफवाह फैलाउन, प्रचारप्रसार गर्न वा नाराजुलुस गर्नहुँदैन ।’

त्यसो गर्ने–गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । त्यस्तै, दुवै सजाय पनि हुनसक्ने ऐनमा स्पष्ट उल्लेख छ ।

टिप्पणीहरू