एकातिर एक अर्ब डलरको व्यापार, अर्कोतफ अचम्मको आर्थिक नाकाबन्दी
युक्रेन युद्धपछि अमेरिकालगायत पश्चिमा मुलुकले रुसमाथि आर्थिक नाकाबन्दी लगाएका छन् । आर्थिक नाकाबन्दीपछि त्यस्तो मुलुकसँग अन्य मुुलुकले आर्थिक कारोबार गर्न सक्दैनन् । त्यसमा पनि अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायत मुलुकले लगाएको नाकाबन्दीपछि रुसको आर्थिक कारोबार, अन्तर्राष्ट्रिय व्यापार चौपट हुनुपर्ने त्यस्तो नभएको मस्कोमा रहेका नेपालीहरु पनि बताउँछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसको दुई दिने भ्रमणपछि स्वदेश फर्केका छन् । आर्थिक नाकाबन्दी लगाइएको मस्कोमा रुसी राष्ट्रपतिसँग महत्वपूर्ण आर्थिक समझदारी र सम्झौता गरेर भारतीय प्रधानमन्त्री अष्ट्रिया हुँदै भारत आइपुगेका हुन् ।
मस्कोमा दुई नेताबीच भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा दुई मुलुकको व्यापारलाई आगामी सात वर्षभित्र १ अर्ब अमेरिकी डलरमा पुर्याउने लक्ष्य राखिएको छ । गत वर्ष ३० करोड अमेरिकी डलरको लक्ष्य राखिएकोमा यो वर्ष दोब्बर हुने देखिएको छ ।
उनीहरुले सञ्चार प्रविधि, दूरसञ्चार, भूउपग्रह सञ्चार, सार्वजनिक सेवा र प्रशासनको डिजिटलाइजेसन, शहरी वातावरण, मोबाइल सञ्चार र सूचना सुरक्षाको क्षेत्रमा द्विपक्षीय आदानप्रदान गर्ने उल्लेख गरेका छन् ।
दुई मुलकबीचको व्यापारमा रुसी मुद्रा रुबल र भारतीय रुपियामा भुक्तानी गर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको छ । दुवै मुलुकका व्यापारी तथा व्यवसायीले एक अर्काको मुलुकमा थप लगानी गर्ने वातावरण बन्दै गएको बताइएको छ ।
सामान्य अर्थमा आर्थिक नाकाबन्दी लगाइएको भनिएको मुलुकमा भारतले कसरी लगानी गर्ने र व्यापार गर्न सक्छ ? अर्कोतर्फ रुसले पनि भारतमा लगानी र व्यापार गर्न सक्ने सम्भावना हुँदैन । तर, रुसी पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास बिक्रीमा लगाइएको प्रतिबन्ध पहिलेदेखि नै भुत्ते भएको छ । युरोप र पूर्वी युरोपका अधिकांश मुलुकले अमेरिकाको नाकाबन्दीमा समर्थन गरेपनि रुससँग ग्यास र पेट्रोलियम पदार्थ खरिद गरेकै छन् ।
भारतको एउटा निजी कम्पनीले पनि रुसी पेट्रोलियम पदार्थ खरिद गरेर प्रशोधनपछि मध्यपूर्वका कतिपय देश र भारतमा बिक्री गर्दै आएको छ । रुसी तेल र ग्यास तुलनात्मक रुपमा सस्तो देखिन्छ ।
टिप्पणीहरू