कांग्रेसले माग्यो मुख्यमन्त्रीको राजीनामा

कांग्रेसले माग्यो मुख्यमन्त्रीको राजीनामा

नेपाली काँग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा मागेको छ । 

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ्ग) ले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरेका हुन् । आज विज्ञप्ति जारी गर्दै उनले अल्पमतमा परेको सरकारले पछिल्लो राजनीतिक घटनाक्रमलाई सहज रुपमा अगाडि बढाउन सहयोग गर्नुपर्नेमा जोड दिए । 

‘मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकुल संशोधन गर्न सघं र सातवटै प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने संकल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली काँग्रेस र नेकपा एमालेबीच जनअपेक्षित नयाँ समीकरण निर्माण भएको छ’,विज्ञप्तिमा भनिएको छ,‘माननीय मुख्यमन्त्रीले राजनीतिकलाई सहज रुपमा अगाडि बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्गप्रशस्त गरिदिनुहुन हार्दिक आग्रह गर्दछु ।’

त्यस्तै, उनले दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न मुख्यमन्त्री जम्कट्टेलको ध्यानाकर्षण गराएका छन् । 

काँग्रेस र एमालेबीच सत्ता सहकार्यसँगै एमालेका मन्त्रीहरुले संघ र प्रदेश सरकारबाट राजीनामा दिएका छन् । त्योसँगै संघ र माओवादी नेतृत्वमा रहेको बागमती र लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । 

मुख्यमन्त्री जम्कट्टेलले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तै सदनको सामना गर्ने निर्णय गरेका छन् ।

 

टिप्पणीहरू