नगरसभामा घम्साघम्सी, बजेट पारितपछि नाराबाजी

नगरसभामा घम्साघम्सी, बजेट पारितपछि नाराबाजी

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले हिजो २०८१÷०८२ को नीति, कार्यक्रम र बजेट बारे भावुक हुँदै ब्रिफिङ गरिरहेका थिए । हल शान्त थियो ।

यद्यपि हलभित्र काँग्रेस र एमालेका जनप्रतिनिधिहरु अनुपस्थित थिए । माओवादी केन्द्र, एकीकृत समाजवादीका जनप्रतिधिलगायत कर्मचारी र सञ्चारकर्मीले भरिभराउ हलभित्र चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ३ का टेकबहादुर तमाङको प्रवेश हुन्छ । 

लगत्तै वडा नम्बर २ का वडाध्यक्ष सुदीप श्रेष्ठ रिसाउँदै प्रवेश गर्छन् । प्रवेश गर्ने वित्तिक्कै प्राविधिक भएको ठाउँमा गएर श्रेष्ठले माइकको लाइन थुत्छन् र स्पिकर उचालेर भूईँमा बजार्छन् । त्यसपछि वडा नम्बर ५ का वडा अध्यक्ष शिव श्रेष्ठको प्रवेश हुन्छ । स्थिति सम्हाल्न वडा नम्बर १३ का अध्यक्ष रामप्रसाद गौतम र ११ का अध्यक्ष रोशन गिरीले स्थितिलाई सम्हाल्न खोजेको देखिन्छ । 

त्यसपछि वडा नम्बर ६ का वडा सदस्य रवि खत्री र २ र ५ का अध्यक्षबीच भनाभन हुन्छ । भनाभन एकाएक घम्साघम्सीमा बदलिएपछि स्थिति झन् तनावग्रस्त हुन्छ । तनावको बीचमा वडा नम्बर १० का वडाध्यक्ष नीलबहादुर तामाङ र ९ का अध्यक्ष विमल श्रेष्ठ झोक्किँदै अगाडि बढ्छन् । 

उनीहरको प्रवेशपछि हलभित्र ठेलमठेलको अर्को अध्याय शुरु भएपछि चौताराको नगरससभा एकप्रकारले रणभूमिमा परिणत हुन्छ ।

नगरपालिकाको १६ औं नगरसभामा हिजो यस्तो दृष्य देखिएको हो । आफूहरुको असहमतिबीच पनि नगरसभा जबरर्जस्ती ढंगबाट  सञ्चालन हुन लागेपछि एमाले र काँग्रेसबाट विजयी वडाध्यक्षहरु हानाहानमा उत्रिएका हुन् । उनीहरुले माओवादी जनप्रतिनिधिहरुलाई प्रहार गर्न पटकपटक कुर्सीसमेत उचालेको देखियो । अराजक ढंगबाट उत्रेका उनीहरुलाई सम्हाल्न धौधौ परेको थियो । कोलाहल र हानाहानबीच  मेयर सापकोटाले नीति, कार्यक्रम र बजेट पास गरे । यता असन्तुष्ट जनप्रतिधिहरु नारा लगाउँदै हलबाट बाहिरिए ।

एमाले–काँग्रेसको आफ्नै तर्क 

अघिल्ला नगरसभामा पनि असन्तुष्टि जनाउँदै आएका एमाले र काँग्रेसबाट विजयी जनप्रतिनिधिहरु यसपटक भने हात हालाहालमा उत्रेका हुन् । अघिल्ला वर्षमा आफ्ना माग तेस्र्याउँदै सभामा नारा लगाउँदै बहिष्कार गदै आएका उनीहरुले असार ८ गते सम्पन्न १५ औं नगरसभामा भने हरेक वडालाई १ करोड बजेट विनियोजित गरेपछि केटाकेटीले ललिपप पाउँदा चुप लागेर बसे जस्तै शान्त देखिएका थिए । 

नीति मात्र प्रस्तुत गरिएको सो सभा स्थगित गरेर हिजो बजेट प्रस्तुत गर्ने मेयर सापकोटाले घोषणा गरेका थिए । सोही अनुसार बजेट सार्वजनिक गर्नुअघि मेयरले वडाध्यक्षहरुसँग पटकपटक परामर्श र छलफल गरेको बताउँछन् । तर पूर्ववत सहमति विपरित एकलौटी ढंगबाट बजेट ल्याउन खोजेका कारण आफूहरु विरोधमा उत्रेको असन्तुष्ट वडाध्यक्षहरुको भनाई छ । 

उनीहरुले महत्वपूर्ण निर्णय गर्दा काँग्रेस–एमालेका सदस्यहरुसँग पर्याप्त छलफल गर्नुपर्ने, बजेटमा माओवादीले एकलौटी गरेको पूर्वाधारतर्फको १ करोड ६५ लाख बजेट मेयरको तजबिजबाट विनियोजन गरिएको आरोप लगाएका छन् । 

मेयर सापकोटाले भने आफूले कसैलाई पनि काखापाखा गर्ने उद्देश्य नलिएको बताए । नीति कार्यक्रम र बजेट बनाउने सवालमा मात्र नभएर विषयगत समितिको बैठकमा पनि उनीहरुको सहमतिका साथ अगाडि बढेको दाबी सापकोटाको छ । वडाध्यक्षहरुको मागबमोजिम नै प्रतिवडा १ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

औंलो दिँदा डुडुल्नु निल्ने प्रवृत्ति 

अघिल्लो मेयरको कार्यकालमा प्रति वडा ६५ लाख विनियोजन गर्दै आएको नगरले आर्थिक वर्ष २०८१÷०८२ का लागि भने १ करोड विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ८५ लाख विनियोजन गरेको थियो भने थप १५ लाख प्रति वडालाई योजनाका लागि बजेट व्यवस्थापन गरिएको हो । 

हरेक नगरसभामा वडाको बजेट बढ्दो छ तर उनीहरु झन् बढी आक्रोशित भएकोमा स्थानीयले अचम्म मानेका हुन् । द्वअसहमति जनाउन पाइन्छ, विरोध गर्न पाइन्छ तर प्रतिकारमा उत्रनु कत्तिको जायज हो ?’ प्रत्यक्षदर्शी रविन्द्र श्रेष्ठले भने।

अधिकांश वडाले  गाउँबस्तीमा स्थानीयसँग छलफलका साथ योजनाहरु संकलन गर्नुपर्नेलगायतका कुनै पनि विधि र प्रक्रिया पूरा नगरेको उनीहरुको नगरबासीको आरोप छ । वडाध्यक्षहरुले मनोमानी ढंगबाट विधि प्रक्रिया नै नपुर्याई हचुवामा योजना र बजेट विनियोजन गर्न थालेको बताइन्छ । आफ्नो वडामा, टोलबस्तीमा कुन शीर्षकमा कति बजेट राखियो भन्ने सवालमा स्थानीय अझै पनि कुहिरोको काग बनेका छन् । आर्थिक वर्ष २०८१÷०८२ का लागि पनि कुनै पनि वडाले कुनै पनि योजना प्रस्तुत गरेका छैनन् भने उपशीर्षकसमेत छुट्याएका छैनन् ।

काँग्रेस र एमालेको संयुक्त विज्ञप्ति 
 
चौतारा साँगाचोकगढी नगर कमिटी नेपाली काँग्रेस र एमालेले सो घटनालाई लिएर संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । १६ औं नगरसभामा भएको घटना अनेपक्षित भएको भन्दै उनीहरुले नगरसभा जबरर्जस्ती सञ्चालन गर्न खोजेको र आफ्ना जनप्रतिनिधिहरु सभा हलमा प्रवेश गर्न खोज्दा माओवादी कार्यकर्ता र केही कर्मचारीले हातपात गर्दै सभाहलबाट निकाल्न खोजेको आरोप लगाएका छन् ।

नगरसभामा हातपात गर्नेहरुमाथि कारबाहीको माग गर्दै त्यस्ता हर्कत नसच्याए नगरप्रमुखविरुद्ध निर्मम हुने चेतावनी दिएका छन् । १४ वडा रहेको नगरपालिकामा चारजना वडाध्यक्ष काँग्रेसका र  चार एमालेका छन् । मेयर र छ जना वडाध्यक्ष माओवादीका छन् । उपमेयर सीता थापा भने एकीकृत सामाजवादीकी हुन् । ७५ जना नगरसभा सदस्यमध्ये ३३ जना काँग्रेस र एमालेका छन् । ४२ जना माओवादी र समाजवादीका हुन् ।
 

टिप्पणीहरू