प्रयोगशाला हो, यहाँ अझै प्रयोग भइरहन्छ
एक्कासी छापामार शैलीमा कांग्रेस, एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने भन्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनु कुनै अनौठो विषय होइन । किनभने नेपालमा नयाँ नयाँ राजनीतिक प्रयोग भइरहन्छन् र यो पनि अन्तिम प्रयोग होइन । राजनीतिमा एउटा भनाइ छ, सिद्धान्त बदलिन सक्छ, प्रवृति बदलिन्न । यो मान्यता अहिलेको सरकार फेर्ने प्रकरणमा सही सावित हुन पुगेको छ । किनभने सिद्धान्त बदलिए पनि पात्र त यिनै हुन् । यिनैका व्यवहारिक सोचमा सबै कुरा निर्भर हुन्छ, त्यसैले यिनै मान्छेको मौजुदगीका कारण प्रवृत्ति भने कहिले पनि बदलिएको अनुभूति गर्न सकिने अवस्था छैन ।
राष्ट्रिय सहमतिको सरकार भन्नेबित्तिकै कम्तीमा मुख्यमुख्य दलहरूको आपसी सरसल्लाह र सहमति अग्रिम रूपमै हुनुपर्ने हो । माओवादी केन्द्रलाई पनि त्यसमा सामेल हुने वातावरण तयार गरिनुपर्ने हो किनकि शान्तिप्रक्रियासँग जोडिएका थुप्रै मुद्दा सल्टाउन बाँकी नै छन् । तर राग राष्ट्रिय सहमतिको गाउने, व्यवहार भने अरु सबैलाई पाखा लगाउने हुनु हुन्नथ्यो । अर्कोतर्फ यो सरकार निर्माणमा विवादास्पद व्यापारी विनोद चौधरीको चलखेल प्रष्टै देखिन्छ । चौधरी असार २२ गते दिउँसो पौने ३ बजेको एयर इण्डिया एयरलाइन्सको उडान नम्बर एआई २११ बाट भारतको राजधानी दिल्लीबाट फर्केर आए । यसअघि १७ गते कांग्रेस र एमाले सरकार बनाउने भएपछि भारतीय पक्षबाट भनसुन गराउन त्यसतर्फ रमाना भएका थिए ।
राष्ट्रिय सहमतिको सरकारका निम्ति अग्रसर रहेका दुई ठूला दलका निम्ति मात्रै नत्र यसै खासै होटल उपलब्ध गराइन्न । चौधरी अर्बपति भए पनि सामाजिक काममा उनको खासै योगदान देखिँदैन ।
सरकारले सौतेनी व्यवहार गरेका मीनबहादुर गुरुङले शिक्षण अस्पताल महाराजगञ्जमा भव्य र सुविधायुक्त आकस्मिक चिकित्सा भवन बनाए, पश्चिमका भूकम्प पीडितको सहयोगार्थ करोडौं रुपैयाँ प्रदान गरे, भगवान कोइरालाको अगुवाइमा बन्ने अस्पतालका लागि ४१ करोड खन्खनी गनेर दिए । तर, उनी राजनीतिमा छैनन् र धनसम्पत्ति विदेश ओसार्नेमा पनि पर्दैनन् । चौधरीले च्यारिटी आफ्नै आमाबाबु वा घर परिवारका नाममा खोलेका छन् र कर पनि ज्यादै कम बुझाउँछन् । उनको कमाउने प्यास भने अझै मेटिएको छैन । कमाइ धन्दाको संस्थागत र वैधानिक बाटो कहिले एमाले त कहिले कांग्रेस बनेर सहजताका निम्ति राजनीतिलाई प्रयोग गरेका हुन् भन्ने कुरा बुझ्न जो कसैलाई पनि कठिनाइ छैन । ग्रामीण दूरसञ्चार प्रकरणमा महालेखा परीक्षकको कार्यालयले समेत चौधरीको कम्पनीका नाममा अरबौं रुपैयाँ बेरुजु देखाएको छ । धितोपत्र बोर्डमा नियुक्तिका निम्ति पर्दापछाडि कसले खेल्यो छर्लंग छ । लगानी बोर्डमा कसको कार्यकाल सकिँदैछ र त्यहाँका पात्रलाई के, कसरी व्यवस्थापन गरिन्छ, त्यो पनि छिट्टै देखिने नै छ ।
राष्ट्रप्रति माया हुनेहरूले देशलाई विभिन्न किसिमको प्रयोगशाला हुनबाट रोक्न सचेत हुन र खबरदारी गर्न आवश्यक छ । एकातिर चौधरीले चुनावताका नवलपरासीमा केराको चिप्स उद्योग सञ्चालन गर्ने भन्दै सुस्ता नगरपालिका–३ रेवारेतास्थित सयौं जग्गाजमिनमाथि कब्जा जमाए तर पछि बलौटे माटो भएकाले उत्पादन नहुने भन्दै सो जमिनलाई बाँझै राखिदिए । केराको बोटै रोपेनन् । जग्गा कब्जा जमाएर लाखौंलाई रोजगारी दिने वाचा पनि त्यत्तिकै तुहाए । अनौठो त यहाँसम्म छ कि हुनेवाला प्रधानमन्त्री केपी शर्मा ओलीको घर चौधरीको लागि २४ सै घण्टा खुला छ भने ओलीका लागि ज्यान फ्याल्ने गोकुल बाँस्कोटाहरू एघार महिनादेखि बालकोटको दैलोबाट छिर्न पाएका छैनन्् । तसर्थ नेताको प्रयोगशालाको रूपमा हाम्रो मुलुक चलिरहने र जनता टुलुटुलु हेरिरहन अभिषप्त हुने स्थिति अब लामो समयसम्म रहनुहुन्न ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू