समाजवादी प्रेस संगठनका दुई सुझाव
समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको निर्वाचन मिति तोक्न माग गरेको छ । सदस्यता शुद्धिकरणको विवाद समाधानका लागि दुईवटा सुझाव दिँदै संगठनले अनिश्चित बनेको महासंघको निर्वाचन मिति घोषणा गर्न माग गरेको हो ।
संगठनले सदस्यता शुद्धिकरणको नाममा महासंघलाई नेतृत्वविहीन बनाउन जायज नहुने बताएको छ । २०७७ चैतमा अद्यावधिक सदस्यताका आधारमा निर्वाचन कार्यक्रम अगाडि बढाएमा संगठनलाई स्वीकार्य हुने जनाइएको छ ।
असार २२ लाई तोकिएको निर्वाचन कार्यक्रमअन्तर्गत प्रकाशित सदस्यतामाथि दाबी विरोधको सुनुवाई गरेर वा विभिन्न संगठनको सहमतिमा अन्तिम रुप दिन संगठनले सुझाएको छ ।
‘सदस्यता शुद्धीकरणका नाममा भएको विवादकै कारण महासंघले नयाँ नेतृत्व पाउने कुरा अनिश्चित हुनु जायज हुँदैन । तसर्थ, शुद्धिकरणलाई आगामी नेतृत्वको प्रमुख कार्यभार बनाउनेगरी तत्कालका लागि २०७७ चैतमा अद्यावधिक सदस्यताका आधारमा निर्वाचन कार्यक्रमअगाडि ल्याइए हाम्रा लागि स्वीकार्य हुनेछ । वा, असार २२ मा तोकिएको निर्वाचन कार्यक्रमअन्तर्गत प्रकाशित सदस्यतामाथिको दाबी विरोधको सुनुवाई एवम् विभिन्न संगठनको सहमतिमा त्यसलाई अन्तिम रुप दिन सकिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
साथै, संगठनले महासंघमा नयाँ नेतृत्व सहमतीय अभ्यासका आधारमा तयार पार्नुपर्ने सुझाव दिएको छ । नेपाल प्रेस युनियनको नेतृत्व स्वीकार्य भएको जनाउँदै संगठनले अन्य संगठनको हकमा संख्यात्मक अनुपातलाई आधार मानेर केन्द्र, प्रदेश र जिल्लाका पद बाँडफाँड गर्न सकिने धारणा राखेको छ ।
महासंघले गत असार २२ गते निर्वाचन मिति तोकेको थियो । तर, सदस्यता शुद्धिकरणलाई लिएर विवाद भएपछि निर्वाचन अनिश्चित बनेको छ ।
टिप्पणीहरू