‘हनी ट्याप’ मा युवतीसहित दुई जना संलग्न

‘हनी ट्याप’ मा युवतीसहित दुई जना संलग्न

‘हनी ट्याप’ मा संलग्न दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकका काठमाडौं बौद्ध बस्ने २० वर्षीया तेन्जी डोमा छिरिङ वा डोल्पा लामा भन्ने सिर्जना तामाङ र कागेश्वरी मनोहरा मुलपानी बस्ने २९ वर्षीय सौरभ तामाङ भन्ने लिलाबहादुर तामाङ प्रहरी नियन्त्रणमा पुगेका हुन् । 

उनीहरुले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई साथी बनाई प्रत्यक्ष रुपमा भेटघाट गरेर अश्लिल भिडियो बनाई पीडितलाई पठाउनुका साथै पैसाको मोलमोलाई गरी रकम असुल्ने गरेको प्रहरीको आरोप छ ।

प्रहरीका अनुसार लिलाले पीडितको फेसबुक आईडी सिर्जनालाई पठाएर साथी बन्न लगाएका थिए । त्यसपछि सिर्जनाले पीडितसँग कुरा गरी आफ्नो कोठामा बोलाइन् । पीडित कोठामा आउन मञ्जुर भएपछि लिलाले आफ्नो मोबाइल सिर्जनालाई भिडियो बनाउन दिएका थिए । 

सोहीअनुरुप सिर्जनाले आफ्नो र पीडितको अश्लिल भिडियो बनाएको पाइएको छ । उक्त भिडियो देखाउँदै उनीहरुले पीडितसँग एक करोडको बार्गेनिङ गरेको र पछि १५ लाखमा कुरा मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बौद्धबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीले दुई थान मोबाइल र साढे ३४ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई अपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू