लाहुरेको पसिनामा बुढाथोकी समूहको मनपरी

लाहुरेको पसिनामा बुढाथोकी समूहको मनपरी
सुन्नुहोस्

कुनै बेला गोर्खा विकास बैंक लाहुरेहरूको लोभलाग्दो संस्था थियो । यो बैंकमा बेलायती सेनामा कार्यरत र अवकाशप्राप्त गोर्खाहरू, सिंगापुर प्रहरीमा कार्यरत र अवकाशप्राप्त हजारौं लाहुरेले लगानी गरेका थिए । तर जब राकेश अडुकियाको समूह हावी भयो, बैंकको खराब दिन शुरु भयो । तत्कालीन अध्यक्ष डिबी बम्जन, निर्मल गुरुङ राकेश अडुकियाको मतियार बने । 

त्यही बैंक यसअघि समस्याग्रस्त रहेको गोर्खा विकास बैंक काठमाडौं फाइनान्ससँग मर्जर भएर ‘ग’ वर्गको वित्तीय संस्था गोर्खाज फाइनान्स लिमिटेड बन्यो । शुरुवाती दिनमा गोर्खाज फाइनान्स लिमिटेडको अवस्था राम्रो थियो । तर, पछिल्लो समय नेपाली कांग्रेसका नेता इन्द्र बानियाँका एकाउन्टेन्ट गौरव बुढाथोकी अध्यक्ष भएर छिरे, त्यसपछि फेरि गोर्खाज फाइनान्स लिमिटेड पनि गोर्खा विकास बैंककै बाटोमा हिँड्ने खतरा बढेको छ । विभिन्न काण्डमा मुछिएका विवादित बुढाथोकी एक वर्षअघि गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षको रूपमा छिरेका थिए । 

गोर्खाज फाइनान्स लिमिटेडमा ९३ प्रतिशत लगानी लाहुरेहरूको छ । कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रूपैयाँ छ । जगेडा कोषमा भने १ अब २ करोड ७८ लाख रूपैयाँ राखेको छ । १० हजार लगानी गरेका बुढाथोकी पब्लिक लगानीकर्ताको बाटोबाट शक्तिशाली अध्यक्ष भएर छिरेका थिए । तर उनले उनै ९३ प्रतिशत लगानी गर्ने लाहुरेहरूलाई पाखा लगाएका छन् । अध्यक्ष बुढाथोकीले सिइओ सन्तोषकुमार घिमिरे र सिनियर मेनेजर दिपक न्यौपानेलाई प्रयोग गरेर मनपरी गरेका थिए । तर, सिइओ घिमिरेसँग पनि कुरा नमिलेपछि सोमबार (२५ भदौ २०८१) मा सिइओ घिमिरेले राजीनामा दिएका छन् । 

स्रोतका अनुसार बुढाथोकी हेटौडातिर इन्द्र बानियाँको नाममा चन्दा आतंक मच्चाउने, ठगी गर्ने मान्छे हुन् । १० हजार लगानी गरेर गोर्खाज फाइनान्स लिमिटेड छिरेपछि उनको जिवनमा राजकीय बनेको छ । उनको मनपरी र ठगीलाई साथ दिएका छन्, गोर्खाज फाइनान्स लिमिटेडकै कर्मचारी दिपक न्यौपानेले । त्यसो त गोर्खाज फाइनान्स लिमिटेडमा मासिक ५ करोडभन्दा बढी लाहुरेहरूको पेन्सन जम्मा हुन्छ । तर अध्यक्ष बुढाथोकी र मेनेजर न्यौपानेले लाहुरेहरूको सत्तोसराप गर्ने गरेका छन् । एक साताअघिको एउटा बसाइमा न्यौपानेले भनेका थिए, ‘यो मुला लाहुरेहरूलाई कसरी ठिक पार्नुपर्छ मलाई थाहा छ ।’ पछिल्लो समयमा कर्मचारी भर्ना, बढुवामा समेत उनीहरूले मनपरी गर्न थालेका छन् । यतिसम्म कि उनले गोर्खाज फाइनान्स लिमिटेडको सामान्य छपाई, विज्ञापनको मामिलामा समेत कमिसन माग्ने गरेका छन् । 

दुई साताअघि अध्यक्ष बुढाथोकीले आफूनिकटका प्रबिन भट्टराईलाई निर्देशक बनाएर ल्याएका छन् । यससँगै बोर्डमा उनी बहुमत भएका छन् । अध्यक्ष बुढाथोकीका हर्ताकर्ता मेनेजर न्यौपानेले कर्मचारीमा समेत आतंक सिर्जना गर्ने गरेका छन् । महिला कर्मचारीको समेत अपमान गरेर बोल्ने गरेको बताइन्छ । उनले भन्ने गरेका छन्, ‘गोर्खाज फाइनान्स लिमिटेडमा राम्री केटी कोही पनि छैनन्, अब राम्री केटी भर्ना गर्ने कुरामा अध्यक्ष मेरो सल्लाह हुँदैछ ।’

शुरुमा अध्यक्षसँग मिलेर मनपरी गरेका सिइओ घिमिरे पनि विवादित पात्र हुन् । गोर्खाज फाइनान्स लिमिटेडकै डिजिएम भएको बेला बिनाधितो ३ करोड लोन दिएपछि उनलाई राष्ट्र बैैकले कारबाही प्रक्रिया अघि बढाइएको थियो । तर, राष्ट्र बैंकका एक उच्च अधिकारीसँग मिलेर कारबाहीको टुंगो नलाग्दै सिइओ भएर गोर्खाज फाइनान्स लिमिटेडमा गएका थिए।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू