माओवादीप्रतिको क्रेज बढाउन खुमलटारमा छलफल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ६ गते बिश्वासको मत लिनुअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।आज प्रचण्डको निवास खुमलटार पुगेका जम्कट्टेलले आगामी आइतबार विश्वासको मत लिने बताइएको छ । त्यसअघि मुख्यमन्त्री र माओवादी मन्त्रीहरुले अध्यक्ष प्रचण्डसँग भेटेर आगामी रणनीतिबारे छलफल गरेका हुन् ।
छलफलमा मुख्यमन्त्री जम्कट्टेलसहित सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल र मुख्य सचेतक रत्न ढकाल सहभागी थिए ।
प्रदेशमा पार्टीको आगामी रणनीति तय गर्न समान्य छलफल भएको भौतिक पूर्वाधारमन्त्री दुलालले जानकारी दिए । पार्टी अध्यक्ष प्रचण्डले पनि आफूहरुलाई संवैधानिक व्यवस्थाबमोजिम अघि बढ्न सुझाएको उनले बताए ।
जनआस्थासँगको कुराकानीमा उनले भने, ‘संघको सत्ता समीकरण परिवर्तन भएपछि मुख्यमन्त्रीले पनि साउन ६ मा विश्वासको मत माग्दै हुनुहन्छ, पार्टी अध्यक्षज्यूले पनि संविधानअनुसार अघि बढ्न भन्नुभयो ।’
मन्त्री दुलालले अब आफूहरुले फिल्डमै खटिएर जनताको वास्तविक मुद्दा प्रदेश सभामा उठाउने बताए । ‘पार्टीको क्रेज घटिरहेको अवस्थामा कसरी बढाउने भन्नेबारे पनि छलफल भयो, पहिले हामी मन्त्री थियांै र फिल्डमा जान समय जुटाउन गाह्रो थियो । अब हामीसँग समय छ, जनताको वास्तविक मुद्दा अब प्रदेश सभामा फेस हुनेछ’, उनले थपे ।
टिप्पणीहरू