कोटाबाट मन्त्री छानिएकोमा काङ्ग्रेसजन क्रु*ध्द
मन्त्रीजस्तो महत्वपूर्ण पद छानीछानी नेताका श्रीमती र सन्तानलाई बाँडिएपछि नेपाली काँग्रेसमा 'निमुखाहरु' मकैको घुन झैँ पिसिएका छन् । केपी शर्मा ओलीलाई अघि सारेर सत्तामा उक्लिएको काँग्रेसले सरकारमा १० जना मन्त्री पठाउँदा समावेशीता र भौगोलिक सन्तुलनको धज्जी त उडायो नै,गुट मिलाउने नाममा इमान्दार र काबिल नेता पनि पाखा पारिए ।
कांग्रेसमा संस्थापन र इतर खेमाबीच ६०-४० को भागबण्डा गर्ने पुरानै अभ्यास हो । यसपल्ट संस्थापनबाट ६ र इतर खेमाका ४ जना मन्त्री हुँदा एक जना पनि दलितले अवसर पाएनन् । बरु संस्थापक नेताका सन्तान, सभापतिकी अर्धांगिनी, महामन्त्रीको रोजाईमा परेका र राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट सिफारिस भएकाहरुले बाजी मारे ।
वामपन्थी गठबन्धन फुटाएर चार महिनामै पार्टीलाई प्रतिपक्षबाट सत्तापक्ष बनाउने सफलता दिलाएका सभापति शेरबहादुर देउवा मन्त्री छनोटमा हावी हुने नै भए । सभापतिलाई खुशी तुल्याएर मन्त्री बन्ने रहरले जुत्ता खियाउँदै बूढानिलकण्ठमा पुग्नेहरुको ठूलै भीड थियो । तर, रोजाईमा परे- नेताका सन्तान र आसेपासे ।
'शेरबहादुरकी श्रीमती र गणेशमानको छोरो मन्त्री बनिहाले । बिपी र नोनाको छोराले पनि आ-आफ्नो हिस्सेदारी पाएकै छन् । राष्ट्रपति र महामन्त्रीले कोटा पाइहाले,के चाहियो र अब ?', कटाक्ष गर्दै उनै काँग्रेसी सांसद भन्छन्, 'हामीजस्ता मान्छे मात्रै त हो मकैको घुन जसरी पिसिने !'
देउवा पत्नी आरजू राणा देउवा,रमेश लेखक र गणेशमानपुत्र प्रकाशमान सिंहको पहिल्यै मन्त्री निश्चित थियो । दुई कार्यकाल सभापति र पाँचचोटी प्रधानमन्त्री भैसकेका ७८ वर्षे देउवा पार्टी विधानत: अब नेतृत्वमा तेहरिन मिल्दैन । त्यसकारण श्रीमती आरजुलाई नेतृत्वमा स्थापित गर्न अहिले मन्त्री र महाधिवेशनमा उपसभापति बनाउने तयारी पहिलेबाटै थियो । परराष्ट्रमन्त्री नै बनाउनुको कारण भने भारत र अमेरिका दुबैलाई खुशी पार्न खोजेको अर्थमा कांग्रेस नेताहरुले बुझेका छन् ।
१४ औँ महाधिवेशनमा सभापतिमा सघाएको गुन तिर्न पर्ने भएकाले प्रकाशमानको नाम पनि काटकुटमा परेन । दक्षिणको रुचिमा पर्नु उनको अर्को ठूलो योग्यता छँदै थियो । देउवाका तर्फबाट नयाँ गठबन्धनका सूत्रधार रमेश लेखकका लागि गृह मन्त्रालय शुरुमै 'बुक' थियो । उक्त मन्त्रालयमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पनि रहर गरेका थिए । गृह नपाए स्वास्थ्य मन्त्रालय भए पनि खाने तयारी थियो । तर, स्वास्थ्यमा महामन्त्री गगनको कोटामा परेपछि उनी जिल्याइए । ओलीपछि देउवा प्रधानमन्त्री हुँदा 'राम्रै गरिन्छ' भनेर खतिवडालाई थामथुम पारिएको बताइन्छ ।
बाँकी ७ जनामा संस्थापन र इतर खेमालाई क्रमश: तीन र चार वटा बाँड्ने सहमति भयो । जसमा बिपीपुत्र शशांकको कोटाबाट दिपक खड्का उर्जा,जलस्रोत तथा सिन्चाई मन्त्री भए । अनेक अनियमितता र विवादमा मुछिएका उनलाई मन्त्री बनाउन शशांकले दुई दिन बुढानिलकण्ठमा धर्नै दिएको कांग्रेसका एकजना सांसदले बताए । हाइड्रोपावरमा ठूलो लगानी गरेका खड्कामाथि बैंकको अर्बौ ऋण नतिरेको आरोप छ । उनीविरुद्ध चेक बाउन्सको मुद्दा पनि छ । करोडौँ मूल्य पर्ने स्काउट जग्गा र भवनमा अनियमितता गरेको अभियोग त पुरानै हो ।
नोना कोइरालाका छोरा शेखरको भागमा परेको दुई मन्त्रालयमा बद्री पाण्डे र रामनाथ अधिकारीलाई क्रमश: कृषि र पर्यटन मन्त्री बनाइयो । राष्ट्रपति रामचन्द्र पौडेलको कोटामा तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बने ।
महामन्त्री गगनको कोटाबाट प्रदीप पौडेल स्वास्थ्यमन्त्री भए । २०७३ सालमा आफैं स्वास्थ्यमन्त्री बनेका गगनको स्वास्थ्यमा पहिलेदेखि नै रुचि थियो । यसपटक आफू मन्त्री नखाने निधो गरेका उनले आफ्नो कोटाबाट प्रदीपलाई अघि सारेका हुन् । यसअघि प्रचण्ड क्याबिनेटमै प्रदीपलाई मन्त्री बनाउने गगनको जोडबल थियो । तर,कृष्ण सिटौलाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर पराजित भएलगत्तै गुट फेरेर गगनतिर लागेपछि उनी देउवाको नजरमा परेनन् ।
'शेरबहादुरको श्रीमती र गणेशमानको छोरो मन्त्री बनिहाले । बिपी र नोनाको छोराले पनि आ-आफ्नो हिस्सेदारी पाएकै छन् । राष्ट्रपति र महामन्त्रीले कोटा पाइहाले,के चाहियो र अब ?', कटाक्ष गर्दै उनै काँग्रेसी सांसद भन्छन्, 'हामीजस्ता मान्छे मात्रै त हो मकैको घुन जसरी पिसिने ।'
यता,प्रतिश्पर्धी दुई ठूला दलको सत्ता समीकरणलाई लिएर कांग्रेसभित्रै एउटा पक्ष सन्तुष्ट छैन । जोसंग चुनावमा प्रतिष्पर्धा गर्नुपर्ने हो,उसैसँग सहकार्य गर्दा पार्टीले क्षति व्यहोर्नुपर्ने चिन्ता कांग्रेसीहरुमा देखिन्छ । त्यसकारण पनि सरकारको भविष्यलाई लिएर अनेक आशंका भैरहँदा प्रधानमन्त्री ओलीले पहिलो क्याबिनेट बैठकमै शेरबहादुर देउवा र आफूबीच राम्रो समझदारी बनेकाले सरकार पूरै कार्यकाल जाने विश्वास मन्त्रीहरुलाई दिलाएका छन् ।
ओलीले देउवा र आफूबीच प्रधानमन्त्रीमा दुई र डेढ वर्ष आलोपालो गर्ने सहमति भएको पहिलो क्याबिनेटमै बोलेर यसलाई संस्थागत गर्न खोजेको देखिन्छ । यो गठबन्धन कति टिक्ला? भन्ने प्रश्नमा कांग्रेस नेताले प्रतिप्रश्न गर्दै भने - सभापतिकै जहान क्याबिनेटमा भएपछि शेरबहादुर दाइले दायाँबायाँ सोच्नुहुन्न होला, तर एकलौटी गर्ने र विपक्षीलाई पेलेर जाने ओलीको स्वभाव चेन्ज भएन भने त उहाँले पनि सँधै काँध हालिरहनु होला र ?
टिप्पणीहरू