तीज गीतमा उच्छृंखलताको पराकाष्ठ, अधिकांशमा महिला स्रष्टा

तीज गीतमा उच्छृंखलताको पराकाष्ठ, अधिकांशमा महिला स्रष्टा
सुन्नुहोस्

तीज हिन्दू नारीहरुको महत्वपूर्ण पर्व हो । यसका आफ्नै धार्मिक तथा सांस्कृतिक विशेषता छन् । हिन्दू धर्म शास्त्रमा हिमालयपुत्री पार्वतीले एक सय वर्ष तपस्या गरेर भगवान शिवलाई पाएको प्रसङ्ग तीजसँग जोडिएको पाइन्छ । त्यसैले शिवको आराधना गर्दै नाचगान र मनोरञ्जन गरेर तीज मनाउने परम्परा रहँदै आएको छ । 

पछिल्लो समय अन्य धर्मका महिलाले पनि तीज हर्षोल्लासका साथ मनाउन थालेका छन् । यसको ऐतिहासिकताबारे फरक–फरक मत पनि पाइन्छ । त्यसको व्याख्या र खण्डन चर्चाको अर्को विषय होला ! तर, यहाँ भने तीजसँग जोडिएको संगीतबारे केही चर्चा गरिएको छ । 

तीज भाद्र कृष्ण पक्षको तृतीया तिथिमा मनाइन्छ । यो वर्ष भदौ २१ गते तीज परेको छ । तर, दुई महिनाअघि नै तीजका गीतले सामाजिक सञ्जाल तातिसकेको छ । यो आफैँमा विकृतिको एउटा नमूना हो ।  

तीजमा गाइने गीतको आफ्नै विशेषता छ । मुख्यतः महिलाहरुको भावना र संवेदनालाई मनोरंजनसँग जोडेर अभिव्यक्त गर्न तीजमा गीत गाउने परम्परा शुरु भएको पाइन्छ । एउटा उमेर आएपछि हरेक महिलाले आफ्नो घर–परिवारबाट अर्को घर–परिवारमा स्थान्तरण हुने संस्कारले जन्माएका प्राकृत आयामहरु तीज गीतका विशेषता हुन् । तर, पछिल्लो समय तीज गीतमा प्रयोग हुने अराजक र उच्छृखंल शब्दहरुले समाजलाई नै विकृत बनाउदै लगेको छ । तीज पर्वको महत्व र अस्तित्वमाथि खुलेआम प्रहार भइरहेको छ । 
त्यसो त तीजका गीतहरु उच्छृंखल बन्दै जानुका पछाडिका कारणबारे व्यक्तिका आ–आफ्नै धारणा हुनसक्छ । यसको एउटा पूरक कारण भने संगीतको पहुँच सजिलो बनाइदिने प्रविधिलाई मान्न सकिन्छ । अहिले गीतको गुणस्तरभन्दा पनि भ्यूजमा होडबाजी चलेको देखिन्छ, यस्तो एक दशक अघिसम्म थिएन । 

दशकअघि तीजका गीत सामाजिक र पारिवारिक हुन्थे । महिलाहरु (आमा–छोरी–दिदी–भाउजु–साथीसंगीलगायत) एकै ठाउँमा भेला भएर गाउन÷नाच्न मिल्थ्यो । 

विष्णु माझीको एउटा गीत छ–
ए आमा हो, 

यो तीजमा आइन भनेर, रुँदै–रुँदै गयो मेरो भाइ त
नभने दाइले, बहिनी आइन माइत 

गीतको उक्त पंक्ति र अन्य अन्तराले एउटा माइत जान नपाएकी चेलीको व्यथा र बाध्यतालाई अभिव्यक्त गरेको छ । माइतमा जन्मदिने बुबा–आमा पर्खिरहेका छन् । सायद उनीहरु पराई घर गएपछि छोरीको जीन्दगीबारे जान्न चाहन्छन् । तर, छोरीले कर्म घरबाटै गीतमार्फत माइतका बुबा–आमालाई पारिवारिक बाध्यता सुनाइरहेकी छन् । दाजु–भाईलाई प्रेम र सम्झना पठाइरहेकी छन् । 

दशकअघि नै पशुपति शर्मा र राधिका हमालले गाएको अर्को एउटा गीत छ– 

वर्षै र दिनको तीजैको मेला
लरक्कै लर्क्यो रातो साडी भुइँमा,
सै–साथी सबै भइ आज भेला
भन्देउन कुन चाहीँ राम्री हामी दुईमा,

बहुसंख्यक नारी जीवनको वास्तविकता बोकेको यो गीतले लामो समय भेट्न नपाएका दिदी–बहिनीको खुशी र उत्साहलाई कलात्मक ढंगमा प्रस्तुत गरेको छ । महिलाहरुले रातो साडीमा सजिएर, एक–अर्काका लागि गीत गाउँदै तीज मनाइरहेको अन्तराहरुबाट स्पष्ट हुन्छ । समग्रमाभन्दा महिलाहरुले केही समयको लागि भए पनि  मानसिक तनाव, पारिवारिक बन्धनबाट मुक्त भएर आफ्नो लागि बाँचेका छन् । आफ्नै लागि गाएका छन् । आफ्नै लागि नाचेका छन् । 

अहिले यस्ता विम्ब र शैलीका गीतहरुको सिर्जना शून्य छ । पछिल्लो समयका कलाकारहरुमा गीतप्रतिको चेतना, प्रभावको आकलन र गीतको आयुभन्दा पनि क्षणिक र सस्तो लोकप्रियताको भोक देखिन्छ । गीत चलाउन भड्किलो र द्वैअर्थी शब्दहरुको प्रयोग बढ्न थालेको छ । जसको कारण, आमा–छोरीसँगै बसेर गाउन÷नाच्न सक्ने अवस्था छैन ।

स्पष्ट हुनुपर्ने के छ भने, दशकअघिका गीतले परिवारका महिलाहरुलाई एकीकृत गर्थ्यो । तर, अहिलका गीतहरुले महिलाहरुलाई विभाजित गर्न थालेको छ । 

यसैबीच यो वर्ष पनि तीजका सयौँ गीतहरु सार्वजनिक भइसकेका छन्, कति बनिरहेका होलान् । तर अहिलेसम्म सार्वजनिक भएका गीतमध्ये पाँच वटा उच्छृखंल र दोहोरो अर्थ लाग्ने शब्दका कारण विवादमा तानिएका छन् । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले विज्ञप्ति जारी गरेर ती गीतलाई प्रचार–प्रसार नगर्न सञ्चार माध्यमलाई आग्रहसमेत गरेको छ । 

विवादमा तानिएका गीतमध्ये एउटा गीत हो, ‘दिउँला बरिलै’ । कविता खत्री र भगिरथ चलाउनेले स्वर दिएको यस गीतमा अधिकांश शब्द दोहोरो अर्थका छन् ।

जस्तो कि–
बिहे अघि छुन्न म, 
हुनेवालीलाई दिउँला बरिलै (केटा)
मायाको पोको, चोखो छ चोखो, 
बिहेअघि दिन्न म लरि लरि लै (केटी)

केशर वली र सुमन थापाले गाएको अर्को गीत पनि उस्तै छ–
टिकटकमा भाइरल हल्लाएरै हो
बल लाएर केटा, बल लाएरै हो
टिकटकमा भाइरल हल्लाएरै हो । 

त्यस्तै, विवादित गीतको सूचीमा शान्ति श्री परियारको गीत पनि छ– ‘बिस्ताराले पोल्यो’ । त्यसो त, उनी चल्तीकी लोकदोहोरी गायिका हुन् । उनका दर्जनौँ गीत करोड क्लबमा छन् । तर भ्युजको लोभले शान्ति पनि विवादमुक्त रहिनन् । उनका स्रोता तथा समर्थकहरुले गीत छनोटमा ध्यान नदिएको र पैसाकै लागि गुणस्तरहीन गीत गाएको भन्दै आलोचना गरिरहेका छन् । अर्कोतिर तीजको गीतमा आइटम नृत्य गरेको भन्दै भिडियोको पनि सर्वत्र आलोचित भएको छ । 

गीतमा भनिएको छ–
फोनमै माग्ने पप्पी, कत्ति साह्रै नट्टी, 
मनले के सोच्यो–सोच्यो, सिरानीले घोच्यो
कालेले के बोल्यो–बोल्यो, मलाई बिस्ताराले पोल्यो 

प्रिति आले र प्रकाश शर्माको गीत पनि विवादमा छ । यो गीतमा पूर्णरुपले दोहोरो अर्थ लाग्ने शब्दहरु प्रयोग गरेको देखिन्छ । 

गीतमा भनिएको छ–
गैरी खेतमा कुलो कान्छी, मुसो पस्ने दुलो, 
तिमीलाई जता नजर लाउँछु, त्यतै देख्छु ठूलो,


संगीत वृतमा देखिएको एउटा रमाइलो के छ भने, हरेक वर्ष तीजको अवसर पारेर विवादित गीत ल्याउने दुर्गेश थापा यो वर्ष भने सभ्य र शालिन देखिएका छन् । उनले गत आइतबार सार्वजनिक गरेको ‘झुम्का हरायो’ बोलको गीतमा आपत्तिजनक शब्द प्रयोग गरेका छैनन् । दुर्गेश आफैंले लेखेको, संगीत भरेको र फिर्चड भएको गीतमा शान्ति श्री परियार र पशुपति शर्माले स्वर दिएका छन् । 

गीतको शब्द छ–
मलाई हात दिने कोही छैन
मलाई साथ दिने कोही छैन
हार चोरी भो तिजको बेलामा
किन्दिने कोही छैन, ए मेरो कोही छैन । 

गीतका अन्य अन्तरा पनि औसत रुपमा सामान्य नै छन् । दुर्गेशले पनि आफैँ सुध्रिएको दावी गरेका छन् । गीत सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘अब मलाई के लाग्यो भन्दा नी, सायद उमेर पनि बढ्दै गएर होला, गीतहरू सबै मानिसहरूले सुन्ने, सबैको अगाडि हेर्न मिल्ने बनाउनुपर्छ भन्ने मेरो दिमागमा पस्यो, उटपट्याङ गीतहरू गाउँदिन, अब दुर्गेश सुध्रिएर आउँदैछ ।’

संगीतमा अराजकता मौलाएपछि उता राष्ट्रिया लोकदोहारी प्रतिष्ठान पनि चिन्तित छ । प्रतिष्ठानकी अध्यक्ष रीता थापाले गीतको सेन्सर प्रणाली नहुँदा मौलिक गीतहरु धरापमा पर्दै गएको दुःखेसो पोखिन् । 

‘संगीतमा नराम्रोसँग विकृति फैलिएको छ, अहिले चल्नकै लागि पनि उच्छृंखल गीत गाउनुपर्ने रहेछ भन्ने भाष्य बन्यो’, उनले जनआस्थासँग भनिन्, ‘तर, यो राम्रो होइन, राज्यले सेन्सरको नियम र प्रणाली बनाइदियो भने त्यसलाई कार्यान्वय गर्ने हामी छौँ ।’

अध्यक्ष थापाले ‘जस्तो कलाकार, उस्तै राज्य’ भएको टिप्पणी गरिन् । राज्यले संगीत क्षेत्रलाई सधैँ ओझेलमा पारेको उनको गुनासो छ । ‘राज्यले पनि ध्यान दिए पो हामी अराजकतालाई नियमन गर्न सक्थ्यौँ, कलाकारहरु बिग्रिँदै गएका छन्, राज्य पनि उस्तै बन्दै गएको छ’, थापाको गुनासो छ ।

टिप्पणीहरू