उताका काँग्रेस–एमाले नेताहरु ‘माथि’को फोन कुर्दै
हे जाएगा,हो जाएगा ! बहुत बहुत धन्यवाद ! भन्ने थेगोबाट परिचित रुपन्देही क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे चेतनारायण आचार्य नेतृत्वको मन्त्रिमण्डलमा मन्त्री बन्लान् वा नबन्लान् लुम्बिनीमा सर्वाधिक चासोको विषय बनेको छ । प्रदेशका देउखुरी, कपिलवस्तु र रुपन्देहीका चिया पसलदेखि चौतारासम्मका हरेक राजनीतिक र सामाजिक छलफलमा यो विषयले प्रवेश पाउने गरेको छ ।
एमाले-काँग्रेस गठबन्धनमा बनेको एमाले संसदीय दलका उपनेता आचार्य नेतृत्वको मन्त्रिमण्डलमा अटिन उनले गरेको प्रयास निकै रोचक देखिन्छ । एकहप्ता काठमाडौंमा लोसपा अध्यक्षदेखि अन्य दलका शीर्ष नेताहरुसँग भलाकुसारी गरेर लुम्बिनी फर्केपछि चर्चा चुलिएको हो ।
प्रदेश सरकारमा साना दललाई जम्मा दुई वटा मन्त्रालय दिन एमाले-काँग्रेसको सहमति छ । आन्तरिक मामिला , सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालय सरकारलाई समर्थन गरेका लोसपा,जसपा राई, जसपा यादव,नाउपा र जनमतमध्ये दुई दलको भागमा पर्ने भनिएको छ ।
तीमध्ये एक मन्त्रालय काँग्रेसले सम्हाल्ने छ । आन्तरिक मामिला काँग्रेसको भागमा परेको छ भने अन्य दुईमध्ये एउटा नाउपा र एउटा लोसपालाई दिने सहमति यसअघि नै गरिएको बताइन्छ । तर ती दुबै पार्टीले मन्त्रीको नाम नपठाउँदा लुम्बिनी सरकारले पूर्णता पाएको छैन ।
काँग्रेसले पनि एकजना मन्त्रीको नाम टुंगो लगाउन सकेन । प्रमुख सचेतक जन्मजय तिमिल्सेना र राजु खनालमध्ये एकलाई मन्त्री बनाउने विषय काँग्रेसभित्र जटिल बनेको बताइन्छ । तिमिल्सेना सभापति शेरबहादुर देउवा समूहका हुन् भने खनाल शेखर कोइराला खेमाका । यसअघि काँग्रेसबाट मन्त्रीहरु सबै देउवा समूहका भएकाले खनाललाई मन्त्री बनाउनुपर्ने दबाब पार्टीभित्र अधिकांशको देखिन्छ ।
काँग्रेसका प्रदेश सभापति अमरसिंह पुनले सार्वजनिक रुपमा विज्ञप्ति जारी गरेर मन्त्री छनौटको मापदण्ड गलत भएको बताएका छन् । उक्त समूहको असन्तुष्टिलाई सम्बोधन गर्न पनि खनाल मन्त्री बन्ने निश्चित भनिएको छ । काँग्रेसबाट जो मन्त्री बने पनि उसले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने छ ।
तीन सदस्य रहेको लोेसपाबाट यसअघि बारम्बार मन्त्री बनेका पाण्डे पुनः दौडमा छन् । पार्टी संसदीय दलको नेतासमेत रहेका उनी यसअघि शंकर पोखरेल, कुलप्रसाद के.सी,डिल्ली चौधरीको पालामा क्रमशः भौतिक पूर्वाधार, आन्तरिक मामिला र सोही मन्त्रालयको नाम परिवर्तन गराएर गृहमन्त्री बनेका थिए । काँग्रेस नेता चौधरी मुख्यमन्त्री हुँदा उनी प्रदेश सरकारको दोस्रो वरियतामा शक्तिशाली मन्त्री थिए । यतिबेला उनको पोर्टफोलियोअनुसार लोसपाले मन्त्रालय पाउने सम्भावना देखिँदैन । तर सामाजिक विकास वा महिला,बालबालिका जुन मन्त्रालय पाए पनि मन्त्री बन्ने दाउमा आचार्य देखिन्छन् ।
उनले यसअघि पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाको आशिर्वादमा मन्त्री बन्ने अवसर पाएका थिए । तर अहिले शुक्ला पनि पार्टीभित्र दबाबमा रहेको बताइन्छ । केपी शर्मा ओली नेतृत्वमा मन्त्रीको शपथ लिन तयार भएको अवस्थामा शरतसिंह भन्डारीले उक्त पद उछिट्याएपछि उनको अहिले अध्यक्ष महन्थ ठाकुरसँग बोलचाल बन्दको अवस्था छ ।ठाकुर लुम्बिनीमा शुक्लालाई मन्त्री छान्ने जिम्मा दिएर खुशी पार्ने दाउमा रहेको बताइन्छ । शुक्ला भने यसपटक आफ्नै निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यहरु कन्हैया बानिया,समानुपातिक सांसद हेमा बेलबासे के.सी र सांसद सन्तोषकुमार पाण्डेमध्ये एक जनालाई छान्नुपर्ने दबाबमा छन् । बानिया शुक्लालाई संघीय सांसद जिताउने मर्चवारका मुख्य खेलाडी हुन् । उनलाई पाखा लगाएमा आगामी संसदीय निर्वाचनमा शुक्लाले धेरै चुनौती खेप्नुपर्ने हुन्छ ।
पाण्डे शुक्लालाई आवश्यक पर्दा आर्थिक सहयोग जुटाइदिने गर्छन् । विगतमा पार्टी निर्देशन विपरित शंकर पोखरेल नेतृत्वको सरकारलाई सहयोग गरेबापत मोटो रकम बुझेर केही रकम शुक्लालाई बुझाएको आरोप उनीमाथि छ । सोहीकारण पाण्डे पार्टी कारबाहीबाट बचेका थिए । उता हेमा बेलबासे शुक्लाको स्कूलिङमै राजनीति गरिरहेकी छन् ।
मर्चवारका चिया पसलमा गफिनेहरु यतिबेला शुक्लाजीकै बारेमा छलफल गर्न थालेका छन् । शुक्ला मर्चवारमा चिफ सापको उपनामले परिचित छन् । मन्त्री छान्न चिफ सापलाई निल्नु न ओकल्नु भएको बताउँछन् स्थानीय । शुक्लाको निर्णय पर्खिरहेको काँग्रेस एमाले गठबन्धनले सकेसम्म मन्त्रिपरिषद्मा महिला मन्त्री नभएकाले सोहीअनुसार सिफारिसका लागि अनुरोध गरेको बुझिएको छ । लोसपाका तीन जना प्रदेशसभा सदस्यमध्ये सबैभन्दा बढी अध्ययनशील,सामाजिक संघसंस्थामा लामो अनुभव,प्रदेश सभामा सैद्धान्तिक र तर्कसँगत कुराहरु राख्नसक्ने क्षमता हेमा बेल्बासे केसीमा देखिन्छ । त्यसैले उनलाई महिला तथा बालबालिका मन्त्री बनाउँदा लोसपालाई पनि राम्रो हुने र प्रदेश सरकारलाई पोर्टफोलियो व्यवस्थापन गर्न सहज हुने देखिएको हो ।
यसअघि पटक पटक मन्त्री बनेका पाण्डेका सम्बन्धमा गठबन्धनका मुख्य घटक काँग्रेस एमाले सकारात्मक देखिँदैनन् । यसअघि दुबै दललाई राजनीतिक धोका दिएको आरोप उनीमाथि अहिले पनि छ ।
विगतमा भैरहवाको होटल मौर्यमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, डिल्ली चौधरी सहितका काँग्रेस र वर्षमान पुन, जोखबहादुर महरा सहित माओवादीको नेतृत्वको बैठकमा रहेका उनले झुक्काएर शंकर पोखरेललाई बुटवल पुगेर सहयोग गरेको आफूहरुले नबिर्सेको काँग्रेसीहरु बताउँछन् । त्यतिबेला माओवादी, काँग्रेसले पाण्डेको सहयोगमा शंकर पोखरेलको सरकार ढालेर नयाँ सरकार गठन गर्ने अन्तिम तयारी गरेका थिए ।
उनको दल लोसपाको पनि लाइन त्यतिबेला काँग्रेस माओवादीलाई समर्थन गर्ने थियो । तर पाण्डेले ठीक उल्टो गरेर मन्त्री पद उछिट्याएका थिए । योसँगै एमाले पनि पाण्डेको त्यतिबेलाको गिभ एण्ड टेकको राजनीतिसँग परिचित भएकाले अहिले सन्तुष्ट देखिँदैन ।
एमालेमा संसदीय दलका नेता लिला गिरी हुँदाहुँदै उपनेता चेतनारयण आचार्य मुख्यमन्त्री बनेका हुन् । सोही कारण अन्य दलका पनि संसदीय दलका नेता मन्त्री बन्ने सम्भावना न्यून देखिन्छ । विगतमा मन्त्री भएर जता गए पनि जनताको मागमा ‘हो जायगा, हो जायगा’ भनेर वचन दिएका पाण्डे आफ्नो निर्वाचन क्षेत्रमा ढँटुवा मन्त्रीको रुपमा दर्ज भएको बताइन्छ ।
कुल ८७ जना सदस्य रहेको लुम्बिनी प्रदेश सभामा एमालेका २९ र काँग्रेसका २७ छन् । आचार्यको समर्थनमा लोसपाका तीन, जसपा यादव समूहको एक, जसपा राई समूहको दुई, नागरिक उन्मुक्ति पार्टीको चारजना सदस्य छन् ।
टिप्पणीहरू