केपी ओली र माधव नेपाल एकै ठाउँ

केपी ओली र माधव नेपाल एकै ठाउँ

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेकाे चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ । आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको आज ट्रेलर सार्वजनिक गरिएको हो । 

एसिड आक्रमणको कथा प्रस्तुत गरिएको ट्रेलरमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानबहादुर शाहीको अतिथि भूमिका रहेको छ । करिब साढे २ मीनेटको ट्रेलरमा एसिड पीडितको दृश्य देखिएको छ । त्यस्तै,पीडितलाई न्याय दिनुपर्ने मागसहित सडक आन्दोलन भएको दृश्य पनि देखाइएको छ । 

पूर्वप्रधानमन्त्री नेपालको संवाद छ, ‘अपराध गर्नेले दण्ड भोग्नैपर्छ !’ त्यस्तै,  सांसद पौडेलले ‘सामजिक अपराध गर्ने व्यक्तिहरुलाई हामी कानुनी दायराभित्र ल्याउँछौं ’ भनेका छन् । ‘अहिले तपाईंहरु जसरी एसिड पीडितहरुको आन्दोलन छ,यसमा मेरो पूर्ण ऐक्यबद्धता छ’ भन्ने सांसद शाहीको संवाद पनि ट्रेलरमा देखाइएको छ । 

ट्रेलरको अत्यमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तपाईंहरुले अवश्य पाउनुहुन्छ न्याय,म दिन्छु न्याय ।’ फिल्ममा एसिड आक्रमण गर्नेमाथि कारवाही गर्न कडा कानुन बनाउनुपर्ने, एसिड बेचबिखनमा प्रतिबन्ध लगाउनुपर्नेजस्ता सन्देश दिन खोजेको ट्रेलर हेर्दा थाहा हुन्छ । 

अभिनेता रमित ढुंगानाले निर्देशन गरेको चलचित्रलाई शिवम अधिकारीले लेखेका हुन् । चलचित्रमा प्रहरी उपरीक्षकद्वय बालसिंह राणा र कुमोद ढुंगेल,प्रहरी निरीक्षक जेआर शर्मालगायतले अतिथि कलाकारको भूमिका निभाएका छन् । त्यस्तै,मुस्कान खातुन,प्राप्ति पौडेल,इभा गिरी,कमल देवकोटा,सन्दीपबाबु लोहनी,रचना गौतम,प्रभात ठकुरी, आरती आचार्यलगायतको पनि अभिनय रहेको छ ।
 

टिप्पणीहरू