विप्लवको पार्टी चरम आर्थिक संकटमा

विप्लवको पार्टी चरम आर्थिक संकटमा
सुन्नुहोस्

पार्टी चरम आर्थिक संकटबाट गुज्रनु परेपछि चन्दा संकलनमा जुटेका नेत्रविक्रम चन्द विप्लवलाई मिडियाकर्मीको फोनसमेत उठाउने फुर्सद हुन छाडेको छ । अघिल्लो मंगलबार विप्लवको नाम लिँदै जनआस्था सम्पादक किशोर श्रेष्ठको ज्यान लिने र कार्यालय बमले उडाउने धम्की लगातार आउन थालेपछि पार्टीको धारणा बुझ्न खोज्दा सहयोगी, ‘अडिग’ले उहाँ मिटिङमा व्यस्त हुनुहुन्छ भन्दै फोन काटेका थिए । 

स्रोतका अनुसार, कृषि उत्पादनका नाममा हरिसिद्धि अस्पतालछेउ कम्युन सञ्चालन गर्ने योजनाले पनि सफलता प्राप्त गर्न नसकेपछि सो पार्टी आर्थिक संकटबाट गुज्रिरहेको छ भने दुःख मोचनबारे छलफल गर्न त्यस दिन बिहानैदेखि उपत्यकाभरिका नेता तथा कार्यकर्ता विप्लवसामु भेला भएका थिए । सो भेलामा घरभाडा र लिएको ऋण तिर्नुपर्नेबारे युवा, विद्यार्थीसँग ब्रिफिङ लिँदै आर्थिक संकलनका लागि जिम्मेवारी तोकिएको बताइन्छ ।

यसै मेसोमा उनका केही कार्यकर्ता विभिन्न व्यापारीलाई धम्क्याउँदै कमाउ धन्दामा ओर्लिए । यस्तै काममा लागेका कमल सिजापतिले जनआस्थाका सम्पादकलाई ज्यान मार्ने र कार्यालय उडाउने धम्की दिएकाले किन यस्तो भनेर बुझ्न फोन गर्दा कुनै व्यापारीलाई जोगाइदिन सिफारिस आएको हुनुपर्ने आशंकामा विप्लव छड्किएर हिँडेको दावी स्रोतले गरेको छ । फोन उठाउँदा जवाफ दिनुपर्ने र नउठाएर टन्टा साफ हुने भएरै उनी प्रतिक्रियाविहीन भएको बताइन्छ । 

त्यसो त राजनीतिक चरित्र बोकेका विप्लवका पूर्वविद्यार्थी नेताहरू चाहिँ धर्मेन्द्र बाँस्तोला र सुदर्शनसँगै चितवनको बैठकमा जुटेका छन् । इजी मनीको लत बसेकाहरू भने बुद्धनगरमा कार्यालय खोलेर यति नम्बरमा तेरो उजुरी छ भन्दै कलेजका प्रिन्सिपलहरुलाई मसेत थर्काउने धन्दामा उत्रिएका देखिन्छन्् । यस्तै कमाउ धन्दामा संलग्न रहेका कमल सिजापति सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको आदेशले छुटे पनि उनीबारे थप अनुसन्धान भने प्रहरीद्वारा जारी नै छ । त्यसपछि मुद्दा दर्ता हुनेछ ।

यसबीच ललितपुरको कुसुन्तीनिवासी पूर्व एसपी तथा हाल युएनमा कार्यरत गोरख भण्डारीले विप्लव पार्टीको दोस्रो वरियताका नेता खड्गबहादुर बिक उर्फ प्रकाण्डबाट भाडा उठाउन नसकेपछि घरजग्गा बेचेरै पिण्ड छुटाउन बाध्य भएको बताइन्छ । भण्डारीले भाडा तिर्न या त कोठा छाड्न बारम्बार आग्रह गर्दा पनि प्रकाण्डले अटेर गरेका थिए । यो समूहले चार महिनाअघि कपिलवस्तुमा पनि एक जना मध्यमवर्गीय परिवारको जग्गामा झण्डा गाडेर चन्दा असुल्ने प्रयास गरेको थियो । त्यसमा संलग्न रहेको आरोपमा चितवनबाट एक जना पक्राउ परेका छन् भने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पनि चन्दा माग्दै धम्क्याएको बताइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू