प्रभुरामलाई खैरो प्यारो

प्रभुरामलाई खैरो प्यारो

प्रधानसेनापति प्रभुराम शर्मा भदौ पहिलो हप्ता लागेपछि मात्र ललितपुरको झम्सिखेलस्थित सरकारी निवास शशीभवन छाडी निजी निवासमा सर्ने तयारी चल्दैछ । सीतापाइलास्थित निजी निवासको मर्मतसम्भार र व्यवस्थापनको क्रम चलिरहेकाले सर्न समय लाग्ने भएको हो ।

ज्योतिषीलाई हेराएर मास्टर बेडरुमका दराज र केही सामान साइतमै सारिए पनि केही दिनदेखि नै भइरहेको मर्मतसम्भारको काममा ढिलाई भएकोले मिस्त्री थपेर काम गराइएको छ । पार्केटिंग र फल्स सिलिंगको काम लगभग सकिने चरणमा छ । झ्याल, पूरै घरमा पहेँलो र खैरो रंगरोगन, ग्यारेज मर्मतसम्भार र विस्तार तथा प्रवेशद्वारको पनि बन्दोबस्त भइरहेको छ ।

मूल ढोकालाई दूर नियन्त्रण प्रणालीबाट चलाउने गरी पुनर्निर्माण गरिँदै छ । ग्यारेज र निवास परिसरभरि नै बत्तीको जडान कार्य पनि जारी छ । भूतपूर्व सेनापतिको सुरक्षा र अन्य बन्दोबस्तीका लागि १ प्लाटुन सैनिक खटाउने चलन छ । एक प्लाटुनमा ३९ जना हुने भए पनि बढीमा २०/२२ जना मात्र निजी निवासमा खटिने गरेका छन् ।

रुक्मांगद कटवालको लागि २० जनाजति खटाइएको छ । पूर्णचन्द्र थापाले शुरुमा जम्मा ६ जना मात्र भए पुग्ने भने पनि अहिले १८ जना तैनाथ छन् । लमजुङ गाउँशहरस्थित घरमा २ जना, लैनचौरमा २ जना र बूढानीलकण्ठस्थित आफैँ बसिरहेको निवासमा अरु सैनिक खटिएका छन् ।

राज्यले भूपू सेनापति मात्र नभएर एकचोटी प्रधानमन्त्री र प्रधानन्यायाधीश भैसकेकालाई पनि जीवनको अन्तिम अवस्थासम्म अत्याधुनिक सुविधायुक्त सवारी साधन र सुरक्षाकर्मी उपलब्ध गराउँछ । सेनामा भने तीनतारे जर्नेललाई भान्छे, अर्दलीसहित अवकाशमा जाँदा प्रयोग गरिरहेको सवारीसाधन समेत दिइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू