प्रचण्डलाई पाप लागेको बात

प्रचण्डलाई पाप लागेको बात

शान्ति प्रक्रियाअन्तर्गतको सर्वाधिक महत्वपूर्ण काम सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन बनाउने विषय अब भने टुंगोमा पुगेको छ । बृहत् शान्ति–सम्झौतामा उल्लेख भएको तर अनेकौं स्वार्थ र समस्याका कारण बिट मार्न नसकिएको यो विषयमा नयाँ सरकार बनेलगत्तै प्रमुख दलहरू सहमतिमा पुग्नुको पछाडि केही कारण छन् ।

एमाले र कांग्रेस मिलेर संसद्को बाँकी कार्यकालका लागि सरकारको भागबण्डा गर्दै आगामी चुनावमा साना दलको नामोनिशान मेट्ने रणनीति निर्माण गरेपछि माओवादी पनि आत्तिएर जे जे दिन्छन् त्यो लिने र अहिले नै कुरा टुंग्याएर सुरक्षित बन्ने निश्कर्षमा पुग्दा बिबादका विषयमा सहमति जुटेको हो । उच्च स्रोतका अनुसार एमाले–कांग्रेसले राखेका सबै प्रस्तावमा सहमति जनाउँदै माओवादीले काम फत्ते गरेको छ । 

उदाहरणको लागि मेलमिलाप गर्ने सन्दर्भमा यदि पीडित र पीडकबीच स्वतन्त्र सहमति नभए के गर्ने भन्ने विषयमा कुरा मिल्न सकेको थिएन । एमाले–कांग्रेसको त्यस्तो अवस्था आए सबै घटनालाई अदालतमा पठाइदिनुपर्छ भन्ने भनाइ रहँदै आएको थियो । माओवादीले चाहिँ त्यसो गर्दा सबै मुद्दा अदालत जान्छन्, त्यसैले यो मान्य छैन भन्दै रह्यो ।

अन्ततः यदि त्यस्तो अवस्था आएको खण्डमा महान्यायाधिवक्तासमक्ष पठाउने सहमतिमा सबै पक्ष पुगेका छन् । त्यो भनेको घुमाउरो पाराले अदालत जाने भन्ने नै हो । माओवादीले यसमा लाज लुकाएको छ भने बाल सेनाको विषयमा के गर्ने भनेर छलफल हुँदा माओवादीले क्षतिपूर्तिस्वरूप राहत दिएर मिलाउनु पर्छ भन्दै आएको थियो । यसमा सेनालाई समेत राहत दिन माओवादी तयार भएपछि कुरा मिलेको हो । 

यो मामिलामा सजायँँ कम गर्ने (घटी सजायँ) को सवालमा कांग्रेसले पहिले नै लगभग सहमति जनाएकोमा एमालेले मानेको थिएन तर अहिले उसले पनि अडान छाडेको छ । फलतः २५ प्रतिशत मात्र सजायँ तोक्ने सहमतिमा दलहरू पुगेका छन् । कस्तो मृत्युलाई गम्भीर मानव अधिकार उल्लंघन भएको मान्ने भन्ने कुरामा नियतवस तथा स्वेच्छाचारी ढंगले गरिएको हत्यालाई मान्ने भनिएको छ । 

यसअघि ओलीले यो विषयमा हलो अड्काउने काम गर्दै आएका थिए भने प्रचण्डले पनि खासै पहलकदमी लिएका थिएनन् । अहिले आफ्नै पालामा काम फत्ते गरेको जस लिने ओलीको इच्छा र अब पनि यो घाऊ त्यसै छोडियो भने क्यान्सर बन्छ भन्ने प्रचण्डमा उब्जिएको त्रासले विषयलाई किनारमा पु¥याउन सम्भव भएको माओवादी नेताहरूको ठम्याई रहेको देखिन्छ । 

स्रोतका अनुसार प्रचण्डले अझै पनि यो कुरालाई खासै चासोमा राखेका थिएनन् । तर, जनार्दन शर्मालगायत नेताले ‘यसो गरौँ र कुरा सकौं’ भन्ने प्रस्ताव राख्दा उनी सकारात्मक बनेका हुन् । दोस्रो तहका माओवादी नेताहरू भन्छन्– अहिले सबैतिरबाट लखेटिएर भिजेको मुसोको हालतमा पुगेपछि मात्रै हो नत्र प्रचण्डले नै पनि आफ्नो उपादेयता देखाई राख्न सत्य निरूपणको विषयलाई जीवितै राख्दै थिए । यसरी आफ्नै पार्टीका नेताहरूको कुरा सुन्ने अवस्थामा उनी हुने नै थिएनन् । 

त्यसो त जनार्दन शर्मा र प्रचण्डबीच माओवादीमा कडा द्वन्द्व जारी छ । हालैको पदाधिकारी बैठकमा पनि जनार्दनले प्रचण्डलाई ‘अब तपाईं वैचारिक नेतृत्व गर्नुस्, संगठनको काम अरुलाई दिनुस्’ भन्ने प्रस्ताव राखेपछि त झन् पानी बाराबारकै अवस्था बनेको अन्य नेता टिप्पणी गर्छन् ।

जनार्दनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण गर्दै आफू संयोजक बनेर महाधिवेशन घोषणा गर्न प्रचण्डलाई सुझाव दिएका थिए । माओवादी नेताहरू सो बैठकको परिदृश्यबारे रोचक ढंगले भन्छन्, ‘जनार्दनले प्रचण्डलाई सत्ता आए तपाईं नै खानुस्, वैचारिक कुरा पनि तपाईं नै गर्नुस् तर संगठनको कामचाहिँ अब तपाईंबाट हुँदैन । नेतृत्व पनि अब अरुलाई नै दिँदै जानुपर्छ । पुस्तान्तरण गर्ने आँट गरेर पार्टी जोगाउनुहोस् ।’ भन्दै सीधै धावा नै बोलेका थिए ।

माओवादी नेता भने प्रचण्ड आफ्नो गल्ती नस्वीकार्ने बरु उल्टै आरोप÷प्रत्यारोपमा उत्रने गरेको बताउँछन् । उनीहरूले प्रचण्डलाई देउवाले कुनै अप्ठ्यारो नपारेको बरु प्रचण्डले नै जान्ने भएर गठबन्धन बदलेको कारण हालको हालत बनेको भन्दै आएका छन् । जे गर्छु भन्दा पनि ‘हुन्छ, गर भन्ने’ सजिला देउवालाई धोका दिएको पाप प्रचण्डलाई लागेको माओवादी नेताहरूको निश्कर्ष छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू