सेनाको हेलिकप्टर रातारात भारततिर

सेनाको हेलिकप्टर रातारात भारततिर

घर जान लागेका र नयाँ बन्न लागेका सेनापतिबीच संक्रमणकालको चेपुवामा विचौलियाहरुले नेपाली सेनाको एउटा हेलिकप्टर आरए–५७ मर्मत गर्ने भन्दै फुकालफाकाल पारेर रातारात भारत पुर्‍याएका छन् ।

सो हेलिकप्टर मर्मत गर्ने अख्तियारी र लाइसेन्स नै नभएको कम्पनीलाई यसको जिम्मेवारी दिएर वीरगञ्ज भन्सार नाका हुँदै मुम्बई पठाइएको स्रोतको दावी छ । मर्मतको ठेक्का लिएको भारतीय कम्पनी भोल्गा इन्टरनेशनल एजेन्सीको लाइसेन्स नवीकरण नभएका कारण छलछाम गरी एकैरात वीरगञ्ज हुँदै सीमाना कटाइएको सो हेलिकप्टरसँग सेनाकै दुई जना इञ्जिनियर पनि गएका छन् । इञ्जिनियरहरूलाई एजेन्सीका प्रतिनिधिहरूले आवश्यक कागजात ओरिजिनल इक्युपमेन्ट म्यानुफ्याक्चरर (ओइएम) नै नदेखाएको बताइन्छ । यो कागजात रसियन कम्पनीले लाइसेन्सप्राप्त कम्पनीलाई दिनुपर्ने हो । तर, त्यस्तो अधिकार भोल्गासँग नभएको बताइन्छ । गुगल सर्च गर्दा पनि भोल्गा कम्पनी मार्केटिङ एजेन्सीको रूपमा मात्र चिनिन्छ । 

पछिल्लो पटक पठाइएको हेलिकप्टरसँगै गएका इञ्जिनियरलाई पनि तिमीहरूले कागज हेर्ने जहाज होइन हेर्ने हो, कागजात मिलाउन अर्को टोली आउँछ, चिन्ता नलिई काम हेर्नु भन्ने उर्दी जाँदाजाँदैका प्रधानसेनापति प्रभुराम शर्माले लगाएको बताइन्छ । मर्मत गरेपछि हेलिकप्टर उडे पनि कम्पनीले सुरक्षित छ भनी प्रमाणित नगर्दासम्म थापाकाथीहरुले कसरी नेपाल ल्याउने हुन् भन्ने प्रश्न उठेको छ । आधिकारिक संस्थामा मर्मत नगरेकोले हेलिकप्टर दुर्घटना हुँदा कम्पनीले विमालगायत अन्य सुविधा कसरी दिन्छ प्रष्ट छैन । 

स्मरणीय छ, ४२ लाख भारुमा मर्मत गर्न भनी एकवर्ष अगाडि पठाइएको हेलिकप्टर कहिले आउने हो टुंगो छैन । भोल्गा इन्टरनेशनलसँग सेनाले मर्मतका लागि यसपटक ७५ करोड भारुमा सम्झौता गरेको बताइन्छ । पहिलो हेलिकप्टर ४२ करोड भारुमा मर्मत गर्ने सम्झौता हुँदा स्पेयर पार्टसलगायत कम्पनीले फेर्नेतय भएको थियो । अहिले ती पार्टसलगायत सामग्रीबारे थप सम्झौता रकममा केही उल्लेख नभएको बताइन्छ । 

‘रामदेव’लाई पाखा लगाउँदै हरदेव ह्वात्तै

नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटीले केही महिनाअघि दार्चुलाको भूगोलका नेताहरू रामदत्त जोशी र हरदेव जोशीलाई पार्टी केन्द्रीय निकायको जिम्मेवारी दिन सिफारिस गरेकोमा हरदेवलाई मात्रै केन्द्रीय सदस्य बनाइएको छ । साउन १७ गते केन्द्रीय सचिवालयको ३४ औं बैठकले १७ जनालाई नयाँ केन्द्रीय सदस्य बनाउँदा हरदेव जोशीले छोटो समयमै अवसर पाएका हुन् । 

गिरिजा नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री हुनुअघि दिल्लीमा उपचार गराउँदा सम्पर्क भएका हरदेव त्यहाँदेखिनै केपी ओलीको नजर र प्राथमिकतामा पर्दै आएका छन्् । जनआन्दोलन ०६२÷६३ अघि ओलीले दिल्लीमा मिर्गाैला प्रत्यारोपण गर्दा हरदेवले ओलीको उपचारमा महिनौँसम्म सेवा गरेका थिए । 

गणतन्त्र आएसँगै महाकाली अञ्चल समन्वय कमिटी सदस्य बनाइएका हरदेवलाई केपी ओलीले दार्चुला जिल्लामा मदन भण्डारी फाउण्डेशन स्थापना गर्न लगाएर त्यसको अध्यक्ष बनाएका थिए । पार्टी एकतापछि बनेको नेकपा प्रदेश कमिटीमा पनि उनले स्थान पाए । ०७९ मंसिरको निर्वाचनमा जिल्लाभरका नेता–कार्यकर्ताको इच्छाविपरीत बालकोटले प्रदेशसभा–१ मा हरदेवलाई उम्मेदवार बनाएको थियो । 

दार्चुलाका नौमध्ये ६ तहमा एमाले उम्मेदवार विजयी भएको पृष्ठभूमिमा केन्द्रीय नेतृत्वले प्रदेशतिर हरदेवलाई उभ्याएको थियो । हरदेवलाई उठाएकै कारण जनता र कार्यकर्तामाझ लोकप्रिय छवि बनाएका नेता गणेशसिंह ठगुन्नाले प्रतिनिधिसभा निर्वाचनमा पराजय भोग्नुपरेको विश्लेषण गरिँदै आएको छ । उम्मेदवारी चयनमा पार्टी निर्णय सच्याउन महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसम्म प्रयास गरे पनि ठगुन्ना असफल भएका थिए । अध्यक्ष ओलीले ‘स्थानीय निर्वाचनमा काग्रेस–माओवादी गठबन्धनलाई हराउने एमालेहरूले हरदेवलाई कसरी हराउँछन् ? अरु एमाले जित्ने तर हरदेव मात्रै हार्ने ? यो कसरी हुनसक्छ ?’ भन्दै हरदेवको उम्मेदवारी कायम गराएका थिए । 

स्थानीय निर्वाचनअन्तर्गत दार्चुलाको प्रदेशसभा–१ मा पर्ने पाँच वटै स्थानीय तहमा एमाले उम्मेदवार विजयी भए । महाकाली नगरपालिका र व्यास, दुहुँ तथा मालिकार्जुन गाउँपालिकामा नेतृत्वसहित अधिकांश जनप्रतिनिधि एमालेकै छन् । लेकम गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्रले जिते पनि उपाध्यक्षसहित बहुमत जनप्रतिनिधि एमालेकै छन् । एमालेले देशभरको चुनावी प्रचार अभियान दार्चुलाबाट शुरु गर्‍यो । कालापानीको भूगोल रहेको जिल्लाबाट चुनावी सभा शुभारम्भ गर्न केपी ओली २०७९ कात्तिक १८ गते हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम पुगेका थिए । भीडबाट उत्साहित उनले कांग्रेस उम्मेदवार दिलेन्द्रप्रसाद बडूको नाम लिएर चुनावअघि नै पराजय स्वीकार्न भनेका थिए । 

त्यही सभामा ओलीले प्रदेशसभा–२ का एमाले उम्मेदवार रामदत्त जोशीलाई ‘रामदेव जोशी’ भनेका थिए । दार्चुला एमालेको संस्थापक जिल्ला सचिव रहेका जोशीको नाम अध्यक्षले स्पष्ट नभनेपछि धेरैजसोले अचम्म माने । हरदेव जोशीको नाम स्पष्ट र पटक–पटक उच्चारण गरेका केपीले रामदत्त जोशीको नाम चारपटक सच्याउनु परेको थियो । शुरुमा ‘रामभक्त जोशी’ भनेका ओलीले त्यसपछि ‘रामदेव जोशी’ भने । मञ्चमा रहेका नेताहरूले नाम फरक परेको संकेत गरेपछि फेरि हतारिएर ‘रामसिंह जोशी’समेत भने । चौथोपटक मात्रै उच्चारणमा रामदत्त जोशी आएको थियो । 

प्रतिनिधिसभाका साथै दुइटै प्रदेशसभामा पराजय भएपछि नेतृत्वको चयन गलत सावित भएको धेरैले बताए । तर खुलेर यसबारे आलोचना गर्ने र प्रश्न उठाउने हिम्मत कसैले गरेनन् । गत वर्षको प्रदेश अधिवेशनमा हरदेव र रामदत्त दुबैले एउटै पदमा उम्मेदवारी दिए । दुबैले उपसचिव पदमा दाबेदारी पेश गरेपछि पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले कसैलाई पनि समर्थन गरेनन् । केही दिन लम्बिएको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दा यी दुबै नेता कमिटीमा अटाएनन् । 
६ महिनाअघि प्रदेश कमिटीमा दर्जनौं सदस्य मनोनीत गरिँदा पनि यी दुबै नेता समेटिएनन् । यी दुबैभन्दा धेरै जुनियर एक दर्जन नेतालाई भने प्रदेश कमिटीमा राखियो । 

हरदेवभन्दा डेढ दशकअघिदेखि राजनीतिमा सक्रिय रामदत्त पटक–पटक जिल्ला नेतृत्वमा बसिसकेका पात्र हुन् । एक दशकअघि नै अध्यक्षसमेत बनिसकेका उनी दुईपटक जिविस सदस्य थिए । चुनावीसभामा केपीले रामदत्तलाई रामदेव, रामभक्त र रामसिंह भन्दा अचम्म मानेका नेता–कार्यकर्ताहरू हरदेवको केन्द्रीय सदस्यमा नियुक्ति र रामदत्तको उपेक्षाले थप अचम्मित बनेका छन् । नेतृत्व चयन र जिम्मेवारी बाँडफाँडमा सही भूमिका निर्वाह गर्न नसकेको भन्दै पछिल्लो समय रामदत्त जोशी पोलिटब्युरो सदस्य ठगुन्नासँग पनि रुष्ट छन् । साउन १७ गतेको नयाँ जिम्मेवारी बाँडफाँडअन्तर्गत दार्चुला जिल्ला इञ्चार्ज बनेका ठगुन्नालाई उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाईसमेत दिएका छैनन् । सुदूरपश्चिमका ७ जिल्ला इञ्चार्जहरूको नामावलीसहित बधाई दिएका जोशीले दार्चुला इञ्चार्ज ठगुन्ना र बाजुरा इञ्चार्ज लालबहादुर थापालाई मात्रै बधाई नदिएका हुन् । 

हरदेवले केन्द्रीय सदस्यका साथै प्रदेशसभा–२ को भूगोल इञ्चार्ज पनि पाएका छन् । गत फागुन–चैत्रमा प्रदेशसभा–२ अन्तर्गतका स्थानीय तहमा पार्टी अधिवेशन गर्दा हरदेवसहित उनको टिमलाई एमालेको जिल्ला नेतृत्वले बहिष्कार गरेको थियो । पालिकास्तरका कार्यक्रममा सहभागी हुन खोज्दा जिल्ला पदाधिकारीहरूले अनावश्यक भन्दै रोक लगाएका थिए । 
जिल्लाको दोस्रो ठूलो बजार गोकुलेश्वरबाट हरदेव जोशीसहित पूर्व जिल्ला अध्यक्ष प्रेमसिंह धामी र पूर्व जिल्ला उपसचिव खडकसिंह बडाललाई जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तिसहितका पदाधिकारीले फिर्ता पठाएका थिए । तत्कालीन जिल्ला इञ्चार्ज रहेका केन्द्रीय सदस्य सहदेव बोगटीमार्फत हरदेव टिमको भ्रमणमा अंकुश लगाइएको थियो । 

छ महिनाअघि आफूलाई निषेध गरिएको भूगोलकै पार्टी इञ्चार्ज भएर हरदेव केन्द्रीय सदस्यको भूमिकामा उदाएका छन् । ‘नेता–कार्यकर्ता र जनताको भावनाविपरीतका अभ्यासले दिने नतिजा समय क्रममा सबैलाई क्षति पुर्‍याउन पर्याप्त हुने छ’ एक जिल्ला नेताले भने, ‘ हाइकमाण्डले लादेपछि अहिले हामी केही बोल्न र गर्नसक्ने अवस्थामा छैनौं, हेर्दै जाऊँ, यो अभ्यासले हामीलाई कहाँ पुर्‍याउँछ ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू