गीत सङ्गीतसङ्ग आन्दोलनकारीलाई के को रिस ?

गीत सङ्गीतसङ्ग आन्दोलनकारीलाई के को रिस ?

गायक-गायिकालाई भावना र संवेदनाले चाँडै छुन्छ । त्यसैमाथि उनीहरुको लागि बाजा (धुन) हरु सर्वप्रिय हुन्छन् ।

एउटा गायकले वर्षौदेखि संग्रह गर्दै आएका तीन हजार बढी बाजा खरानी भयो भने,उसको हालत के  होला ? यही लाचार समयबाट ग्रसित बनिरहेका छन्,बंगलादेशका चर्चित गायक राहुल आनन्द । 

आरक्षण कोटाको विरोधमा चलेको एक महिने आन्दोलनले गायक आनन्दलाई घर न घाटको बनाइदिएको छ । गत साता आन्दोलनकारीले ढाकाको धनमोन्डीस्थित उनको घरमा छिरेर ३१ सय बाजा मात्र भताभुंग पारिदिएनन्,घरमै आगो लगाइदिए । गत वर्ष मात्र फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोनले डिनर गरेको उक्त घर अहिले खरानी भएको छ । 

‘तपाईंसँग कुनै व्यक्तिगत प्रतिशोध थिएन । भीडको आक्रोशमा घर परेको हो । धुनहरु फेरि बनाउन सकिन्छ, बाजाहरु फेरि बनाउन सकिन्छ, तपाईं फर्केर आउनुस् ।’

१४० वर्ष पुरानो इतिहास बोकेको उक्त घरलाई शेख हसिना नेतृत्वको सरकारले सांगीतिक संग्रहालय घोषणा गर्ने तयारी हुँदै थियो । गायक आनन्दको पुर्ख्याैली तीन पुस्ता संगीतमा थिए । खासगरी बाजे चर्चित शास्त्रीय र भजन गायक थिए । उनले बंगलादेश पाकिस्तानबाट स्वतन्त्र हुनु अघि नै उक्त घर बनाएका थिए । त्यसयता आनन्दको परिवारले संगीतका पौराणिक र आधुनिक गरी करिब ३१ सय बाजालाई त्यस घरमा संकलनसहित सुरक्षित राखेको थियो । 

गायक आनन्दले केही वर्षअघि मात्र नयाँ घर बनाए । र,पनि उनी त्यही पुरानै घरमा बस्दै आएका थिए । आनन्दको पनि युवापुस्तामा छुट्टै क्रेज छ । उनका करोडौँ शुभचिन्तक छन् । कन्सर्टका लागि देशविदेश घुमिरहन्छन् । तर आन्दोलनकारीले पुर्ख्याैली घरमा आगो लगाइदिएपछि अहिले बेपत्ता छन् । उनी बंगलादेशमै छन् वा अन्यत्र गए, यसबारे केही नखुलेको अन्तर्राष्ट्रिय  सञ्चारमाध्यमले जनाएका छन् । 

यता केही आन्दोलनकारीले पनि आनन्दको पुर्ख्याैली घर जलेपछि सहानुभूति व्यक्त गरेका छन् । आक्रोशमा उर्लिएको भीडको आँखा नहुने भन्दै केही विद्यार्थी नेताले आत्मालोचना पनि गरेका छन् । उनीहरुले भनेका छन्, ‘तपाईंसँग कुनै व्यक्तिगत प्रतिशोध थिएन । भीडको आक्रोशमा घर परेको हो । धुनहरु फेरि बनाउन सकिन्छ, बाजाहरु फेरि बनाउन सकिन्छ, तपाईं फर्केर आउनुस् ।’

टिप्पणीहरू