कोशी प्रदेशसभा : राजनैतिक अस्थिरताको बन्धक
राजनैतिक अस्थिरताको बन्धक बनेको कोशी प्रदेशसभाको बैठक यथासक्य छिटो बोलाउन मुख्य प्रतिपक्षी दल माओवादी केन्द्रले माग गरेको छ । माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले अधिवेशन तत्काल माग गरेका हुन् । राजनैतिक अस्थिरतापछि बन्धक बनेको प्रदेश सभाको वर्षे अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
बर्खायाममा प्रदेशमा बाढीपहिरो, डुबानलगायत प्र्राकृतिक विपत्तिका घटना बढेको र सरकारले पारित गरेका नीति कार्यक्रम र नयाँ बजेट कायान्वयन अवस्थाबारे नागरिकलाई जानकारी गराउन आङबोको माग छ । उनले भने, ‘जनप्रतिनिधिको मुख्य थलो प्रदेशसभा बन्धक भएको लामो समय भइसकेको छ । जनताका लागि विना कुनै बहाना अविलम्ब प्रदेश सभाको बैठक सुचारु गरियोस् ।’
स्थगित सभाको बैठक तत्काल बोलाउन माओवादी केन्द्रले कोशी प्रदेश सभाका सभामुख अम्मरबहादुर बिष्टको पनि ध्यानार्कषण गराएको छ । प्रदेश निजामती ऐनलाई संशोधन गर्न बनेको विधेयक, तत्कालीन सरकारले केही प्रदेश ऐन संशोधन गर्न ल्याएको अध्यादेशलगायत अत्यावश्यक विधेयकहरु प्रदेश सभामा अलपत्र छन् ।
पाँचौ अधिवेशनको वर्षे बैठक असार ८ गतेदेखि सरकार फेरबदलको कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ । राजनैतिक अस्थिरताका कारण पटक पटक सरकार फेरबदल भइरहँदा जनताको आवाज उठाउने र कानुन निर्माण गर्ने थलो बन्धक बनेको हो । प्रदेश सभाको दोस्रो कार्यकालको डेढ वर्षमा छ जना मुख्यमन्त्री र ४३ जना मन्त्री बनिसकेका छन । यसबीचमा १३ पटक सरकार विस्तार भइसकेको छ ।
दोस्रो कार्यकालको डेढ वर्षमा पाँचवटा अधिवेशनमा दुई विशेषसहित जम्मा ६२ वटा बैठक ११७ घण्टा मात्र बसेको छ । चालु कार्यकालमा कोशी प्रदेश सभाले एउटा मात्र कानुन निर्माण गरेको छ ।
टिप्पणीहरू