माओवादी बैठकमा जनार्दन शर्माको लिखित प्रस्ताव- पार्टीको नाम र चुनाव चिन्ह फेरौँ
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम र चुनाव चिन्ह फेर्न प्रस्ताव गरेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा उनले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् ।
शर्माले न्याययुक्त समाज निर्माणका लागि पार्टीलाई अघि बढाउन चार आधारअन्तर्गत पार्टीको नाम र चुनाव चिन्ह बदल्ने प्रस्ताव अघि सारेका हुन् । ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकको १४ पृष्ठ लामो प्रस्तावमा वर्तमान परिवेश तथा कामअनुरुप तालमेल मिलाउन पार्टीको नाम र जनताले सहजै स्वीकार गर्न सक्ने चुनाव चिन्ह राख्नुपर्ने उल्लेख छ ।
त्यस्तै, वामपन्थी तथा प्रगतिशील शक्तिबीचको सहकार्यमा जोड दिँदै उनले आन्तरिक एकता र ध्रुवीकरणको पक्षमा आफूलाई उभ्याएका छन् । महिला, दलित, जनजाती, भाषिक, सांस्कृति र अल्पसंख्य समूहको सहभागिता एंव समानुपातिक नेतृत्व विकास गर्ने गर्नुपर्नेमा पनि उनको जोड छ ।
सामाजिक रुपमा स्थापित शक्ति तथा बौद्धिक वर्गबाट पार्टीमा प्रतिनिधित्व गराउने र युवा जनशक्तिलाई प्रगतिशिल राजनीतिमा सक्रिय गराइ राजनीतिक अग्राअधिकार दिनुपर्ने कुरालाई पनि उनले पार्टी निर्माणका चार आधारमा समेटेका छन्।
पूर्व अर्थमन्त्रीसमेत रहेका शर्माले शान्ति प्रक्रियामा आएयता १५ वर्षको अवधिमा प्राप्त उपलब्धि र कमजोरीबारे संस्थागत र व्यक्तिगत मूल्याकंन गर्नुपर्ने पनि बताएका छन् । संसदमा प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका खेल्दै ०८४ सालसम्म सरकारमा नजाने घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ ।
पार्टीको विधान पुनलर्खेन, नेताहरुको सम्पतिको यथार्थ विवरण सार्वजनिक गर्ने र पार्टी फुट्दैछ भन्ने नेतृत्व तहबाटै चलाइएको हल्लाबारे स्पष्ट पारिनुपर्ने शर्माको मागसमेत छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको निर्वाचन प्रणाली, राज्यको पुनर्संरचना, जातीय, भाषिक, सांस्कृतिक पहिचानका मुद्दामा जनमत निर्माणको लागि कार्यक्रम बनाउन उनले सुझाव पनि दिएका छन् ।
टिप्पणीहरू