त्यहाँ त्यसदिन भएका सारा कुरा यिनै हुन्

त्यहाँ त्यसदिन भएका सारा कुरा यिनै हुन्

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवालीको एकातिर कानेखुशी चल्दै थियो, अर्कातिर उपमहासचिव प्रदीप ज्ञवाली र सचिव पद्मा अर्यालको चेहरामा खुशी थिएन । यता, महासचिव शंकर पोखरेल र अर्का उपमहासचिव विष्णु रिमाल भने नेताहरूका नाम काटकुट पार्न मै व्यस्त देखिन्थे । नेताहरूको जिम्मेवारी हेरफेर गर्न गत बिहिबार बसेको एमाले सचिवालय बैठकमा यस्तै–यस्तै देखियो ।

पार्टी कार्यालय डुबानमा परेपछि मेडिकल बिचौलिया विशाल पण्डितको बबरमहलस्थित बसेरा होटलमा सचिवालय बैठक बसेको थियो । अध्यक्ष केपी शर्मा ओली, महासचिव पोखरल र उपमहासचिव रिमालले बुधबार राति २ बजेसम्म बसेर बनाएको कार्य विभाजनको लिष्ट बैठकमा प्रस्ताव गरियो । सोहीअनुसार सुवास नेम्वाङ बितेपछि रिक्त उपाध्यक्ष पदमा गुरु बराल मनोनीत भए भने एकीकृत समाजवादी छोडेर फर्किएका मुकुन्द न्यौपाने स्थायी कमिटीमा उक्लिए । त्यस्तै, मधेश प्रदेशको इञ्चार्ज बनाउने गरी लीलानाथ श्रेष्ठलाई पनि स्थायी कमिटीमा बढुवा गरियो । पूर्वमाओवादी खेमाका मणि थापाको जिम्मेवारी खोसियो । यसबाहेक बैठकले पदाधिकारीसहित सबै केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गर्‍यो ।  

तर, नेताहरूको नयाँ जिम्मेवारी तोक्दा ‘कसैलाई खातै खात, कसैलाई पुर्पुरोमा हात’ को अवस्था बनेपछि एमालेमा चर्को असन्तुष्टि देखिएको छ । एमाले स्रोतका अनुसार अध्यक्ष ओली, महासचिव पोखरेल र रिमालबाहेक प्रायः सबैजसो नेता सन्तुष्ट छैनन् । केही नेताले बैठकमै चर्को असन्तुष्टि पोखेका थिए । हुन त, समकालीन राजनीतिक दलमध्ये नेकपा एमाले सांगठानिक हिसाबले सबैभन्दा व्यवस्थित पार्टी मानिन्छ । तर, नेताहरूको कार्य विभाजनजस्तो महत्वपूर्ण निर्णय लिनुअघि तीन नेताबाहेक अरू पदाधिकारीसँग सामान्य सरसल्लाहसमेत गरिएन । परिणामतः सधँै अध्यक्षको ‘एकल साँझ’ चल्ने गरेको एमाले बैठक बिहिबार भने अपवाद बन्न पुग्यो । 

अध्यक्षको लामो प्रवचन सुन्ने र माइन्युटमा ल्याप्चे लगाएर फर्किने भूमिकामा सीमित रहँदै आएका पदाधिकारीमध्ये केहीले मज्जैसँग आफ्ना कुरा राखेको र कतिपयले सांकेतिक असन्तुष्टि जनाएको बैठक स्रोत बताउँछ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बैठक अवधिभर एक शब्द पनि बोलेनन् । बेला –बेला उपाध्यक्ष युवराज ज्ञवालीसँग कानेखुशी गरिरहेका उनी अध्यक्ष ओलीको कार्यशैलीप्रति सन्तुष्ट नरहेको प्रष्टै बुझिन्थ्यो । सँगैको अर्को सिटमा बसेका ज्ञवालीको कानमा उनले खुसुक्क भने– ‘यसको (ओली) काम छैन, पार्टी खत्तम बनाउने भयो !’ 

कार्यविभाजन प्रस्तावप्रति असन्तुष्ट रहेका युवराज भने कडै रूपमा प्रस्तुत भए । उपाध्यक्षहरूलाई भूगोलको जिम्मेवारी दिनुपर्ने मत राखेका उनले आफू स्वयं भने लालायित नरहेको बताएका थिए । उपाध्यक्ष सुरेन्द्र पाण्डेको नामै लिएर उनले बागमतीको इञ्चार्ज बनाउन माग गरे । ‘उपाध्यक्ष र सचिवहरूलाई भूगोलको जिम्मा नदिइकन यो पार्टी कसरी बन्छ ?’, आक्रोशित हुँदै उनले सोधे, ‘कसरी सफल हुन्छ मिशन ८४ ?’  

बागमती प्रदेशको इञ्चार्जमा शुरुमा कृष्णगोपाल श्रेष्ठको नाम प्रस्ताव गरिएको थियो । त्यसमा समर्थन जनाउँदै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले दोलखाकी रचना खड्कालाई सह–इञ्चार्ज बनाउनुपर्ने धारणा राखिन् । त्यस्तै, सचिव पद्मा अर्याललाई गण्डकीको इञ्चार्जमा प्रस्ताव गरेकी उनले काठमाडौँका पूर्वमेयर विद्यासुन्दर शाक्यको पक्षमा पनि बोलिन् । तर, सुनुवाइ  भएन, उल्टै कृष्णगोपालको नाम काटियो । डा. राजन भट्टराईका लागि ठाउँ बनाउनुपर्ने भएपछि विष्णु रिमालले नाम काटेका थिए । 

बागमतीको इञ्चार्जमा अपेक्षा गरेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि कार्य विभाजन प्रस्तावप्रति सकारात्मक सुनिएनन् । उपाध्यक्ष र सचिवहरूलाई पनि भूगोलको जिम्मेवारी दिनुपर्ने माग गरेका उनलाई राजकीय मामिला संयोजन सुशासन र सेवा प्रवाहसम्बद्ध विभाग दिइयो । सधैं चुपचाप बस्ने अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ केही पनि बोलेनन् । 

कोशी प्रदेशको इञ्चार्ज हुने चाहना राखेका सचिव योगेश भट्टराईले महासचिवको प्रस्तावमा बिमति राख्दै भने– ‘मलाई नदिने हो भने पनि केही छैन, तर अरु साथीहरूलाई मिलाऊँ ।’ तर, उनको कुरा सुनुवाई भएन । मधेस प्रदेशको इञ्चार्जबाट झिकेर संसदीय फाँटको जिम्मा दिइयो । बैठकमा अझै कडा सुनिए अर्का सचिव गोकर्ण बिष्ट । उपाध्यक्षहरूलाई प्रदेशको इञ्चार्ज बनाउनुपर्ने मत राखेका उनले भने– ‘प्रदेशको इञ्चार्जमा उपाध्यक्षहरूलाई लैजाऊँ । बागमतीमा सिनियर कमरेडलाई गरौँ ! अरु सचिवहरूलाई पनि भूगोलको जिम्मेवारी दिऊँ ।’ बिष्टले कटाक्ष गर्दै अगाडि भने– ‘मलाई त लुम्बिनी नदिने होला, म बुझ्छु त्यति कुरा । ठीकै छ !, नभए लाइब्रेरी विभाग दिए पनि हुन्छ ।’   

ठाउँको ठाउँ मागेको जिम्मेवारी पाउने भाग्यमानी बने सचिव रघुवीर महासेठ । शुरुमा भूगोलको जिम्मेवारी खोजेका उनले भने– ‘मलाई मधेशकै इञ्चार्ज दिनुपर्‍यो भन्दिन जहाँको भए पनि हुन्छ तर भूगोलको जिम्मेवारी चाहियो ।’ विभागीय जिम्मेवारी दिँदा विदेश विभाग चाहिने माग उनले राखे । १३ दिने परराष्ट्रमन्त्री भएका रघुवीरको माग उत्निखेरै पूरा भयो । तर, राजन भट्टराईको व्यवस्थापनबारे बैठकमा कुरा उठ्यो । रघुवीरलाई परराष्ट्र विभाग दिएर राजनलाई बागमतीको इञ्चार्ज बनाउने विकल्प राख्दै विष्णु रिमालले भने– ‘ल त्यसो भए उहाँलाई विदेश विभाग दिऊँ, राजनजीलाई बागमती ल्याऊँ, कृष्णगोपालले पुरानै विभाग हेर्छन् ।’ त्यहीँको त्यहीँ तीन जनाले बोली मिलाएपछि ‘केपी ओली इज केपी ओली’ भन्दै चर्को भाषण गरेर चर्चामा आएका कृष्णगोपाल यसअघिकै स्वास्थ्य तथा जनसंख्या विभागमा थान्को लगाइए । 

बैठक स्रोतका अनुसार अर्का सचिव छविलाल विश्वकर्माले पनि भूगोलको जिम्मा मागेका थिए । उपाध्यक्ष र अरु सचिवलाई पनि प्रभावकारी जिम्मेवारी दिनुपर्ने उनको मत थियो । तर, शंकर पोखरेल र विष्णु रिमालले ल्याएको प्रस्तावअनुसार स्थानीय विकास विभाग प्रमुखको जिम्मा पाए । अर्की सचिव पद्मा अर्याल बैठकमा चुइँक्क बोलिनन् । अघिल्लो दिन गण्डकी प्रदेश इञ्चार्जको आश्वासन पाएकी उनलाई हटाएर एकाएक किरण गुरुङको नाम प्रस्ताव गरिएको थियो । उनलाई लुम्बिनी लगियो । त्यसमा असन्तुष्ट देखिएकी उनी बैठकमा अँध्यारो मुख लगाएर बसेको बताइन्छ । 

माओवादी पृष्ठभूमिका सचिव लेखराज भट्टले भने कार्य विभाजनबारे धारणा राखेनन् । र भीम रावलको कुरा उठाए । ठोस जिम्मेवारीमा नरहेका रावलले टोल–टोलसम्म पुगेर पार्टीको नाममा गतिविधि गरेकाले समस्या परेको भन्दै उनले हटाउनुपर्ने आशयमा कुरा राखेपछि अध्यक्ष ओलीको संक्षिप्त जवाफ आयो– ‘ठीक छ अब टुंग्याइदिने हो ।’  ‘भीम रावल कमरेडलाई अब चैं निकाल्नै खोजेको जस्तो बुझियो’– बैठकमा सहभागी एक नेताले भने । 

रावल दश भाइ समूहका नेता हुन् । दशौँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चुनिने ओलीको चाहनामा बाधक बनेका उनी त्यसयता कुनै पनि जिम्मेवारीमा छैनन् । बसेरा होटलमा कारवाही गर्ने कुरा चलिरहँदा रावल भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहेको तुल्सीलाल अमात्यसम्बन्धी एउटा कार्यक्रममा सहभागी थिए । 

‘दश भाइ समूह’ र पूर्वमाओवादी खेमा मात्र होइन, खाँटी ओली गुटको नेतासमेत उस्तै असन्तुष्ट देखिए । त्यसमध्येका हुन्– उपमहासचिव प्रदिप ज्ञवाली । बैठकमा खासै नबोलेका उनी पनि चर्कोसँग असन्तुष्ट देखिन्थे । ओलीको किचेन क्याबिनेट सदस्य भैकन पनि अघिल्लो रात लिष्ट बनाउनेमा सहभागी नगराइएकाले उनी निराश रहेको अनुमान अरु नेताहरूले लगाएका छन् । ज्ञवाली कतिसम्म असन्तुष्ट रहेछन् भने ईश्वर पोखरेल नेतृत्वको नीति प्रतिष्ठानमा केही नेताको व्यवस्थापन गर्नुपर्ने कुरा आउँदा फ्याट्ट भने– ‘ठाउँ पुग्दैन भने म हट्छु, त्यहाँ राखौँ ।’ 

त्यस्तै, टिआरसी विधेयकमा भएको तीन दलबीचको सहमतिबारे कुरा हुँदा ‘प्रदिप ज्ञवाली जाने हो भने उहाँको योग्यता पुग्दैन’ भनी अध्यक्षका तर्फबाट बिना प्रसंग नाम निकालियो । मन्त्री भैसकेको मान्छेलाई ‘योग्य मान्छे हो तर, योग्यता पुग्दैन’ किन भनियो अनुमान गर्न नसकेका एक सचिवालय सदस्य भन्छन् – व्यङ्ग्य गरेको हो कि जस्तो लाग्यो ! उनकाअनुसार पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले अमेरिकाको राजदूत बन्ने चाहना राखेका थिए । तर, शैक्षिक योग्यता (बिए पास) नपुगेकाले सिफारिसमा नपरेका उनलाई त्यसैमा जोडेर अध्यक्ष ओलीले व्यङ्ग्य गरिएको हुनसक्ने बुझाइ ती नेताको छ । 

सचिवालय बैठकले सुवास नेम्वाङको ठाउँमा गुरु बराललाई उपाध्यक्ष नियुक्त गरेको छ । ओली समूहको भित्रियामध्येका एक उनलाई यसअघि राष्ट्रपति बनाउने तयारी थियो । एमाले र माओवादीबीच सत्ता सहकार्यको सहमति हुँदा राष्ट्रपति एमालेको भागमा परेको र त्यसमा बरालको नाम ओलीले प्रस्ताव गरेका थिए । तर, नेताको खल्तीको व्यक्ति राष्ट्रपति हुँदा झेल्नुपरेको अप्ठेराले हत्तुहैरान भैसकेका तत्कालीन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उक्त नाममा सहमत भएनन् । परिणामतः माओवादी र एमालेको सहकार्य टुट्यो । पछि कसैले पनि भोट हाल्दैनन् भन्ने अवस्थामा सुवासलाई उम्मेदवार बनाइयो । त्यसताका शुभचिन्तकहरूलाई सुवास भन्थे– ‘हारिन्छ भन्ने पक्का भएपछि मैले टिकट पाएको हो, जितिने अवस्थामा मैले पाउँदैनथें ।’ 

बैठकमा समसामायिक राजनीति र सरकारबारे पनि चर्चा चल्यो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्ड यो सरकार ढाल्न ‘मरेर’ लागेको बताउँदै भने– ‘विदेशीहरू पनि लागे भने त हाम्रो के लाग्छ र !’ तर, काँग्रेससँगको सत्ता सहकार्य अत्यन्त सहज रहेकाले जोगाएर जानुपर्ने उनको भनाई थियो ।  

‘पहिला आफ्नै पार्टीको सरकार हुँदा न पार्टी चलाउन सजिलो थियो न सरकार ! सधैँ झण्झट मात्र भयो । त्यसअगाडि प्रचण्सँगको मिलिजुली सरकार चलाउन पनि सकसपूर्ण थियो’, सरकारबारे बैठकमा उठेका जिज्ञासामा ओलीको जवाफ थियो, ‘अहिले त आनन्द छ । कांग्रेसहरू धेरै जेन्टल ! अब एउटा पदमा लोभिने हैन, ८४ मा एकलौटी जित्ने गरी जानुपर्छ ।’ काँग्रेससँग सरकार चलाउन सजिलो भने पनि गृहमन्त्री रमेश लेखकमाथि भने कटाक्ष गरियो । काम नगर्ने तर, मीठो बोल्ने नेताको संज्ञा दिँदै भनियो– ‘लेखक हैन पाठक हो !’

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू