बालेनको टोलीद्वारा गाडीमा बद्मासी

बालेनको टोलीद्वारा गाडीमा बद्मासी

नेपालीमा एउटा भनाइ छ, ‘जस्तो बीऊ, त्यस्तै फल ।’ यो भनाइ काठमाडौं महानगरपालिकाका पदाधिकारीहरूको काम गराईसँग ठ्याक्कै मिल्दोजुल्दो छ । मेयर बालेन्द्र (बालेन) साहको सिको टिप्दै उनका सल्लाहकारहरूले पनि मनोमानी गर्न थालेका छन् । 

यस क्रममा पूर्वाधार सल्लाहकार सुनिल लम्सालले कानुनविपरीत गाडीको नाम नै फेरेको पाइएको छ । उनले आफू चढ्दै आएको बा.२ झ २७२९ नम्बरको नीलो सरकारी गाडीको नाम नै फेरेको खुलेको छ । सुजुकी बालेनो गाडी अन्तिमको ओ मेटेर ‘बालेन’ बनाइएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा अधिकारप्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ, सीट संख्या, स्वरूप, इञ्जिन वा चेसिसमा परिवर्तन गर्न नहुने व्यवस्था छ । दफा ३९ को उपदफा (१) मा भनिएको छ, ‘सवारी धनीले सवारीमा हेरफेर गर्नुहुँदैन ।’

त्यस्तै, सवारी निर्माण कम्पनीले सवारीको बनोट सम्बन्धमा निर्धारण गरेको ‘स्पेसिफिकेशन’ मा परिवर्तन गर्न नपाइने कानुनमा स्पष्ट उल्लेख छ । स्रोत भन्छ, ‘निर्माणकर्ताले राखेको नाम परिवर्तन गर्नु गैरकानुनी हो । गाडीको डिजाइन, नाम परिवर्तन गर्न पाइँदैन । कम्पनीले आफ्नो नाम परिवर्तन गरेको भनी मुद्दा हाल्न सक्छ ।’ 

यता, लम्सालले उक्त गाडी आफ्नो नभएको दाबी गरे । उनका अनुसार गाडी महानगरको हो । सो गाडीमा आफू मात्र नभई महानगरका अन्य कर्मचारी पनि चढ्ने गरेको उनैको भनाइ छ । ‘त्यो गाडी महानगरको हो । फिल्डमा जाँदा सबैले सोही गाडी प्रयोग गर्नुहुन्छ । वातावरण विभागको काम पर्दा म पनि चढ्छु,’ उनले भने । 

स्रोतका अनुसार पूर्वमेयर विद्यासुन्दर शाक्यले चढ्ने सो गाडी लम्साललाई दिइएको हो । 

ढुकुटी सक्दै मेयर

काठमाडौं महानगरपालिकामा विज्ञहरूको लाइन लगाइएको छ । डा.सुमननरसिंह राजभण्डारीको नेतृत्वमा शहरी योजना आयोग छ । जसमा ९ जना विज्ञ र तीन जना सहायक गरी ११ जना रहेको सहायक प्रवक्ता दीपक अधिकारीले बताए । 

यता, महानगरको सबै विभागमा विज्ञ नियुक्त गरिएको छ । विभागीय प्रमुख हुँदाहुँदै पनि विज्ञ नियुक्त गरेर खर्च बढाइएको हो । पछिल्लो समय महानगर प्रहरी स्थानीय र व्यापारीको नजरमा बद्नाम हुँदै गएका छन् । उनीहरूले व्यापारीको सामान लुटेको एउटा भिडियो जनआस्थाले फेला पारेको छ । 

जसमा महानगर प्रहरीको गाडी एउटा कपडा पसलअगाडि आएर रोकिएको देखिन्छ । हरियो ड्रेस लगाएका एक प्रहरी गाडीबाट उत्रिन्छन् । कपडा भएको दुइटा पोको उठाउँछन् । पसलेले केही पनि भन्दैनन् । सामान लगेको हेर्छन् मात्र । 

महँगो सटर भाडा तिरेर थापेको पसलबाट महानगर प्रहरीले पैसा नतिरिकन सामान लग्न थालेपछि व्यापारीहरू मर्कामा परेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू