विष्णु पौडेलले केही पनि नबोल्दा

विष्णु पौडेलले केही पनि नबोल्दा

एमाले केपी ओलीको पार्टीका रूपमा रूपान्तरित भएसँगै उनीसँग टाउको ठाडो पारेर कुरा गर्ने हिम्मत र हैसियत लगभग सबै जसो नेतामा सकिएको देखिएको छ । नयाँ सत्ता समीकरण निर्माणसँगै ओलीको कुरा नकाट्ने नेताका रूपमा आफ्नो छवि निर्माण गर्दै गरेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल ‘बिचरा’ बनेको नेताहरूले टिप्पणी गर्न थालेका छन् । 

समाचार स्रोतका अनुसार, अहिले विष्णु पौडेलले आफ्नो ग्रहदशा ठीक नचलिरहेको निश्कर्ष निकाल्दै ‘ओलीसँग केही नमाग्ने र उनले भनेको केही कुरामा असहमति नजनाउने’ रणनीति अंगीकार गरेको अवस्था छ । ओलीले एकातिर विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री बनाए भने उता लुम्बिनी प्रदेशमा उनीनिकट मानिएका संसदीय दलका नेता लीला गिरीलाई हिस्याउँदै उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएका छन्् । तर, त्यो ठीक भएन भन्ने हैसियतमा आफू नरहेको निश्कर्षमा पुगेका पौडेल मौनता साँध्न बाध्य छन् । ओलीको निर्णयमा प्रश्न गर्नासाथ मन्त्री पद गुम्छ भन्ने बुझेका उनी ठूलो मानसिक दवावमा रहेको स्रोतले बतायो । 

ओलीले पौडेललाई यसअघिको प्रचण्ड सरकारमासमेत भौतिक मन्त्री बनेर जान भनेका थिए । तर, त्यसले आफ्नो मान र इज्जत घट्ने अनुमान गर्दै उनले त्यो प्रस्ताव अस्वीकार गर्दादेखि नै ओलीको मन कुँडिएको हो । त्यो बेला अर्थ मन्त्रालय नै विष्णु पौडेललाई दिएको भए प्रचण्डको सरकार पनि यति चाँडै ढल्ने थिएन भन्ने एमालेका नेताहरूको बुझाइ छ । किनकि पौडेल अर्थमन्त्री हुँदा आउने बजेटमा एमालेको चित्तदुखाइ हुने थिएन भने पौडेल नै पहिले पार्टी एकीकरणको सूत्रधारमध्येका प्रमुख व्यक्ति रहेको हुँदा प्रचण्ड र ओलीबीच तिक्तता र आशंका बढ्ने अवस्थासमेत आउन दिने थिएनन् । तर, त्यो कुरा प्रचण्डलेसमेत बुझेनन् र अर्थमन्त्री आफ्नै पार्टीबाट राखे । अन्ततः वर्षमान पुनले एकांकी ढंगले माओवादीको बजेट ल्याए जसमा ओलीले मुखरित भएरै असन्तुष्टि पोख्नुपरेको थियो । अर्का सूत्रधार जनार्दन शर्मा पनि प्रचण्ड सरकारमा बाहिरै रहे । जसलाई प्रचण्डले ‘चित्त नबुझे पार्टी छोडे हुन्छ’ भन्ने अपमानजनक धम्कीसमेत दिएको खबर यसअघि नै सार्वजनिक भइसकेको छ । 

राजनीतिक विश्लेषकहरू प्रचण्डले सरकार के गर्दा टिक्छ भन्ने कुरा नै नबुझ्दा उनको यस्तो नियति बनेको बताउँछन् । उनले अर्थ मन्त्रालय एमालेलाई दिएर अर्थतन्त्रमा आशा थप्ने र विष्णु पौडेललाई नै अर्थमन्त्री बनाउन पहल गरेका भए दुई शीर्ष नेताबीच पुलको काम पनि हुने थियो । एमालेमा ओलीविरुद्ध बोल्नेको अभाव कस्तो खड्किएको छ भने भलाद्मी छविका डा. पुष्प कँडेलसमेत ‘पार्टीमा बोल्ने मान्छे नै कोही भएनन्’ भन्न थालेका छन्् । झलनाथ खनाल, माधवकुमार नेपालजस्ता ओलीसँग जोरी खोज्न सक्ने मान्छे नहुँदा र विष्णु पौडेललगायत नेता पनि चुपचाप बस्नुपर्ने अवस्था बन्दा एमालेलाई मायाँ गर्नेहरू पनि चिन्तित बनिरहेका छन् । 

एमालेभित्र अहिले ‘गुरु बराललाई किन उपाध्यक्ष बनाइयो ?’ भन्ने प्रश्न भित्रभित्रै उठिरहेको छ । के चुनाव हार्नु नै पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाउने योग्यता हो ? भन्दै कुनै क्षमता र योग्यता नभएको मान्छेलाई ओलीले च्यापेको आरोप मध्यम तहका नेता कार्यकर्ताले लाएको देखिन्छ । उनलाई स्थायी समितिबाट पदाधिकारी नबनाई एकैचोटी उपाध्यक्षमा लगिएको हो । बराल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका निकटस्थ मानिन्छन् । गुरु बराललाई उपाध्यक्ष बनाउँदा पार्टीमा के आकर्षण थपियो ? कस्तो नयाँ तरंग र उत्साह प्रवाह भयो ? भन्ने प्रश्न ओलीलाई सोध्न नसके पनि नेताहरू आपसमा गुनासो भने गरिरहेकै छन् । पार्टीभित्र यसले नकारात्मकता बढाएको ठानिएको छ । त्यसमाथि, भीम आचार्यहरूलाई किनारामा पार्न थालिएको देखिँदै छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू