यो देश बिगार्ने पत्रकार नै हुन् ?

यो देश बिगार्ने पत्रकार नै हुन् ?

चर्चित भारतीय पत्रकार रविशकुमारले भनेका छन्– डरा हुवा पत्रकार मरा हुवा आद्मी पैदा करता है ! त्यही देश जहाँ अंग्रेज भारत छोडो आन्दोलन चल्यो, जुन आन्दोलनको जगमा भारत स्वतन्त्र भयो । आज संसारको शक्तिशाली मुलुक बन्ने दौडमा रहेको उसकै स्वतन्त्रता संवाहक मानिने सञ्चार क्षेत्रको यथार्थ अभिव्यक्ति हो यो । पत्रकार को हो ? उसले कसका लागि काम गर्नुपर्छ ? आफ्नालागि कि समाजको लागि ? पत्रकारिता जीविकाको सवाल हो कि जनतालाई सुसूचित पार्ने जिम्मेवारी ? अथवा यो व्यापार हो कि सेवा ? पत्रकारिता उद्योग हो ? र, पत्रकार त्यहाँ काम गर्ने कामदार ?

आखिर पत्रकार को हुन् ?

बेलाबेला पत्रकारिता पेशाप्रति सवाल उठ्छ । पत्रकारहरूले पैसा खाएर समाचार लेख्छन् । कतै फेसबुकतिर देखेको थिएँ, यस्तो– पत्रकारो दलाली छोडो, दलालो पत्रकारिता छोडो । 

त्यसपछि अझ गम्भीर बन्न मन लाग्छ । पत्रकारप्रतिका सामाजिक मान्यता र दृष्टिकोण कसरी यस्तो भयो भनेर । अनि आफ्नै सेरोफेरोभित्र हेर्छु, यसो गम्छु र निश्कर्ष निकाल्छु कि आफ्नो स्वर्ग त आफैँ निर्माण गर्नुपर्ने रहेछ । मेरो विचारमा अरुभन्दा फरक सोच भएकै कारण मान्छे पत्रकार भएको हो । नत्र ऊ बैंकर बन्थ्यो । ऊ व्यापारी बन्थ्यो अनि कर्मचारी हुन्थ्यो । शिक्षक वा नेता हुन्थ्यो । तर हाम्रो देशको परिवेशले मान्छेलाई त मान्छे बन्न दिँदैन भने पत्रकार पत्रकार मात्र कसरी रहन सक्छ ? 

अब यहाँ सवाल उठ्छ । के पत्रकारले अरू पेशा वा व्यवसाय गर्न पाउँदैन ? नेपाल पत्रकार महासंघमा बेलाबेला शुद्धीकरणको सवाल उठ्छ । त्यतिबेला पत्रकार हटाउने, थप्ने खेलोमेलो शुरु हुन्छ । चुनावको बेला त्यहाँ हुन्छ राजनीति । अनि राजनीतिप्रति वितृष्णा पोखिन्छ । टाइम्स अफ इण्डियामा काम गर्ने एक जना पत्रकारले जागिर शुरु गर्ने बेला तीन बुँदे प्रतिबद्धता सार्वजनिक गरेका थिए । आफ्नो बच्चा पढ्ने स्कूलबारे, श्रीमान्को व्यापार र आफूले मत दिने पार्टीको बारेमा लेख्दिन भनेर । यस्तो प्रचलन संसारभर छ । आफूबारे बेलैमा समाजलाई जानकारी दिने र त्यो प्रतिबद्धतामा प्रतिबद्ध रहने । तर, यतातिर यस्तो कुरा गर्‍यो भने आम मान्छे हाँस्छन् । पत्रकारले त उडाउँछन् । खासमा कुनै पनि पेशा वा व्यवसाय आफैँ खराव हुँदैन, त्यसभित्र खराबीका अंश हुन्छन्, खाली त्यो बढ्न दिने वा नदिने कुरा प्रमुख हो ।

प्रश्नहरूको मृत्यु भएपछि सायद कोही जीवित नरहला ।  उत्तर मात्र दिने ठाउँमा पुगेको मान्छेले प्रश्न बुझ्दैन ।

हरेक क्रियाकलापलाई निश्कर्षमा पुर्‍याउन आत्मविश्वास, निरन्तरता र मेहनत आवश्यक हुन्छ । चाहे त्यो पत्रकारिता पेशामा नै किन नहोस् । यद्यपि, आजको नेपाली पत्रकारिता क्षेत्रभित्र यसको कमी देखिन्छ । हतारको साहित्य लेखेर मात्र हुँदैन, त्यसलाई निश्कर्षमा पुर्‍याउन कडा मेहनत चाहिन्छ भनेर नबुझ्ने हो भने अब यसको भविष्य छैन । 

समयले मिडिया क्षेत्रमा चुनौती थपेको छ । हुनतः हरेक क्षेत्र चुनौतीविहीन भने छैन तर आफ्नालागि मात्र गर्ने काम र अरूका लागि पनि लिने दायित्वमा अन्तर हुन्छ । पत्रकारिता पेशा वा व्यवसाय हो, यो विषयमा विवाद छ । यद्यपि म यहाँ यो विषयमा धेरै बहस गर्न खोजिरहेको छैन । पत्रकार को हुन् र उनीहरू कहाँ चुके ? यसबारे चर्चा गर्ने मात्र प्रयास गर्दै छु । समाज जस्तो हुन्छ, हरेक क्षेत्र त्यस्तै बन्छ । अझ पत्रकारिता यही समाजको ऐना हो भनियो । के आजको हाम्रो स्तरको पत्रकारिताले ऐनाको काम गरेको छ ? ऐनाले पहिले आफ्नो अनुहार देखाउँछ । पहिले ऐनामा आफ्नो अनुहार हेरौं । त्यो ऐनारुपी पत्रकारिताले प्रश्न गर्न सिकाउँछ तसर्थ अरूले प्रश्न गर्नुभन्दा पहिले आफूले आफूलाई प्रश्न गर्न सकियो भने उत्तर सजिलै भेटिन्छ । किनभने प्रश्न गर्न सजिलो हुन्छ तर त्यही प्रश्नको उत्तर खोज्न वा उत्तर दिन गाह्रो पर्छ । 

समाजप्रति यसरी प्रश्न तेर्सिन्छन् । प्रश्नहरूको मृत्यु भएपछि सायद कोही जीवित नरहला । त्यसकारण पहिले यसरी आफैँमाथि प्रश्न गर । अनि मात्र अरूका लागि प्रश्न गर्न सक्षम र योग्य भइन्छ किनभने जीवन एउटा प्रश्नको भण्डार हो । प्रश्नले मान्छेलाई बाँच्न प्रेरित गर्छ । प्रश्नले मान्छेलाई अगाडि बढ्न उत्प्रेरित गर्छ । अझ पत्रकारहरू त प्रश्न गर्ने जिम्मेवारी पाएका मान्छेहरू हुन् । प्रश्न गर्ने मान्छेले आफू जीवित भएको प्रमाण पेश गर्नुपर्दैन किनकि प्रश्नभित्रै जीवन लुकेको हुन्छ । बरु उत्तर दिने मान्छेले त्यो प्रमाणपत्र पेश गर्नुपर्नेछ । जब मान्छेले प्रश्न गर्ने साहस गर्छ, त्यतिबेला ऊ उत्तर दिन पनि सक्षम हुन्छ तर उत्तर मात्र दिने ठाउँमा पुगेको मान्छेले प्रश्न बुझ्दैन । उसलाई त्यतिबेला मान्छेका हरेक प्रश्न बांगा लाग्छन् । घुमाउरा लाग्छन् अनि उत्तर दिन झन्झट मान्छन् । 

आजको सामाजिक अन्तरविरोध नै यही हो । जब एउटा पत्रकारले सामाजिक अन्तरबिरोध बुझ्दैन, त्यसपछि ऊ पत्रकार बन्न लायक रहँदैन । समाज अनेक प्रकारका जालोमा जेलिएको छ । कतै जालझेलमा त कतै चक्रव्युहमा फँसेको छ, मान्छे । पत्रकारले त्यो जालझेल र चक्र तोड्न सक्नुपर्छ । नत्र समाज दिशाहीन बन्छ र त्यसको दोष पत्रकारमाथि लाग्छ । पत्रकारले देश बिगारेका हुन् भनेको कतैकतै सुनिन्छ । के साँच्चै पत्रकारहरू देश बिगार्न सक्षम छन् त ? अनि विस्तारै मान्छेहरू कर्मचारीलाई, जनप्रतिनिधिलाई र नेतालाई देश बिगार्नेको लाइनमा उभ्याउँछन् । चिया पसलका कुरा यस्ता छन् । मान्छेहरू यसरी हरेक विषयमा बिज्ञ बनेका हुन्छन् । कोही मान्छे अनुभवले खारिएर बिज्ञ भएका हुन्छन्, कोही समय, काल र परिस्थितिमा पिल्सिएर त कोही व्यावहारिक तरिकाले अगाडि बढेका हुन्छन् । ज्ञानलाई सैद्धान्तिक परिधिमा मात्र राखियो भने उसले सोच्ने त्यत्ति नै मात्र हुन्छ । तर त्यस ज्ञानलाई लागू गर्न जब कोही मैदानमा उत्रिन्छ भने त्यतिबेला अनेक चुनौती सामना गर्न तयार हुनुपर्छ । त्यस परीक्षामा सबैभन्दा बढी पत्रकारले सहभागी हुनुपर्छ । 

मान्छे आजसम्म चुनौती सामना गरेरै मात्र अगाडि बढेको छ । सजिलै प्राप्त हुने वस्तु त हावा मात्र हो । कुनै पनि वस्तुको सहज प्राप्ति दिगो हुन्न रे ! संघर्षबाट प्राप्त प्रतिफल मीठो हुन्छ । एउटा कर्मचारीले एकपटक लोकसेवाको परीक्षा पास गरेर आएपछि ऊ सदैव उत्तीर्ण हुन्छ तर एउटा पत्रकारले हरेक दिन परीक्षा दिइरहेको हुन्छ । त्यसकारण रविशकुमारले भनेजस्तै हरेक क्षण दिने पत्रकारिताको परीक्षाबाट हामी कस्तो वस्तु उत्पादन गरिरहेका छौं ? कुनै कम्पनीले जसरी आफ्नो उत्पादनको बजारिकरणमा बढी ध्यान दिएको हुन्छ, के हामीले त्यसरी सोचेका छौं ? कि आफू डराएर, थर्थर काँपेर कलम चलाइरहेका छौं ? हरेक वस्तुको उत्पादनले बजारमा एक खाले प्रभाव जमाएको हुन्छ, उसको कच्चा पदार्थको मात्रा, गुणस्तर र बजारीकरणले प्रयोगकर्ताको दिमागमा छाप पारेको हुन्छ । पत्रकारिता पनि त्यस्तै उत्पादनशील वस्तुको भट्टी हो, जहाँबाट निस्कने वस्तुलाई पाठक, श्रोताले कसरी लिन्छन् भन्ने मूल प्रश्न हो । 

हरेक उत्पादनले एक समय बजारमा आफूलाई टिकाएर राख्छ । कुनै समय यस्तो पनि आउन सक्छ, अरू कसैसँग कठिन प्रतिस्पर्धा गर्नु पर्न सक्छ । अर्थात् त्यो वस्तु बजारबाट बिलाउन पनि सक्छ । यो उसको अस्तित्वमाथिको प्रश्न हो किनभने हरेक वस्तुले आजको जस्तो उपभोक्तावादी समाजमा परीक्षा दिनु परिरहेको हुन्छ । त्यसमाथि गुणस्तर र वस्तुको टिकाउपनमा ध्यान दिइरहनुपरेको हुन्छ भने पत्रकारिता योभन्दा भिन्न छैन । त्यसकारण अबको पत्रकारिता क्षेत्रले आफ्नै अस्तित्व रक्षाका लागि लाग्नुपर्नेछ किनभने गिद्दे प्रेसदेखि एआइको जमानासम्म आइपुग्दा कति पत्रकारले पेशा छाडे त कति अखबार बन्द भए । अब यस्ता कुराको लेखाजोखा गरेर मान्छे बस्दैन किनकि ऊ पनि यही वस्तुवादी समाजको उपज हो, जहाँ मान्छेले अर्काको पीडा बुझ्दैन । 

परिस्थितिले कहिले मान्छेलाई गम्भीर बनाउँछ भने कहिले समयको बन्दी । कहिले आफ्ना कारणले त कहिले अरूकै कारणले मान्छे यताउती गरिरहन्छ । अनि हरेक पेशा वा व्यवसायमा लागेको मान्छेले आफ्नो भूमिका र जिम्मेवारी बिर्सन्छ, त्यसपछि देखिन्छन् त्यस्ता दृश्य । चाहे त्यो पेशागत धर्म निर्वाह गर्ने बेला होस् वा घरायसी जिम्मेवारी पूरा गर्ने समयमा, मान्छेले आफ्नो चरित्र प्रकट गर्छ । त्यो चारित्रिक प्रमाणपत्र सधैँ चाहिन्छ भनेर बुझ्ने हो भने पत्रकारमाथि ठडिएको ती औंलाअब कहिल्यै ठडिने छैनन् । त्यसकारण अब आफ्नै अस्तित्व रक्षाका लागि जुटौंँ । 

टिप्पणीहरू