जनार्दन कमरेड अलि बढी तरंगित हुनुभयो : माधव सापकोटा
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको स्थायी समिति बैठकमा १४ पृष्ठको सुझाव प्रस्ताव प्रस्तुत गर्नुभएको छ । पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार शीर्षकको प्रस्तावमा शर्माले गर्नुभएको विकल्पसहितको विभिन्न प्रस्तावले माओवादी वृत्त तातेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा चाहेको व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने वा प्रचण्ड संरक्षकको भूमिकामा रहेर तेस्रो तहका युवा नेतालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने वा हालको केन्द्रीय कमिटी भंग गरी प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव गरिएको बताइन्छ । शर्माको उक्त प्रस्तावमा अर्का उपमहासचिव वर्षमान पुन अनन्त पनि सकारात्मक रहेको बताइएको छ । यद्यपि, पुनले यसबारे हालसम्म मुख खोलिसकेका छैनन् ।
स्थायी समिति बैठकमा उठेका बहसका ठोस विषयहरु के के हुन् ? भन्नेबारे माओवादी सांसद तथा नेता माधव सापकोटलाई जनआस्थाले सात वटा प्रश्न गरेको छ ।
जारी स्थायी समिति बैठकमा के पाकिरहेको छ ? भन्ने पहिलो प्रश्नमा उनी भन्छन् :
खासै त्यस्तो केही छैन । बैठकको पहिलो दिन अध्यक्ष प्रचण्ड कमरेडले समसामायिक राजनीतिक घटनाक्रमबारे आफ्नो ब्रिफिंग राख्नुभयो । त्यसयता अन्य नेताहरुले आफ्नो धारणा राखिरहनुभएको छ । नेताहरुसँग आ आफ्नो मत र विचार हुन्छन् नै । त्यसलाई उपयुक्त समय आएपछि उपयुक्त ठाउँमा राख्ने गरिन्छ, अहिले त्यही चलेको हो ।
उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा नेतृत्व फेर्ने आशयको प्रस्ताव राख्नुभयो, सम्भव छ ?
पार्टीमा विचारको विकास गर्नुपर्ने, जनताको मुद्दाकेन्द्रित रहेर कार्यक्रमहरु बनाउनुपर्ने, संगठनलाई बलियो र विस्तार गर्नुपर्ने अवस्था जरुर छ । तर पार्टीको मूल नेतृत्व नै फेर्नुपर्ने अवस्था आएजस्तो मलाई लाग्दैन । उपमहासचिव कमरेडले आफ्नो दृष्टिकोणबाट सुझाव प्रस्ताव राख्नुभएको हो । त्यसबारे बैठकमा छलफल होला । तर मलाई लाग्दैन कि यो विषयमा स्थायी कमिटी बैठकले नै कुनै निर्णय देओस् । बैठकले उहाँको सुझावलाई सिरियस्ली लियो भने केन्द्रीय समितिमा जाला । मेरो विचारमा अहिले नै नेतृत्व फेरिहाल्नुपर्ने अवस्था आइसकेको छैन ।
उपमहासचिवले नेतृत्व परिवर्तनका लागि तीन वटा विकल्प राख्नुभयो त ?
त्यो उहाँलाई व्यक्तिगत रुपमा लागेको विषय होला । उहाँलाई लागेको कुरा अरुलाई पनि लाग्छ भन्ने होइन । फेरि प्रचण्डलाई मूल नेतृत्वबाट बिदा गरेर अहिलेका तमाम समस्या हल हुने पनि होइनन् । के चाहीँ आवश्यक छ भने, प्रचण्डकै नयाँ नेतृत्वबाट कमजोरीहरु सुधार गर्दै नयाँ ढंगले अघि बढ्न जरुरी छ ।
शर्माले खुमलटार र बालुवाटारबाटै पार्टी फुटको हल्ला चलाएको आरोप पनि लगाउनु भएको छ ?
यसमा उपमहासचिव कमरेड अलि बढी तरंगित हुनुभएको मात्र हो । प्रचण्ड कमरेडले के भन्नुभएको हो भने पार्टीभित्र गुट मौलाएको छ । जसले समग्र पार्टीको शक्तिमा ह्रास ल्याउने काम गरिरहेको छ । त्यसलाई बन्द गर्नुपर्छ । र एकताबद्ध भएर उभिनुपर्छ भन्नुभएको हो । प्रचण्डले उपमहासचिव कमरेडलाई नै इंगित गरेर पार्टी फुटाउन लाग्यो भनेर कहिँकतै भन्नु भएको छैन ।
अर्का उपमहासचिव वर्षमान पुन पनि शर्माकै लाइनमा पुग्नुभएको भन्न थालिएको छ नि ?
जनार्दन कमरेडले भनेको सही हो । उहाँले औपचारिक रुपमै लिखित प्रस्ताव राख्नुभयो । तर वर्षमान कमरेडले अहिलेसम्म त्यस्तो भन्नुभएको छैन । र मलाई लाग्छ, प्रचण्डलाई नेतृत्वबाट हटाएर पार्टीमा देखिएका समस्याहरु हल हुँदैन भन्ने कुरा वर्षमान कमरेडलाई राम्ररी थाहा छ । पार्टीमा युवा पंक्तिलाई अघि सारेर, माओवादीहरुलाई एकताबद्ध गरेर, सकेसम्म वृहत्तर वाम एकता गरेर अघि बढ्नुपर्ने पहिलो आवश्यकता हो । कसैलाई व्यक्तिगत रुपमा चित्त बुझेन भने नेतृत्व नै फेर्नुपर्छ भन्ने भावना पैदा हुनुले विचारमा ह्रास ल्याउने काम मात्र हुन्छ ।
ओनसरी घर्तीले सुन तस्करीमा नाम मुछिँदा प्रचण्डले फोन नउठाएपछि ३५ वर्षको नेतृत्वमाथि शंका लाग्यो भनेको विषय चाँही के हो ?
अब त्यो उहाँहरुको निजी कुरा होला । मैले थाहा पाएसम्म हाम्रो उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्थ्यो । त्यतिबेला कुनै कारणले सम्पर्क हुन सकेन होला । त्यसलाई ठूलो विषय बनाउनुपर्ने कारण म केही देख्दिनँ ।
पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन हुन लागेको हो ?
यो विषय अझै टुंगो लागिसकेको छैन । नाम र चिन्ह परिवर्तन गर्ने कुरा पहिले विधान महाधिवेशनमा पनि उठेको थियो । जनार्दन कमरेडले आफ्नो सुझाव प्रस्तावमा उल्लेख गर्नुभएको छ । यस विषयमा चाही पार्टीका अन्य नेताहरु पनि सकारात्मक हुनुहुन्छ । स्थायी समिति बैठकमा छलफल हुन बाँकी छ । केन्द्रीय समितिको बैठकमा पनि छलफल होला ।
खासगरी अहिले प्रतिपक्षमा गएपछि हामीलाई चुनौतीसहितको अवसर छ । यसका लागि केही महत्वपूर्ण कामहरु गनुपर्ने हुन्छ । विशेष परिस्थिति वा पार्टीको नयाँ मोडमा नाम र चुनाव चिन्ह परिवर्तन गर्ने कुरा त्यति ठूलो होइन, यो सम्भव छ ।
टिप्पणीहरू