प्रमद्वारा रवि लामिछानेलाई ठेगान लगाउने प्रण

प्रमद्वारा रवि लामिछानेलाई ठेगान लगाउने प्रण

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भ्रष्टाचार नगर्ने र हुन पनि नदिने’ दाबी गर्दै आउनुभएको छ । उहाँ भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्नुहुन्छ । तर, अघिल्लो पटक प्रधानमन्त्री हुँदा उहाँकै क्याबिनेट सदस्यमाथि ७० करोड कमिशन मागेको आरोप लाग्यो । अनेक काण्डमा मन्त्रीहरूको नाम जोडियो । त्यसबेला क्याबिनेटले गरेको एउटा निर्णय (गिरीबन्धु प्रकरण) अहिले पनि विवादित छ ।  

नेपाली कांग्रेसको समर्थनमा चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा उक्लँदा यसपटक पनि ओलीले पुरानै कुरा दोहोर्‍याउनु भयो– भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ !’ तर, सरकार गठन भएलगत्तै ओली विद्युत्को बक्यौता नतिर्ने उद्योगीको पक्षमा उभिएकाले आममानिस विश्वस्त छैनन् । बिहानीले दिनको संकेत गर्छ भनेझैँ भ्रष्टाचार काण्डमा मुछिएका विवादित पात्रको होटलमा एमालेको हाइकमाण्ड बैठक राखिएपछि थप आशंका भइरहेको छ । 

गत बिहिबार बसेको एमाले सचिवालय बैठकको सन्दर्भ हो यो । च्यासलस्थित पार्टी कार्यालय बाढीले डुबाएपछि बबरमहलस्थित बसेरा बुटिक होटलमा बैठक बसेको थियो । उक्त होटलका मालिक हुन्, मेडिकल माफिया भनिने विशाल पण्डित । उनीमाथि शक्ति केन्द्रको आडमा अकुत सम्पत्ति आर्जन गरेको आरोप छ । तर, भ्रष्टाचारीको अनुहारसम्म हेर्दिन भन्ने ओलीकै रोजाइअनुसार भ्रष्टाचार आरोपितको होटलमा बैठक राखियो । ओम्नी प्रकरणसँग जोडिएका पण्डितविरुद्ध स्वास्थ्य उपकरण खरिदमा घोटाला गरेको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दासमेत दायर गरेको छ ।

उनीमाथि कोरोना महामारीताका कोशी अस्पताल कोभिड–१९ केन्द्र, विराटनगरमा स्वास्थ्य उपकरण वा हाई डिपेन्डेन्सी युनिट (एचडीयु) खरिद गर्ने क्रममा करोडौँ कुम्ल्याएको अभियोग पनि छ । बिचौलिया दिपक भट्टले जस्तै कांग्रेस र एमालेका शीर्ष नेताहरूलाई रिझाएर राज्य स्रोतको दोहन गर्दै आएका पण्डित धादिङका हुन् । केही वर्षअघिसम्म सामान्य आर्थिक हैसियतमा रहेका उनी अहिले अकुत सम्पत्तिको मालिक छन् । उनैको होटलमा पार्टीको हाइकमाण्ड बैठक राखेर ओलीले के सन्देश दिन खोजेको हो ? ‘सुशासनको नारा देखाउने दाँत मात्र त होइन भन्ने स्वाभाविक प्रश्न उब्जिएको छ’, एक जना एमाले नेताले शंका गरे । 

अर्कोतिर, सिंहदरबार अगाडि रहेको बसेरा होटलको भवनमाथि नै प्रश्न छ । देशकै प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारीमा रहेको राष्ट्रिय अनुसन्धान विभागसँगै जोडिएको उक्त होटल सुरक्षाका दृष्टिले खतरनाक मानिन्छ । अघिल्लो पटक ओली प्रधानमन्त्री र प्रेमकुमार राई गृहसचिव भएका बेला सरकारले बसेरा र राष्ट्रपति कार्यालय शीतल निवास छेउको अग्लो काठमाडौँ होटलको मापदण्डबारे छानविन गर्न कार्यदल बनाएको थियो । कार्यदलले लामो अध्ययनपछि दुबै भवन राष्ट्रियकरण गर्नुपर्ने सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझायो । ‘त्यहाँबाट सिंहदरबारका सबै गतिविधि देखिन्छ । होटल र गुप्तचर विभाग पनि ठ्याक्क वारिपारि छ’, कार्यदलका एक सदस्यले भने, ‘त्यसकारण सिंहदरबार र गुप्तचरको गोप्यता रहँदैन भन्ने प्रतिवेदनको निश्कर्ष थियो ।’ तर, उक्त रिपोर्ट पण्डितको प्रभावमा परेर प्रधानमन्त्री ओलीले घर्रामा थन्क्याएको उनको दाबी छ । 

बसेरामा बसेको एमाले बैठकमा सुशासनको हकमा सरकारमाथि उठेका प्रश्नबारे पनि चर्चा भयो । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित बेचन झा पक्राउपछि कांग्रेस र एमाले मिलेको तत्कालीन गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिले सरकार र पार्टीलाई रक्षात्मक बनाएको चिन्ता केही नेताले गरेका थिए । त्यसमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले भन्नुभयो – ‘त्यसलाई छोड्ने हैन । ठेगान लगाउनुपर्छ !’ रविले निकटहरूसँग भन्ने गरेका छन्– ‘बूढानीलकण्ठ र बालकोटको आँगनसम्म पुगिसकेको थिएँ, डराएर सरकार ढाले ।’ बेचन र प्रतिक थापा समातिएपछि कांग्रेस र एमालेका एकथरी नेता बेचैन भएको र हत्तपत्त नयाँ समीकरण बनाइएको उनको अभिव्यक्ति संसद्को रेकर्डमा सुरक्षित छ । सुशासनको पक्षमा सक्रिय भएकै कारण बिचौलियाको प्रभावमा एमालेले सरकार गिराएको दाबी माओवादी नेताले पनि गरिरहेका छन् ।

त्यसो त, आफूलाई ठीक लागेपछि त्यसैमा अडिग रहने प्रधानमन्त्री ओलीको विशेषता नै हो– विचार, राजनीति नमिले पनि मान्छे मन प¥यो भने खुलेरै संरक्षण गर्ने । पार्टी बदनाम हुँदासमेत सहकारी काण्डमा रविलाई जोगाउन मज्जैले प्रयत्न गर्नुभयो । उनलाई दुवै चोटि गृहमन्त्री बनाउनमा ओलीकै भूमिका थियो । रवि पनि प्रधानमन्त्री प्रचण्डलाई नभई रिपोर्टिङ गर्न बालकोट गैरहन्थे । तर, भुटानी काण्डले राजेश बज्राचार्यसमेत डामिने स्थिति बनेपछि सम्बन्ध बिग्रिएको बताइन्छ । रवि मात्र होइन, विगतमा विशेष सम्बन्ध रहेका दुर्गा प्रसाईं र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि ओलीको साथ छोडिसकेका छन् । पार्टी सदस्यता नै नलिई एमालेको केन्द्रीय सदस्य बनेका झापाका प्रसाईंं कुनै बेला ओलीलाई भगवान्को अर्को रूप मान्थे । एमाले छोडेर राजा फर्काउने अभियानमा लागेका उनको अहिले ओलीसँग ‘लडाइँ’ परिरहेको छ । 

‘रवि, दुर्गा प्रसाईं र राजेन्द्र लिङ्देन कुनै समय ओलीको धर्मपुत्रजस्तै थिए । अहिले तीनै जना उनीसँग छैनन्’, एमालेका एक जना नेताले कटाक्ष गर्दै भने, ‘एकजना त ओलीलाई नै थुन्नुपर्छ भन्ने ठाउँमा पुगे । आँगनसम्म म पुगेको थिएँ, सरकारबाट हटाए भन्दैछन् । हजुरबा भन्ने प्रसाईंले उहिल्यै छोडे, लिङ्देन पनि विरुद्धमा गैसके !’

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू