पश्चिमाले पेलेकै हुन् त यसपटक ?

पश्चिमाले पेलेकै हुन् त यसपटक ?
सुन्नुहोस्

एकातिर एमालेसँग सत्ता साझेदारीको सहमतिपत्रमा हस्ताक्षर गर्नुअघि हत्तपत्त पदाधिकारी बैठक राखेर कांग्रेसले चिनियाँ परियोजना बिआरआई नलिने निर्णय गर्नु, अर्कोतिर एमाले सचिवालय बैठकमा भारतीय राजदूतले नयाँ गठबन्धन भाँड्न खोजेको ब्रिफिङ हुनु ! के वर्तमान सत्ता गठबन्धन दुई छिमेकी भारत र चीनको प्रतिकूल छ ? के नेपालको सत्ता राजनीतिमा पश्चिमा शक्ति हावी भएका हुन् ? कांग्रेस–एमाले गठबन्धन बनाउने सूत्रधारमध्येका एक नेताले यसबारे गम्भीर खुलासा गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

सूचना स्रोतले बताएअनुसार एमाले महासचिव शंकर पोखरेलले निकटहरूसँग हालैको यौटा छलफलमा अमेरिकी चासो यो गठबन्धनमा राम्रैसँग प्रकट भएको र त्यसमा आफूले पनि भूमिका खेलेको दाबी गरेका हुन् । दुई दलीय प्रणालीको वकालतकर्तासमेत रहेका उनले विश्वासपात्रसँग भने–यो सरकार यसरी बन्नुमा मेरो पनि मिहिनेत छ । अब इण्डिया र चाइनालाई पनि विश्वासमा लिएर अगाडि जाने हो । 

तर, यो कुरा शंकरका विश्वासपात्रसँग मात्र सीमित रहेन । महासचिवसँगको उक्त छलफलमा सहभागीमध्येका एक जनाले त्यसप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्षमध्येका एकलाई जस्ताको तस्तै सुनाए । वाम सहकार्यको पक्षमा रहँदै आएका ती नेताले सोधे – ‘शंकरजी अहिलेको सरकार बन्नमा अमेरिकी योगदान रहेको भन्नुहुन्छ के हो कुरा ?’

तर, आफैँ अनभिज्ञ रहेका ती उपाध्यक्ष नाजवाफ भए । असार १७ गते मध्यराति कांग्रेस–एमालेबीच सात बुँदे सहमति हुनु केही घण्टाअघिसम्म अध्यक्ष ओली र महासचिव शंकरबाहेक पदाधिकारी तहका नेतालाई समेत सो को सुइँको दिइएको थिएन । १८ गते बिहानसम्म नेताहरू अलमलमै देखिन्थे । यद्यपि, त्यसदिन दिउँसो बसेको सचिवालय बैठकले सहमति अनुमोदन ग¥यो । तर, वाम सहकार्य तोडेर कांग्रेससँग मिल्नुको कारण र औचित्यबारे बैठकमा प्रश्न भने उठेको थियो । 

गत बिहिबार बसेको सचिवालय बैठकमा पनि त्यस्तै प्रसंग चल्यो । सचिव योगेश भट्टराईले बिआरआईबारे जिज्ञासा राख्दै बाह्य शक्ति केन्द्रको चासोबारे अध्यक्ष तथा प्रधानमन्त्रीसँग सांकेतिक प्रश्न गरेका थिए ।

‘कांग्रेस बिआरआईप्रति सकारात्मक छैन भन्छन्, अब यसमा सरकारले के गर्छ ?’, उक्त प्रश्नमा ठोस जवाफ नदिएका ओलीले भन्नुभयो, ‘कांग्रेसलाई पनि मनाएर हाम्रो राष्ट्रिय हितअनुसार लिनुपर्छ । चिनियाँहरूले बढी हल्लाखल्ला गरेकाले कांग्रेस भड्किएको हो । खालि बिआरआई भनेर कराउँछन्, चुपचाप सम्झौतामा हस्ताक्षर गर्दा भैहाल्छ नि !’ ओलीको भनाइ थियो । 

यता, राष्ट्रिय राजनीति आफ्नो लाइनअनुसार अघि बढाउन सफल भएका महासचिव शंकर अब पार्टी नेतृत्व आफूतिर आउनेमा ढुक्क देखिन्छन् । स्रोतका अनुसार अध्यक्ष ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘भिडेको खण्डमा’ आगामी महाधिवेशनपछि आफू निर्विकल्प अध्यक्ष बन्न सकिने उनको आकलन छ ।

‘केपी र विद्या दुबै जना अध्यक्षमा लड्न खोज्दा कुरा मिल्दैन अनि म साझा उम्मेदवार हुन्छु !’, शंकरले निकटस्थहरूलाई यस्तो योजना सुनाएकोमा पूर्वराष्ट्रपति भण्डारीनिकट एक नेताबाट कुरा फुत्किएको बताइन्छ ।

त्यसो त, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसहित ठूलो संख्यामा संस्थापक नेता बाहिरिएपछि अध्यक्ष ओलीमा सर्वाधिकार रहँदै आएको एमालेको आन्तरिक शक्ति सन्तुलन क्रमशः खल्बलिँदै छ । भनिँदै छ, पूर्वराष्ट्रपति भण्डारी पार्टीमा सक्रिय हुँदा अर्को कार्यकाल अध्यक्ष बन्ने तयारीमा रहेका ओलीमाथि चुनौती थपिने खतरा छ । त्यसलाई रोक्न ओलीले पछिल्लो कार्य विभाजनमा एकलौटी गरेको पूर्वराष्ट्रपति भण्डारी निकटहरूको बुझाइ छ ।

पार्टीमा ५० प्रतिशत पकड रहेको भनिएकाले आगामी महाधिवेशनलाई हेरेर अध्यक्षले आफूलाई सजिलो हुनेगरी कार्य विभाजन गरेको एक नेताले बताए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू