माइतीघरको घुर्की लाउँछौ कि गाउँ पस्छौ माओवादी !

माइतीघरको घुर्की लाउँछौ कि गाउँ पस्छौ माओवादी !
सुन्नुहोस्

वामपन्थी गठबन्धनले के त्यस्तो निर्णय गरेको कारण कांग्रेस–एमाले मिल्ने अवस्था आयो ? प्रष्ट जवाफ आएको छैन । म हालको माओवादी पार्टीसँग १२ वर्षको उमेरदेखि आवद्ध हुँदै आएको कारण पक्षधरता लिनु स्वाभाविक हो । तर यो विन्दूमा आएर म के भन्न तयार छु भने यदि देश काँग्रेस र एमालेले मिलेर बनाउँछन् भने हाम्रो कुनै विमती हुने छैन । माओवादी पार्टी बिनाको समृद्ध नेपाल देख्न म आतुर छु । यसअगाडि कांग्रेस र एमाले कहिल्यै नमिलेको जस्तो प्रजातन्त्र नै खतरामा पर्ने भएर मिलेको तर्क भने आफैंमा बाझिएको छ । 

एमाले पार्टीका एक वरिष्ठ नेतालेृ विदेशको एकल कार्यक्रममा दुवै पार्टीले आइन्दा माओवादीसँग सहकार्य नगर्ने घोषणा गरेका छन् । साना पार्टीहरुले राजनीतिक अस्थिरता निम्त्याएकोले निषेधको संवैधानिक व्यवस्था गर्न लागिएको भन्ने सुनिन्छ । तर आफूलाई धेरै सांसदको समर्थन छ भनेर देखाउन सात सांसद भएको पार्टीलाई दुई मन्त्री पद जिम्मा लगाइएको छ । शुरुमा समर्थन गर्छौं भन्ने राप्रपाले भने जिल्याएको छ । एमालेमा स्वच्छ भावना भएको भए ठूलो पार्टीलाई अल्पमतको सरकार बनाउन दिएर आफू नै बलियो प्रतिपक्ष बनी ०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउन किन नचाहेको होला ? 

बेलायतको सिंगो इतिहासमा सन् १९४५ मा तीनवटा पार्टी मिलेर युद्धकालीन सरकार बनेको थियो भने सन् २०१० मा पहिलो र तेस्रो दलले सरकार चलाएका थिए । युरोपका जर्मनी, आयरल्याण्ड, फिनल्याण्ड, नेदरल्याण्ड अनि इजरायलमा पनि मुख्य दल मिलेर सरकार बन्ने गर्दछन् तर त्यहाँको राजनीतिक अवस्था अत्यन्त भिन्न प्रकारको छ । विगतमा पनि एमाले–कांग्रेस पटक–पटक मिलेकै हुन् । कांग्रेसलाई त झन् एकल बहुमत पनि प्राप्त भएको थियो । तर पनि समस्याहरु थपिँदै जान छाडेनन् ।

पहिलो पार्टीलाई दोस्रो पार्टीले किन सरकार बनाउने अवसर दिएन त ? अहिले पनि दोस्रो पार्टीको नेतृत्वमा सरकार बन्न कसरी सम्भव भयो त ? 

हारजित नटुंगिएको खेलमा बराबरी हुनु पर्ने हो । पहिलो निर्वाचनमा जनताले संविधान निर्माणका लागि माओवादीलाई बढी मत दिएका थिए तर नौ महिनामा नै सत्ता अरुका हातमा गयो । शक्ति सन्तुलनभन्दा केन्द्रीकरणमा बढी लागेकोले सहकार्य गरेको पार्टीसँग नै दूरी बढ्न गयो । शान्ति प्रक्रियालाई आजसम्म निश्कर्षमा पुर्‍याउन नसक्नुको मुख्य कारण गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन नचाहनु नै हो भन्ने सम्झेर बाडुल्की लाग्नुबाहेक अन्य विकल्प रहेन ।

जसोतसो एकथान संविधान त दियो तर संविधानसभाको माग गर्ने माओवादी पार्टी नै फुटेर चकनाचुर भयो । अन्य पार्टीहरुसँग एकता र गठबन्धनतिर लाग्दा जनयुद्ध शुरु गर्नुभन्दा चार वर्षअगाडि नै संसदमा पुर्‍याउन सकिएको ९ सांसदमा प्रत्यक्ष निर्वाचनबाट त्यति नै संख्या थपेर १८ मात्रमा चित्त बुझाउनु पर्‍यो । निर्वाचनमा गठबन्धन गरेर जितेका कारण शुरुमै काँग्रेससँग गठबन्धन हुनुपर्ने थियो । पार्टी एकताको आशमा एमालेसँग गठबन्धन कुनै हालतमा पनि गर्न हुने थिएन । त्यसो नगर्दा अहिले माओवादीले जुन महँगो शिक्षा पाएको छ, यसलाई अवसरको रुपमा लिन नसकी अझै यता र उता गर्न थाले राम राम मात्र भन्न सकिने छ ।

राजनीतिक उपलब्धीहरुलाई आर्थिक व्यवस्थापन गर्न नसक्नु अहिलेको मुख्य समस्या हो । आफू सत्ताको उपल्लो संरचनामा बसेर पनि यो समस्या समाधानतिर उन्मुख हुन नसक्नु विडम्बना नै हो । सिद्धान्त र व्यवहारबीच एकरुपता आंशिक रुपमा पनि देखाउन नसकेको कारण अधिकांश नागरिकमा नैराश्य छाएको सत्य हो । व्यवहारिक रुपमा पुरानो पार्टीका नेता–कार्यकर्तामा भन्दा असल प्रमाणित गर्न सकेको भए माओवादी पार्टीले यो हविगत व्यहोर्न भने पर्ने थिएन । 

अबको केही समय झन् तीव्र रुपमा शक्ति धु्रवीकरण हुने देखिन्छ । यसअगाडि दुई पटक हिस्सिएको वाम एकताको नारा अगाडि आउने छैन । समाजवादी मोर्चा पनि अरुले पेले मात्र सम्झिने अस्त्र भएकाले यो उपाय तुरुन्त काम लाग्ला जस्तो लाग्दैन । आफूलाई साधारण सदस्यबाट समेत हटाउने प्रचण्ड र माधव नेपाल बाहेकलाई ओलीले तान्न खोज्ने छन् । वन उपभोक्ता समिति देखि लामो समयसम्म प्रधानन्यायाधीशको पालो लगाउनसम्म खप्पिस एमालेले त्यत्रो गठबन्धनको सामना गर्दा पनि त्यति धेरै सीट र मत ल्याउनु सानोतिनो संकेत हैन । 

दुई ठूला दलहरु मिल्न नसक्ने मात्र हैन कि ठूलो दल भएपछि आफू आफू नै मिल्न नसक्ने नेपाली राजनीतिको विशेष लक्षण छ । अब पनि पहिलो वा दोस्रो दलले तेस्रो र चौथो दललाई फकाएर आफू सरकारमा टिकिरहन कोसिस गर्नु हुँदैन । विगतमा दोषजति सबै तेस्रो दललाई बोकाउनु वास्तवमा गलत थियो । त्यसो हैन भने पहिलो पार्टीलाई दोस्रो पार्टीले किन सरकार बनाउने अवसर दिएन त ? अहिले पनि दोस्रो पार्टीको नेतृत्वमा सरकार बन्न कसरी सम्भव भयो त ? राजनीतिमा जे पनि हुन सक्छ भन्ने भाष्यको सबैभन्दा भद्दा मजाक हो यो ।

अब माओवादी पार्टीले चारतिर फर्किएका नेताहरुलाई एक ढिक्का बनाउनु आवश्यक छ । पहिला मजबुत भएपछि छाडेर जानेहरुलाई सम्भव भएसम्म फर्काउने प्रयास गर्नुपर्दछ । क्रान्तिमा संलग्न भएको भन्ने तर जनतासँग सरोकार कत्ति पनि नराख्ने एक थरि नेता, कार्यकर्ता औकातभन्दा बढी भाग खोज्न पनि थाल्नेछन् ।

किसानको माटोसँग सम्बन्ध जस्तै हो नेता र जनताबीचको सम्बन्ध । जुन दिन गोडमेल गर्न छाड्यो बालीमा झार उम्रन थाल्छन् । शहरमुखी नेतृत्वले गर्दा जनतासँगको प्रत्यक्ष सम्पर्क तोडिनु अनि ५ वर्षमा एकपटक भोट माग्न मात्र गाउँ पुग्नुको परिणाम नै पार्टी खुम्चिनु हो । प्रचण्ड तीनपटक प्रधानमन्त्री त बन्नुभयो तर सतहत्तरै जिल्लाको सदरमुकामसम्म पुग्न सक्नुभयो कि भएन ? भन्ने प्रश्न गर्न मन लागेको छ । अबको मुख्य एजेन्डा देश भ्रमण हुनुपर्छ । आवश्यक परे फेरि माइतीघरमा पलेंटी कस्ने घुर्की सुनाउनुभन्दा जनताको आवाज सुन्न गाउँ जानुपर्छ । अहिलेसम्म  गर्न सकिएका राम्रा कामहरुको प्रचारसम्म गर्न भ्याइएको छैन ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू