बिजुलीको आठ अर्ब बक्यौता रकमले गर्न सकिने कामको बेलिबिस्तार

बिजुलीको आठ अर्ब बक्यौता रकमले गर्न सकिने कामको बेलिबिस्तार

नेपाल विद्युत प्राधिकरणले विभिन्न उद्योगीहरुबाट उठाउन बाँकी रहेको ८ अर्ब बक्यौता रकमबाट गर्न सकिने सम्भावित कामकाे फेहरिस्त एक सांसदले सुनाएका छन् । 

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले आज प्रतिनिधि सभा बैठकमा उठ्न बाँकी रहेको बक्यौता रकमले सिंगो हुम्लाको दीर्घकालिन विकास गर्न पर्याप्त हुने बताए । उद्योगीहरुलाई बक्यौता मिनाहा गर्नुभन्दा त्यो रकम उठाएर ८ हजार गरिब जनताको उपचार गर्न सकिने उनले हिसाब सुनाए । 

‘विद्युत प्राधिकरणले उठाउनुपर्ने बक्यौता रकम ८ अर्ब जुन छ, त्यसलाई १० लाखको दरले बाडे पनि ८ हजार २ सय ६० गरिब नागरिकको उपचार हुन्थ्यो’, सांसद लामाले भने, ‘अथवा ४० हजार गरिब नागरिकका बच्चाहरुलाई छात्रवृतिमा पढाई दिए पनि हुन्थ्यो ।’   

कांग्रेस-एमालेको गठबन्धन सरकारले सीमित उद्योगीको हितका लागि लाखौँ जनतालाई मर्कामा पारेको उनको दावी छ । ‘६ जना उद्योगीलाई बचाउन लाखौँ जनतालाई मर्कामा पार्ने यो काम भयो’, लामाले जिकिर गरे । 

सरकारले यस्तै उल्टो काम गरे नेताहरुको हविगत लुई सोह्रौँभन्दा पनि खराब हुन सक्ने उनले चेतावनीसमेत दिएका छन् । ‘सरकाले उल्टो उल्टो गर्छ भने बंगलादेश त के लुई सोहौँको भन्दा खराब स्थित आउनसक्छ, त्यसमा सरकार सचेत बनेर बेलैमा होस् पुर्यावस्', आक्रोशित हुँदै उनले  भने ।

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरी ढकालले पनि बक्यौता रकम उठाउन प्रधानमन्त्रीलाई निर्देशन दिन सभामुख देवराज घिमिरेसंग माग गरेका थिए ।

 

टिप्पणीहरू