‘रामदेव’लाई पाखा लगाउँदै हरदेव ह्वात्तै

‘रामदेव’लाई पाखा लगाउँदै हरदेव ह्वात्तै

नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश कमिटीले केही महिनाअघि दार्चुलाको भूगोलका नेताहरू रामदत्त जोशी र हरदेव जोशीलाई पार्टी केन्द्रीय निकायको जिम्मेवारी दिन सिफारिस गरेकोमा हरदेवलाई मात्रै केन्द्रीय सदस्य बनाइएको छ । साउन १७ गते केन्द्रीय सचिवालयको ३४आंैं बैठकले १७ जनालाई नयाँ केन्द्रीय सदस्य बनाउँदा हरदेव जोशीले छोटो समयमै अवसर पाएका हुन् । 

गिरिजा नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री हुनुअघि दिल्लीमा उपचार गराउँदा सम्पर्क भएका हरदेव त्यहाँदेखिनै केपी ओलीको नजर र प्राथमिकतामा पर्दै आएका छन् । जनआन्दोलन ०६२/६३ अघि ओलीले दिल्लीमा मिर्गाैला प्रत्यारोपण गर्दा हरदेवले ओलीको उपचारमा महिनौँसम्म सेवा गरेका थिए । 

गणतन्त्र आएसँगै महाकाली अञ्चल समन्वय कमिटी सदस्य बनाइएका हरदेवलाई केपी ओलीले दार्चुला जिल्लामा मदन भण्डारी फाउण्डेशन स्थापना गर्न लगाएर त्यसको अध्यक्ष बनाएका थिए । पार्टी एकतापछि बनेको नेकपा प्रदेश कमिटीमा पनि उनले स्थान पाए । ०७९ मंसिरको निर्वाचनमा जिल्लाभरका नेता–कार्यकर्ताको इच्छाविपरीत बालकोटले प्रदेशसभा–१ मा हरदेवलाई उम्मेदवार बनाएको थियो । 

दार्चुलाका नौमध्ये ६ तहमा एमाले उम्मेदवार विजयी भएको पृष्ठभूमिमा केन्द्रीय नेतृत्वले प्रदेशतिर हरदेवलाई उभ्याएको थियो । हरदेवलाई उठाएकै कारण जनता र कार्यकर्तामाझ लोकप्रिय छवि बनाएका नेता गणेशसिंह ठगुन्नाले प्रतिनिधिसभा निर्वाचनमा पराजय भोग्नुपरेको विश्लेषण गरिँदै आएको छ । उम्मेदवारी चयनमा पार्टी निर्णय सच्याउन महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसम्म प्रयास गरे पनि ठगुन्ना असफल भएका थिए । अध्यक्ष ओलीले ‘स्थानीय निर्वाचनमा काग्रेस–माओवादी गठबन्धनलाई हराउने एमालेहरूले हरदेवलाई कसरी हराउँछन् ? अरु एमाले जित्ने तर हरदेव मात्रै हार्ने ? यो कसरी हुनसक्छ ?’ भन्दै हरदेवको उम्मेदवारी कायम गराएका थिए । 

स्थानीय निर्वाचनअन्तर्गत दार्चुलाको प्रदेशसभा–१ मा पर्ने पाँच वटै स्थानीय तहमा एमाले उम्मेदवार विजयी भए । महाकाली नगरपालिका र व्यास, दुहुँ तथा मालिकार्जुन गाउँपालिकामा नेतृत्वसहित अधिकांश जनप्रतिनिधि एमालेकै छन् । लेकम गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्रले जिते पनि उपाध्यक्षसहित बहुमत जनप्रतिनिधि एमालेकै छन् । 

एमालेले देशभरको चुनावी प्रचार अभियान दार्चुलाबाट शुरु ग¥यो । कालापानीको भूगोल रहेको जिल्लाबाट चुनावी सभा शुभारम्भ गर्न केपी ओली २०७९ कात्तिक १८ गते हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम पुगेका थिए । भीडबाट उत्साहित उनले कांग्रेस उम्मेदवार दिलेन्द्रप्रसाद बडूको नाम लिएर चुनावअघि नै पराजय स्वीकार्न भनेका थिए । 

त्यही सभामा ओलीले प्रदेशसभा–२ का एमाले उम्मेदवार रामदत्त जोशीलाई ‘रामदेव जोशी’ भनेका थिए । दार्चुला एमालेको संस्थापक जिल्ला सचिव रहेका जोशीको नाम अध्यक्षले स्पष्ट नभनेपछि धेरैजसोले अचम्म माने । हरदेव जोशीको नाम स्पष्ट र पटक–पटक उच्चारण गरेका केपीले रामदत्त जोशीको नाम चारपटक सच्याउनु परेको थियो । शुरुमा ‘रामभक्त जोशी’ भनेका ओलीले त्यसपछि ‘रामदेव जोशी’ भने । मञ्चमा रहेका नेताहरूले नाम फरक परेको संकेत गरेपछि फेरि हतारिएर ‘रामसिंह जोशी’समेत भने । चौथोपटक मात्रै उच्चारणमा रामदत्त जोशी आएको थियो ।

प्रतिनिधिसभाका साथै दुइटै प्रदेशसभामा पराजय भएपछि नेतृत्वको चयन गलत सावित भएको धेरैले बताए । तर खुलेर यसबारे आलोचना गर्ने र प्रश्न उठाउने हिम्मत कसैले गरेनन् । गत वर्षको प्रदेश अधिवेशनमा हरदेव र रामदत्त दुबैले एउटै पदमा उम्मेदवारी दिए । दुबैले उपसचिव पदमा दाबेदारी पेश गरेपछि पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले कसैलाई पनि समर्थन गरेनन् । केही दिन लम्बिएको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दा यी दुबै नेता कमिटीमा अटाएनन् । 

६ महिनाअघि प्रदेश कमिटीमा दर्जनौं सदस्य मनोनीत गरिँदा पनि यी दुबै नेता समेटिएनन् । यी दुबैभन्दा धेरै जुनियर एक दर्जन नेतालाई भने प्रदेश कमिटीमा राखियो । हरदेवभन्दा डेढ दशकअघिदेखि राजनीतिमा सक्रिय रामदत्त पटक–पटक जिल्ला नेतृत्वमा बसिसकेका पात्र हुन् । एक दशकअघि नै अध्यक्षसमेत बनिसकेका उनी दुईपटक जिविस सदस्य थिए । चुनावीसभामा केपीले रामदत्तलाई रामदेव, रामभक्त र रामसिंह भन्दा अचम्म मानेका नेता–कार्यकर्ताहरू हरदेवको केन्द्रीय सदस्यमा नियुक्ति र रामदत्तको उपेक्षाले थप अचम्मित बनेका छन् । 

नेतृत्व चयन र जिम्मेवारी बाँडफाँडमा सही भूमिका निर्वाह गर्न नसकेको भन्दै पछिल्लो समय रामदत्त जोशी पोलिटब्युरो सदस्य ठगुन्नासँग पनि रुष्ट छन् । साउन १७ गतेको नयाँ जिम्मेवारी बाँडफाँडअन्तर्गत दार्चुला जिल्ला इञ्चार्ज बनेका ठगुन्नालाई उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाईसमेत दिएका छैनन् । सुदूरपश्चिमका ७ जिल्ला इञ्चार्जहरूको नामावलीसहित बधाई दिएका जोशीले दार्चुला इञ्चार्ज ठगुन्ना र बाजुरा इञ्चार्ज लालबहादुर थापालाई मात्रै बधाई नदिएका हुन् । 

हरदेवले केन्द्रीय सदस्यका साथै प्रदेशसभा–२ को भूगोल इञ्चार्ज पनि पाएका छन् । गत फागुन–चैत्रमा प्रदेशसभा–२ अन्तर्गतका स्थानीय तहमा पार्टी अधिवेशन गर्दा हरदेवसहित उनको टिमलाई एमालेको जिल्ला नेतृत्वले बहिष्कार गरेको थियो । पालिकास्तरका कार्यक्रममा सहभागी हुन खोज्दा जिल्ला पदाधिकारीहरूले अनावश्यक भन्दै रोक लगाएका थिए । 

जिल्लाको दोस्रो ठूलो बजार गोकुलेश्वरबाट हरदेव जोशीसहित पूर्व जिल्ला अध्यक्ष प्रेमसिंह धामी र पूर्व जिल्ला उपसचिव खडकसिंह बडाललाई जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तिसहितका पदाधिकारीले फिर्ता पठाएका थिए । तत्कालीन जिल्ला इञ्चार्ज रहेका केन्द्रीय सदस्य सहदेव बोगटीमार्फत हरदेव टिमको भ्रमणमा अंकुश लगाइएको थियो । 

छ महिनाअघि आफूलाई निषेध गरिएको भूगोलकै पार्टी इञ्चार्ज भएर हरदेव केन्द्रीय सदस्यको भूमिकामा उदाएका छन् । ‘नेता–कार्यकर्ता र जनताको भावनाविपरीतका अभ्यासले दिने नतिजा समय क्रममा सबैलाई क्षति पुर्‍याउन पर्याप्त हुने छ’ एक जिल्ला नेताले भने, ‘ हाइकमाण्डले लादेपछि अहिले हामी केही बोल्न र गर्नसक्ने अवस्थामा छैनौं, हेर्दै जाऊँ, यो अभ्यासले हामीलाई कहाँ पुर्‍याउँछ ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू