उपाध्यक्ष पौडेललाई छाड्दै एमालेजन

उपाध्यक्ष पौडेललाई छाड्दै एमालेजन

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री नियुक्तिसँगै नेकपा (एमाले) लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेलको समूह छाड्ने नेता, कार्यकर्ता बढेका छन् । २०५९ माघ १८–२२ बीच जनकपुरमा सम्पन्न सातौं महाधिवेशनदेखि नै अल्पमतमा परेका केपी ओलीलाई साथ दिँदै आएका प्रदेश संसदीय दलका नेता लीला गिरीलाई पन्छाएर तीन वर्षअघि पार्टी विभाजनसम्म माधव नेपालनिकट रहेका उपनेता चेतनारायण आचार्यलाई पद सुम्पिइएपछि नेता, कार्यकर्तामा आक्रोश र निराशा बढेको छ । 

कार्यकर्तासँग नखुल्ने र पक्षधरमाथि दोहोरो भूमिका खेल्ने गरेकोले उपाध्यक्ष पौडेलको पक्षमा रहिरहँदा भविष्य नदेख्ने भन्दै कार्यकर्ताले महासचिव पोखरेलसँग सम्बन्ध बढाउन थालेका छन् । पौडेलनिकट गिरी मुख्यमन्त्रीबाट वञ्चित हुनु र हालै गरिएको कार्य विभाजनमा कपिलवस्तु जिल्ला इञ्चार्जबाट खिमलाल भट्टराई रूपन्देहीको एउटा संसदीय निर्वाचन क्षेत्र इञ्चार्जमा घटुवा हुनुले पौडेल खेमामा चरम निराशा छाएको छ । त्यसो त पौडेलले गत जेठको रूपन्देही अधिवेशनमा निवर्तमान अध्यक्ष तेजेन्द्र केसीलाई पाखा लगाएर यज्ञ गैरेलाई प्रस्ताव गरेपछि नै असन्तुष्टि बढेको थियो ।

पछिल्लो समय पौडेल समूहबाट प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, संघीय सांसद वासुदेव घिमिरेलगायत प्रदेश तथा जिल्ला कमिटीका दर्जनौं नेता, कार्यकर्ता पोखरेल समूहतिर लागेका छन् । श्रेष्ठ खुलेरै लागेको र अन्य नेता–कार्यकर्ताले उपाध्यक्ष पौडेलले संरक्षण गर्न नसक्ने, हामीलाई मात्रै देखाएर आफ्नो फाइदा उठाउने गरेको भन्दै पोखरेल खेमासँग निकटता बढाइरहेका छन् । सांसद घिमिरेले चाहिँ महासचिव पोखरेलसँग बाक्लो भेटघाट गरिरहेका छन् ।

‘उहाँले कार्यकर्ताको संरक्षण गर्न सक्नुभएन, सबैलाई बली चढाउने मात्र काम भयो’, पौडेल निकट एक प्रदेश सदस्यले भने, ‘आफैँले गुट बनाउन उक्साउने तर संरक्षण गर्न नसक्ने भएपछि पछि लागेर धोखा मात्र हुन्छ भन्ने लागेको छ ।’ उनले खिमलाल भट्टराई, लीला गिरी, तेजेन्द्र केसीलगायतमाथि भएको अन्यायले पौडेल समूहबाट टाढिने कार्यकर्ता बढेको दाबी गरे ।

रूपन्देही मात्र होइन, कपिलवस्तु, नवलपरासी, दाङ, बाँकेलगायत जिल्लामा समेत पौडेल समूह कमजोर बन्दै गइरहेको छ । प्रदेश कमिटी अधिवेशनबाट अध्यक्षमा पराजित महासचिव पोखरेलका उम्मेदवार हरि रिजाल केन्द्रीय सदस्यमा मनोनीत हुँदा पौडेल पक्षधरहरू धमाधम डिमोसन हुन थालेका छन् । गत संसदीय निर्वाचनमा प्रतिस्पर्धी नहुँदासमेत रास्वपा उम्मेदवारसँग झिनो मतले जितेका विष्णु पौडेललाई महासचिव हावी हुँदा आगामी निर्वाचन फलामको च्युरा हुने देखिन्छ ।

एमालेभित्र गुटबन्दी बढ्ने र विभाजनमा गएर टुंगिने समस्या इतिहास नै बनेको छ । विभाजनपश्चात् पनि सधैँ गुट बनाउने गरिएको पाइन्छ । वि.सं. २०५४ सालमा एमाले विभाजित भएपछि पनि २०५९ को महाधिवेशनसम्म पुग्दा माधव नेपाल र ओली गुट चर्को थियो । त्यो गुटबन्दी माधव नेपाल, केपी ओली र झलनाथ खनालबीच चलिरह्यो । माओवादी केन्द्रसँग एकता भएर नेकपा बनेपछि झन् गुटबन्दी रोकिएन । ओलीको स्वेच्छाचारीले नेकपा विभाजित भएर तीन टुक्रा भयो । यद्यपि, एमालेभित्र गुटबन्दी रोकिएको छैन ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू