सशस्त्रमा यो के को हो संकेत ?

सशस्त्रमा यो के को हो संकेत ?

सर्कुलर र सहीछाप एकातिर, पहुँच र पावर हुनेले गर्ने काम भने अर्कैतिर भएपछि सशस्त्र प्रहरीमा असन्तुष्टि छाएको छ । हल्चोकले नेतासँग भेट्न नहुने कागजमा सहीछाप गराए पनि त्यसको सही कार्यान्वयन नभएपछि असन्तुष्टि चुलिएको हो । स्रोतका अनुसार झापादेखि कञ्चनपुरसम्मका सबै अधिकृतले खुसुखुसु राजनीतिक भेटघाट नगर्ने, गरे अनुशासन तोडेको आरोपमा कारबाही भोग्न तयार हुने कागजमा सहीछाप गरेका छन् । नेतासँग भेटघाट गरेको आरोपमा डिआइजी अञ्जनी पोखरेल र उद्धवबहादुर न्यौपानेलाई स्पष्टिकरण सोधिएको छ ।

पोखरेलले बढुवा प्रयोजनका लागि र न्यौपानेले सुदूरपश्चिम जान नपरोस् भन्दै नेता भेटेको आरोप लागेको छ । त्यसो त डिआइजीमा हालै बढुवा भएका दीपक अधिकारीको प्रकरणलाई विश्लेषण गर्दा यस्तो स्पष्टिकरण हजम नहुने कतिपयको दावी छ । एकल सूचना निकाली अधिकारीले रोल्पा र दाङ तिरका माओवादी नेतासँग सम्बन्ध बनाएरै काम फत्ते गरेको बताइन्छ । लगत्तै सुदूरपश्चिम खटिएर भारतबाट बझाइएका बेचन झालाई काठमाडौं पठाएपछि उनी लुम्बिनी आउनेमा ढुक्क थिए । 

बढुवाको लागि प्रचण्डसमक्ष पहुँच नपुर्‍याएको भए पनि केही समयपछि उनी डिआइजी हुन्थे नै । तर तत्कालीन प्रधानमन्त्रीको पावर भिडाएरै एकल बढुवा लिए । सो पद खाली भएको महिनौं बितेपछि मात्रै डिआइजी बढुवाको सूचना निस्केको हो । संगठनलाई तत्कालै चाहिएको भए त तत्कालै सूचना निकालिनुपथ्र्यो । स्रोतका अनुसार नेताहरूसँग पहुँच नहुने र नेतासँग सम्बन्ध नहुनेका लागि मात्रै यो आदेशले काम गरेको छ । 

उदाहरणका लागि एसएसपी भूपेन्द्र केसी घुमिफिरी सशस्त्र प्रहरीको कीर्तिपुरस्थित शिक्षालयमा गएका छन् । उनलाई काविल र उत्कृष्ट छ भनेर पठाएको नभई नेताहरूको पहुँच र चाकरीले काम गरेको प्रष्टै छ । एसपी भएदेखि दीपेन्द्र कुँवर प्रवन्ध महाशाखामा बसेको ५ वर्षभन्दा बढी समय भए पनि अहिलेसम्म कसैले हल्लाउन सकेको छैन । नेताको पावर नभइकन त्यसरी बस्नै सकिन्न । यसअघि वर्ष दिन नपुग्दै प्रवन्ध विभागबाट बाहिरिनेहरू पनि छन् । सशस्त्र प्रहरीको भण्डार खरानी हुँदा पनि कुँवर टिकिरहनुका पछि राजनीतिक संरक्षणले काम गरेको बताइन्छ ।

यसैगरी, मान्छे कम छन् भन्दै लेखा समूहका सबैजसो प्रमुख हुने गरेका छन् । सरुवा बढुवा हुँदा पनि तिनैका चल्छ । गणेश मल्ल, उमाकान्त जोशी, गोविन्द ठगुन्ना, महेन्द्र हमाल, सन्तोष चन्द र लोकबहादुर थापा एउटा अफिसबाट अर्कोमा जाँदा पनि प्रमुख नै हुन्छन् । राजनीतिक संरक्षण नभई यस्तो सम्भव कसरी होला र !

अहिले विकसित सञ्चार प्रविधि भएको बेला नेता भेट्नै जानुपर्छ भन्ने हुन्छ र, नगएरै पनि फोन वा मोबाइल वार्ताबाट नेताहरूको आशीर्वाद लिन सकिन्न ? तसर्थ नेताहरूसँग राजनीतिक भेटघाट नगर्ने हस्ताक्षरको कुनै तुक हुन्न । 

एउटै व्यक्ति बाघ भैरव गुल्मको प्रमुख, कीर्तिपुरस्थित शिक्षालयको दुई÷दुई पटक प्रमुख, सवारी शाखा र कर्मचारी प्रशासन शाखाको प्रमुख भएको छ । उही व्यक्ति तालिम समादेशक र गणपति भएको छ । ७० नम्बरबाट एक नम्बरमा आएको छ । ६७ नम्बरबाट ४ नम्बरमा छिरेको छ ।

राजनीतिक संरक्षण बिना यस्तो कसरी सम्भव होला ? त्यसो त एसएसपी दीपेन्द्र कुँवरले मेरो बारेमा जे–जे समाचार आए पनि केही फरक पर्दैन भन्दै हिँड्ने गरेका छन् । उनी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानुका बहिनी ज्वाइँ हुन् भने रमेश लेखक गृहमन्त्री छन् भन्दै दंग पर्न थालेका छन् । कुँवरलाई डिएसपीको७० नम्बरबाट ११ र ११ बाट १ नम्बरमा ल्याएको राजनीतिक संरक्षणले नै हो । एआइजीले नेता भेट्दा ठीक, डिएसपी र एसपीले भेट्दा बेठीक भन्ने भाष्य कतिञ्जेल टिक्ला र !

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू