जनयुद्ध लहड र मनोगत थिएन : प्रचण्ड

जनयुद्ध लहड र मनोगत थिएन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको जस्तो मौलिक ढंगको शान्ति प्रक्रिया विश्व राजनीतिको रंगमञ्चमा बिरलै देखिने टिप्पणी गर्नुभएको छ । आज प्रतिनिधि सभा बैठकमा सनक्रमकालीन न्यायसँग सम्बन्धित टिआरसी विधेयकमाथि धारणा राख्दै उहाँले नेपालको शान्ति प्रक्रियालाई अनुपम र अपवादका रुपमा परिभाषित गर्नुभयो । 

‘जनयुद्ध गरिरहेको पार्टी र शान्तिपूर्ण जनआन्दोलन गरिहेका सात राजनीतिक दलबीच सहमति भएर दुईवटै आन्दोलनलाई समायोजन गरेर अघि बढ्नु संसारमा विरल्लै देख्न पाइन्छ’ प्रचण्डले भन्नुभयो, ‘विश्वमा यस प्रकारका युद्धहरु कि पूर्णरुपले हारमा परिणत हुन्छन्, कि जीतमा, तर नेपालको शान्ति प्रक्रिया अपवाद भयो, अनुपम भयो । जसका कारण संविधान सभाबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्यो ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले टिआरसी विधेयकमा राजनीति सहमति जुटे पनि कर्यान्वयनको चुनौती भने बाँकी नै रहेको बताउनुभएको छ । ‘विधेयक अनुमोदन हुँदै गर्दा अझै पनि हजारौँ सहिदहरुले न्याय पाउन सकेको अवस्था छैन, बेपत्ता भएकाहरुको परिवार शान्तिले सुत्न सकेका छैनन्, घाइते र अपांगहरुको उपचार हुन सकिरहेको छैन, हामीले बजेटमार्फत् शान्ति कोष निर्माण सुनिश्चित त गयौँ तर त्यसको कार्यान्वयन सुरु भएको छैन । त्यसैले यस विधेयकको प्रभावकारी कार्यान्वयनमा चुनौतीहरु हाम्रो लागि अझै बाँकी छन्’, उहाँले भन्नुभयो । 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले ०६१ सालको अन्तिमतिरबाट शान्ति प्रक्रियाको थालनी गरेको स्मरण गर्दै उहाँले बृहत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता हुनुको नाताले यसलाई निश्कर्षमा पुर्याउने जिम्मा आफूमा रहेको उल्लेख गर्नुभयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सुम्पेको शान्ति प्रक्रियालाई पूर्णता दिने जिम्मेवारी पूरा हुने संकेत देखिएको भन्दै खुशी जनाउनुभयो ।

‘नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले अस्पतालको अन्तिम भेटमा शान्ति प्रक्रियाको बाँकी जिम्मेवारी मेरो काँधमा छ भन्नुभएको थियो, त्यो जिम्मेवारी आज राजनीतिक सहमति सँगै पूरा हुने देखेको छु’, अध्यक्ष प्रचण्डले भन्नुभयो । 

उहाँले १० वर्षे जनयुद्ध शुरु हुनुको कारणहरु पनि खुलाउनुभयो । ०५२ साल अघिसम्म सम्भ्रान्त र शहरी क्षेत्रका मुठ्ठीभर मान्छेले मात्र शान्तिपूर्ण जीवन बाँचेको बताउँदै उहाँले भन्नुभयो, ‘ग्रामीण र तल्लो वर्गका, त्यसमा पनि दलित, महिला, मुस्लिम, थारु, जनजाती, किसान, श्रमिकहरुले शान्तिको महशुस नै गर्न सकेका थिएनन्, र सामूहिक प्रतिरोधको रुपमा जनयुद्ध शुरु भयो । जनयुद्ध कुनै लहड र मनोगत थिएन । न त त्यसको मूल चरित्र ध्वंसात्मक नै थियो ।’

सेना समायोजन र हतियार व्यवस्थापनको नेतृत्व गरेकै कारण आफ्नो पार्टी फुटेको प्रचण्डको दुखेसो छ । ‘शान्ति प्रक्रियाका मुलभूत दुई पक्ष थिए, शान्ति सम्झौता र संविधान सभाबाट संविधान लेखन । त्यसमा सफल भयौं । तर अर्को पक्ष अलि जटिल र पेचिलो थियो, ठूलो मात्रामा सेना समायोजन र ठूलो मात्रामा अत्याधुनिक हतियारहरुको अव्यवस्थापन’, उहाँले भन्नुभयो, ‘भोलि बिहानसम्म पर्खने हो देशमा थप दुर्घटना हुनसक्छ भन्ने अवस्था थियो । प्रत्येक क्यान्टोनमेन्टमा खुन खराब हुनसक्थ्यो । आजै व्यवस्थापन गर्नुपर्यो भनेपछि राति ११ बजेपछि भयो । यदि त्यतिबेला नेतृत्वले जोखिम नलिएको शान्ति प्रक्रिया नै हुँदैनथ्यो । त्यसले बरु मैले नेतृत्व गरेको पार्टी विभाजित भयो । तर पनि देश बच्यो ।’

टिप्पणीहरू