माधव नेपालले दुई दलीय व्यवस्था नमान्ने

माधव नेपालले दुई दलीय व्यवस्था नमान्ने

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दुई दलीय व्यवस्था स्वीकार्य नहुने बताउनुभएको छ ।

संविधान संशोधनमार्फत देशमा दुई दलीय व्यवस्था लाद्न खोजिएको उल्लेख गर्दै उहाँले नेपाली जनताले त्यसलाई अस्विकार गर्ने चेतावनीसमेत दिनुभयो । आज प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो- दुई दलीय शासन ल्याउन खोजेको हो ? दुई दलीय  शासन नेपालमा आउन सक्दैन । हामी आउन दिँदैनौँ । बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ । बहुदलीय व्यवस्था यहाँ रहन्छ । बहुदलीय लोकतन्त्र, गणतन्त्रलाई, संघीय लोकतन्त्रलाई, हामी अझै समृद्ध बनाउन चाहन्छौँ ।'

करिब एकदलीय व्यवस्था रहेको बंगलादेशको घटनलाई दृष्टान्त दिँदै उहाँले नेपालमा पनि दुइदलीय तानाशाही प्रवृत्ति नटिक्ने दाबी गर्नुभयो । नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएकोअध्यक्ष नेपालको प्रश्टोक्ति छ ।

ख्याल गर्नुस्, दुई दलीय शासनको कुराले देशलाई नोक्सान पुर्याउँछ । कोही सहनेवाला छैनन् । अहिले एउटा घण्टी बजेको छ -यो रास्वपाको भनेको होइन है । बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको छ । कुनै किसिमको तानाशाही नेपालमा चल्न सक्दैन । टिक्न सक्दैन', उहाँले भन्नुभयो, 'प्रतिगमनको, अधिनायकवादको, दुई दलिय शासनको, दुई दलिय नाममा एक दलिय शासनमा जाने कुरा नेपाली जनतालाई स्वीकार्य छैन ।’

अध्यक्ष नेपालले नेपालको शान्ति प्रक्रियामा आफूले खेलेको भूमिकाको संसदमा लामो चर्चासमेत गर्नुभयो । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने नाममा प्रमुख तीन राजनीतिक दलहरुले मात्रै चोचोमोचो नमिलाउन उहाँको सुझाव छ ।

टिप्पणीहरू