रविका पूर्व महामन्त्रीलाई २४ घण्टे स्पष्टीकरण, रास्वपा सिध्याउन खोजेको गम्भीर आरोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका महामन्त्री डा.मुकुल ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले उनलाई साधारण सदस्यता खारेज गर्न नपर्ने कारणसहित जवाफ पेशका लागि पत्र लेखेका हुन् ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकको निर्णयबमोजिम स्पष्टीकरण सोधिएको बुर्लाकोटीले बताए । पार्टी प्रवक्ता र महामन्त्रीसमेत रहेका ढकाललाई रास्वपाको अनुशासन समितिले गत असार २६ गते साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो ।
कारबाहीविरुद्ध पुनरावेदन समितिमा पुनरावेदनको समय दिइएकोमा उनी त्यता नगएर पार्टी सिध्याउनेतर्फ लागेको रास्वपाको आरोप छ । रास्वपाका अनुसार उनले पार्टीका नेताको इज्जत, छवि र प्रतिष्ठामाथि दाग लगाउने खालका अभिव्यक्ति दिँदै आएका छन् । त्यस्तै, उनले पार्टीको विषयमा अनर्गल प्रचार गरिरहेको पत्रमा उल्लेख छ ।
भनिएको छ, ‘उल्लिखित पृष्ठभूमिमा पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्काशन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सूचित गरिन्छ ।’
साथै, उनले पार्टीलाई समाप्त पार्न अन्य दलका नेताहरुसँग भेटेको सूचना पनि प्राप्त भएको रास्वपाले जनाएको छ ।
टिप्पणीहरू